बैतडी । बैतडीकै पुरानो विद्यालय दशरथ प्राथमिक विद्यालयमा नयाँ भवन निर्माण गरिएको छ । नयाँ भवन निर्माणपछि सयौं वर्ष पुराना उक्त विद्यालयको मुहार नै फेरिएको छ ।
विद्यालयको भौतिक संरचना सुधारमा यसअघि सम्बद्ध निकायको ध्यान पुगेको थिएन । देश संघीयतामा गइसकेपछि पनि विद्यालयको जीर्ण भौतिक संरचना फेरिएको थिएन । स्थानीय सरकारले पनि विद्यालयको कमजोर भौतिक संरचना, अन्य प्राविधिक सुधारमा चासो नदिएपछि प्रदेश सरकारलाई गुहार गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजुराम भुलले बताए ।
अध्यक्ष भुलले भने, ‘मैले यसअघि साविक जिल्ला विकास समितिदेखि सम्बन्धित सबैजसो निकायमा विद्यालयको भौतिक संरचना सुधारका लागि आग्रह गरेँ, कतैबाट सहयोग भएन । बल्ल गत आर्थिक वर्षमा सुदूरपश्चिम सरकारले सहयोग गरेको हो ।’ गत आर्थिक वर्षमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले दुईकोठे भवनका लागि २८ लाख बजेट विनियोजन गरेको थियो ।
जीर्ण विद्यालयको भवन पूरै भत्काएर नयाँ निर्माण गर्नुपर्ने थियो । बजेट दुईकोठे भवनका लागि आए पनि विद्यालय व्यवस्थापन समितिले सोही बजेटमा तीनकोठा निर्माण गरेर सञ्चालनमा ल्याएको हो ।
सदरमुकाम केन्द्रमा रहेको यो पुरानो विद्यालयमा अहिले दलित र जनजाति समुदायका बालबालिका मात्र अध्ययन गर्दछन्, जसमध्ये ९९ प्रतिशत दलित बालबालिका रहेको विद्यालयका प्रधानाध्यापक शरद्सिंह ठगुन्नाले बताए । उक्त विद्यालय १९७६ सालमा स्थापना गरिएको विद्यालयको तथ्यांकमा उल्लेख छ ।