नेपालीहरूको महान् चाड दशैं घरआँगनमा भित्रिइसकेको छ । दशैंका चाडपर्वमात्र होइन, यसका विविध आयाम छन् । बहुलवादलाई स्वीकारिको वर्तमान समाजमा दशैं पनि बहुलताकै एउटा चिनारी बन्दै गएको छ । यो धार्मिकभन्दा बढी सांस्कृतिक र सांस्कृतिक भन्दा बढी आर्थिक चाडपर्व बन्दै गएको छ जसको सम्बन्ध अर्थतन्त्रसँग झनै बलियो हुँदै गएको छ । उपभोक्तावादलाई नै मलजल गर्ने यो पर्वसँग उत्पादनलाई जोड्न नसक्दा स्वदेशी अर्थतन्त्रले राम्रो लाभ लिन भने सकेको छैन ।
आढम्बर र देखासिकी गरेर आम्दानीले धान्नेभन्दा बढी खर्च गर्न थालियो भने पारिवारिक बजेट समस्यामा पर्छ । यही ध्यानमा राखेर चाडपर्व मनाऔं ।
मिठो खाने, मसिनो लगाउने र परस्परमा आशीर्वाद ग्रहण गर्ने परम्परा बोकेको यस चाड पर्वले शहरमा बसोवास र कमाइ गर्ने ठूलो जनसंख्यालाई गाउँ पुर्याउने गरेको छ । यसले आयको वितरणमा पनि सहयोग गर्छ । साथै, गाउँघरमा राजनीतिक, सामाजिक र आर्थिक सचेतनता ल्याउन पनि सहयोग गर्छ । यद्यपि नेपालको ठूलो गाउँले समाज अहिले सूचनाप्रविधिको जालोमा बाँधिइसकेको छ । त्यसो हुँदा मुलुकको राजनीतिक र आर्थिक गतिविधिबारे गाउँका मानिसहरूमा पर्याप्त चेतना फैलिएको पनि पाइन्छ । गाउँ अर्थतन्त्रको महत्त्वपूर्ण अंश हो । कृषि प्रमुख क्षेत्र बनेको नेपाली अर्थतन्त्रमा गाउँको उत्पादनले विशेष अर्थ राख्छ । गाउँबाट शहरतिर लाग्ने प्रवृत्तिले जनसांख्यिकी परिवर्तन ल्याई गाउँ विस्तारै उत्पादनभन्दा पनि उपभोगतिर लाग्न थालेको समेत पाइन्छ । त्यसैले ग्रामीण भेगमा पनि उपभोग्य वस्तुहरूका ठूला बजार पाइन्छन् र व्यापारी तथा व्यवसायीहरूले यो बजारतर्फ आँखा लगाउन थालेको पनि पाइन्छ ।
कोभिड–१९ का कारण विगतको दशैं घरभित्र नै सीमित हुन पुगेको थियो भने यस वर्ष उत्साहका साथ यो पर्व मनाइँदै छ । यद्यपि आय गुमेका र आय घटेकाहरूका लागि भने विगतका जस्तो उल्लासपूर्ण छैन । अहिले बजारमा देखिएका भीडभाड र किनमेलले दशैंको रौनक देखाएको छ । त्यस्ते घर फर्किनेहरूको चाप र घुमघामका लागि गरिएको तयारीले पनि दशैंको रौनक बढेकै देखाउँछ ।
दशैं अर्थतन्त्रलाई चलायमान बनाउने समय हो । एक अनुमानअनुसार कुल अर्थतन्त्रको २० प्रतिशतभन्दा बढी आर्थिक गतिविधि दशैंमा हुन्छ । कतिपय व्यवसायीले त वार्षिक कारोबारको झन्डै ३० प्रतिशत कारोबार दशैंमा नै गर्ने गरेको पाइन्छ । त्यही भएर दशैं बजार विस्तारको ठूलो अवसर हो । यही अवसर छोपेर उत्पादक तथा वितरकहरूले ठूला ठूला स्किम ल्याउने गरेका छन् । गाडीदेखि दैनिक उपभोग्य वस्तुसम्ममा यस्तो स्किम ल्याएको पाइन्छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले एकै दिन १ करोडभन्दा बढीको खसीबोका विक्री गरेको छ । तिब्बतबाट च्यांग्रा नआए पनि नेपाली च्यांग्राले राम्रै बजार पाएको छ । टिभी, फ्रीजलगायत घरेलु उपकरण जोड्ने अवसर पनि दशैं नै बन्न थालेको छ ।
यसरी दशैंमा ठूलो रकम उपभोगका लागि खर्च हुने गरेको छ । यसरी किनबेच हुने वस्तु अत्यधिक विदेशी उत्पादन नै छन् । ठूला व्यापारिक घरानाहरू पनि उत्पादनमा भन्दा व्यापारमै रमाउने गरेको हुँदा दशैले अर्थतन्त्रलाई जति चलायमान गराउँछ त्यसको अनुपातमा आर्थिक वृद्धिदरमा भने कमै योगदान दिन्छ । दशैंकै कारण विदेशी विनिमय सञ्चितिमा दबाब परेको छ । त्यसैले उत्पादन वृद्धि गराउन सके दशैले आर्थिक वृद्धिमा निकै ठूलो टेवा दिन सक्छ ।
चाडपर्वको मूल सम्बन्ध भने आर्थिक नभएर सामाजिक र मनोरञ्जनसँग नै बढी गाँसिएको हुन्छ । नेपालभित्रका विविध समुदायले दशैंलाई आआफ्नै तरीकाले मनाउने गरेको पाइन्छ । जात, भूगोल, परम्परा आदिले यसमा विविधता पाइए पनि यसको सामाजिक महत्त्व भने उस्तै रहेको छ । त्यसैले औकात र आय हेरेर दशै मनाउन आवश्यक छ । आढम्बर र देखासिकी गरेर आम्दानीले धान्नेभन्दा बढी खर्च गर्न थालियो भने पारिवारिक बजेट समस्यामा पर्छ । यही ध्यानमा राखेर चाडपर्व मनाऔं । दशैं आनन्द र उल्लासको पर्व बनोस् सद्भाव र सामाजिक एकताको पर्व बनोस् । सबैमा शुभकामना ।