काठमाडौं । अपि पावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात १ बराबर शून्य दशमलव ४० अनुपातमा हकप्रद शेयर निष्कासन गर्न चैत ६ गते सेबोनमा निवेदन दिएको हो ।
विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले रू. १ सय अंकित दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । ७ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी रू. ४ अर्ब १३ करोड पुग्नेछ ।
यही पूँजीको आधारमा कम्पनीले हकप्रद शेयर निष्कासन गर्न लागेको हो । ४० प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी रू. ५ अर्ब ७८ करोड भन्दा बढी पुग्नेछ ।
कम्पनीले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।