यदि आफूले गरेको लगानीले मासिक रूपमा ३० प्रतिशतसम्म प्रतिफल दिन्छ भनेर कसैले लालच देखाउँछ भने त्यसप्रति आकर्षित नहुनेहरू कमै होलान् । सन् २०१८ मा चीनका चेन बो भन्ने मानिसले प्लसटोकन नाम दिएर प्रच्छन्न मुद्रा (क्रिप्टो करेन्सी) सँग सम्बद्ध वालेट तथा विनिमय सेवा सञ्चालन गर्ने भ्रामक परियोजनाको नाममा यस्तो उच्च प्रतिफलसहितको लगानीका लागि आम–आह्वान गरेका थिए र घोषणाअनुरूप प्लसटोकनले शुरूमै लगानीकर्तालाई मासिक ३० प्रतिशतको हाराहारीमा अत्युच्च प्रतिफल पनि प्रदान गर्न थाल्यो ।
करीब १ वर्षअगाडि मात्र भएको अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणको प्रच्छन्न मुद्रासम्बन्धी पोन्जी स्किमले यस्ता मुद्रा कसरी ठगीको साधन बनाइँदै छन् भन्ने नयाँ तथ्यप्रति पनि विश्वव्यापी रूपमा ध्यानाकर्षण गराएको छ ।
यस्तो अत्युच्च प्रतिफल पाउने भएपछि लाखौं मानिसहरूले आफू मात्र होइन आफ्ना साथीभाइ तथा इष्टमित्रहरूलाई समेत बिटक्वाइन, लिटक्वाइनजस्ता प्रच्छन्न मुद्रामार्फत यो कार्यक्रममा लगानी गर्न प्रेरित गरिरहे र करीब १ वर्ष चलेको यस्तो भ्रामक लगानी अवसरबाट चीन मात्र होइन, दक्षिण कोरियाका मलेशिया, कम्बोडिया तथा भियतनामका समेत गरी तीसौं लाख लगानीकर्ताहरूले प्लसटोकनमा लगानी गरे । तर, वास्तवमा प्लसटोकनका सञ्चालकहरूले नयाँ लगानीकर्ताबाट संकलन गरेको रकम नै पुराना लगानीकर्ताहरूलाई ‘प्रतिफल’ भन्दै बाँड्दै आएको कुरा २०१९ को जुन महीनामा करीब ३ अर्ब डलर रकम संकलन गरेपछि यसका सञ्चालकहरू आफ्नो वेब साइटमा ‘माफ गर्नुस्, हामी भाग्यौं’ भन्दै फरार भएपछि मात्र खुल्न आएको थियो ।
त्यसको ठीक १ वर्षपछि गतवर्षको जुलाईमा चीनले यो घटनामा संलग्न भएको आरोपमा १०९ जनालाई पक्राउ गरी गत नोभेम्बेरमा तिनलाई जेल चलान गरिएको छ । चिनियाँ प्रहरीले प्लसटोकनका सञ्चालकहरूबाट वरामद गरेको बिटक्वाइन, इथर, लिटक्वाइन, ड्यास, टेथर जस्ता प्रच्छन्न मुद्राहरूको अहिलेको बजार मूल्य करीब सवा ४ अर्ब डलर बराबर भएको बताइन्छ ।
करीब १ वर्षअगाडि मात्र भएको अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणको प्रच्छन्न मुद्रासम्बन्धी यो पोन्जी स्किमले यस्ता मुद्राहरू कसरी ठगीको साधन बनाइँदै छन् भन्ने नयाँ तथ्य प्रति पनि विश्वव्यापी रूपमा ध्यानाकर्षण गराएको छ ।
ठगी कर्मलाई ‘पोन्जी स्किम’ भन्नुको कारण
सन् १८८२ मा इटलीमा जन्मिएका थिए चाल्र्स पोन्जी धनी परिवारका तर साथीहरूको कुसंगतले पढाइ पनि बिगारेका र पैसा पनि धेरै उडाएका कारण दिक्क भएका उनका परिवारले उनलाई अमेरिका गएर पैसा कमाउन प्रेरित गर्यो । फलस्वरूप २१ वर्षको उमेरमा साढे २ डलर साथ लिएर उनी अमेरिका गए । अहिले विश्वका विभिन्न मुलुकमा भए जस्तै त्यतिखेर इटालीमा पनि पैसा कमाउनका लागि अमेरिका जाने चलन थियो । उनी स्वयंले ‘न्यू योर्क टाइम्स’लाई दिएको अन्तर्वार्तामा आफूसँग त्यो समय पैसाको नाममा साढे दुई डलर मात्र भए पनि ‘दश लाख डलरको सपना’ थियो भनेका छन् । यही सपना साकार गर्ने क्रममा उनले शुरूमा वैध व्यवसायबाट नै उच्च नाफा कमाउन सफल भएका थिए ।
अमेरिका तथा क्यानडामा विभिन्न पेशामा अल्झिएर १५ वर्ष व्यतीत गरिसकेपछि उनले सन् १९१९ मा अमेरिकामा विभिन्न कम्पनीहरूको बजार प्रवर्द्धनमा मद्दत पुग्ने किसिमको अवधारणा विकास गर्ने उद्देश्यले एउटा आफ्नै सानो कम्पनी खोलेका थिए । एक दिन उनको कम्पनीलाई स्पेनको कुनै एउटा कम्पनीले आफ्नो विज्ञापन सामग्रीको लागि अनुरोधपत्र पठायो । त्यतिखेर (अहिले पनि कतैकतै) यसरी पत्र पठाउँदा जवाफी पत्र पठाउने प्रयोजनका लागि समेत विशेष कुपन पठाउने चलन थियो । यस्तो कुपनको मूल्य यूरोपको तुलनामा अमेरिकामा करीब ४०० प्रतिशत बढी हुने गर्दथ्यो । यसबाट पोन्जीको दिमागमा यस्तै फिर्ती हुलाक टिकटको कारोबारबाट उच्च नाफा कमाउने अवधारणा प्रस्फुरित हुन पुग्यो । यूरोपबाट सस्तो दरमा असंख्य मात्रामा यस्ता कुपन खरीद गरी महँगो अमेरिकी बजारमा बेच्नका लागि उनलाई धेरैभन्दा धेरै रकम आवश्यक परे पनि ४०० प्रतिशतभन्दा बढी नाफा हुने भएपछि नयाँ मानिसहरू सजिलै उनलाई यसरी रकम उपलब्ध गराउन थालिसकेका थिए ।
यसबाट हौसिएर उनले सन् १९२० मा ‘सेक्युरिटिज एक्सचेन्ज कम्पनी’ खोले र शुरूमा उक्त कम्पनीमा १८ जनाले एक एक सय डलरको हिसाबले जम्मा १८ सय डलर लगानी गरेका थिए । पोन्जीले ती १८ जना सबै लगानीकर्तालाई उनीहरूको लगानीको शत–प्रतिशत प्रतिफल तुरुन्तै अर्को महीना नै फिर्ता गरिदिए । यसरी १ महीनाभित्रै लगानीको शत प्रतिशत प्रतिफल प्राप्त भएको देखेपछि थप नयाँ लगानीकर्ता आकर्षित नहुने कुरै भएन ।
यसरी सहजै रकम धमाधम संकलन भएपछि उनले अझ बढी प्रतिफल प्रतिज्ञा गर्दै हुलाक टिकट किन्न चाहिनेभन्दा ठूलो परिमाणमा रकम संकलन गर्न थाले । तर, यसरी नयाँ नयाँ मानिसहरूबाट संकलित रकमको प्रतिफल त्यही उच्च दरमा दिन भने उनलाई हुलाक टिकटको कारोबारले मात्र धान्न नसक्ने भयो । अब उनलाई पुराना लगानीकर्तालाई प्रतिफल दिनका लागि नयाँ लगानीकर्ताको रकम आवश्यक पर्न थाल्यो । अनि बिस्तारै नव आगन्तुक लगानीकर्ताबाट संकलित रकमलाई ‘प्रतिफल’ को नाममा पुराना लगानीकर्तालाई बाँडेर यो ‘कुचक्र’लाई निरन्तरता दिनका लागि उनलाई नयाँनयाँ लगानीकर्ता नथपी हुँदै भएन । त्यसका लागि उनले नव लगानीकर्ताका लागि ४५ दिनमा ५० प्रतिशत प्रतिफल र ९० दिनमा शतप्रतिशत प्रतिफल दिने आकर्षण प्रस्तुत गरेका थिए । फलस्वरूप नयाँ लगानीकर्ताबाट उठेको रकम नै पुराना लगानीकर्तालाई उनीहरूको लगानीको ‘प्रतिफल’ भन्दै वितरण गर्न थाले । यसरी प्रत्येक नयाँ लगानीकर्ताको लगानी पुरानो लगानीकर्ताको ‘प्रतिफल’ का रूपमा जम्मा हुँदै गयो । यस्तो कुचक्रमार्फत पोन्जीले प्रतिदिन नै त्यतिबेला अढाइ लाख डलरसम्म कमाउन सफल भएको बताइन्छ ।
तर, करीब १ वर्षभित्रै जुलाई १९२० मा यस्तो आकर्षक, काल्पनिक र भ्रामक उच्च प्रतिफल दिने भनिएको योजना धराशयी भयो र यसबाट २ करोड डलरको ठगी भएको तथ्य बाहिर आयो ।
वास्तवमा पोन्जी स्किममा लगानीकर्तालाई पोन्जी स्किम सञ्चालन गर्नेले संकलित रकमको गोप्य तथा कुशल तरीकाले लगानी गरी उच्च प्रतिफल प्राप्त भएको भ्रम छर्ने गरेको पाइन्छ । यस्तो कुचक्रमा वास्तवमा पुराना लगानीकर्तालाई उनीहरूको लगानीको ‘प्रतिफल’ भन्दै बाँडिने रकम नयाँ लगानीकर्तालाई ‘शिकार’ बनाई उठाउने गरिन्छ र यो चक्र त्यति बेलासम्म चलिरहन्छ जतिबेला यो कुचक्रको पर्दाफास हुँदैन र अन्तिममा लगानी गर्नेहरू पूर्णरूपमा शिकार हुँदैनन् । कतिपय अवस्थामा यस्ता कुचक्र सञ्चालकहरू यो चरणमा बाँकी रहेको पैसा कुम्ल्याएर फरारसमेत हुने गर्छन् । यस्तै नव लगानीकर्ताहरूलाई ‘झूटो’ तरीकाले उच्च प्रतिफलको लोभमा फसाउँदै चाल्र्स पोन्जीले गरेजस्तै चक्रीय रूपमा ठगी गरिने हुनाले यस प्रकृतिको ठगी कर्मलाई पोन्जीको कुचक्र ( पोन्जी स्किम) नामकरण गरिएको बुझ्न कठिन छैन ।
लेखक बैंकर हुन् ।