पुस ३, धरान । केही दिनअघि अनलाइनबाटै ओपिडीको पूर्जी काट्न सक्ने सेवा शुरु गरेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बिहीवारदेखि ल्याबको रिपोर्ट पनि अनलाइनबाटै हेर्न सक्ने बनाएको छ ।
प्रतिष्ठानले मिदास टेक्नोलोजीसँगको सहकार्यमा सेवा शुरु गरेको हो । अब ल्याबको रिपोर्ट लिन पनि लाइनमा बस्न नपर्ने र अनलाइन वा वीपी प्रतिष्ठानको एप्समार्फत मोवाइलमै रिपोर्ट हेर्न सकिने प्रतिष्ठान डेपुटी अस्पताल निर्देशक डा. विकास साहले जानकारी दिए ।
उनले भने, ‘अब रिपोर्ट लिन लाइन लागेर घण्टौ उभिनु पदैन, जहीबाट पनि मोवाइल एप्सबाटै आफ्नो रिपोर्ट हेर्न सकिन्छ । नपढेका मान्छेले पनि पढेलेखेकालाई पासवर्ड दिएर रिपोर्ट हेर्न, प्रिन्ट गर्न सकिन्छ ।’
अस्पताल प्रशासनका अनुसार नयाँ सिस्टमले द्रुतगतिमा काम हुन्छ भने जनशक्ति पनि विगतमा जस्तो धेरै आवश्यक पर्दैन । डा. साहले भने, ‘अब मेशिनको डाटा सिधै सिस्टममा जाने, र भेरिफाइ गरेपछि अनलाइनमा जान्छ, त्यसैले जनशक्ति पनि थोरै भए हुन्छ, र द्रुतगतिमा काम हुन्छ, पहिला परीक्षण गर्ने मेशिनमा आएको तथ्यांकलाई कागजमा लेखेर कम्प्युटरमा टाइप गर्दा जुन मानवीय त्रुटी हुने जोखिम थियो, अब हुँदैन ।’
मिदासका बिजनेश मेनेजर राजिव कार्कीका अनुसार प्रतिष्ठानको सेन्ट्रल ल्याब र इर्मजेन्सी ल्याबको रिपोर्ट मोवाइल एप्सबाटै हेर्न सकिन्छ । यसको लागि वीपीकेआइएचएस एप डाउनलोड गर्नुपर्ने उनले बताए ।
एपको प्रोफाइलमा गएर युजर नेम र पासवर्ड लगइन गरेपछि रिपोर्ट हेर्नसकिने कार्कीको भनाइ छ । ‘कुनै पनि टेष्ट गर्नुपर्दा विल काट्नुपर्छ, त्यो विलमा नै युजरनेम र पासवर्ड लगइन गरेपछि रिपोर्ट हेर्न सकिन्छ,’उनले भने ।
विदेशमा भएका आफन्तले विरामीको रिपोर्ट मोवाइलमा हेरेर त्यहीको विशेषज्ञसँग सल्लाह लिन पनि सक्ने डेपुटी अस्पताल निर्देशक डा.साह बताउँछन् । उनका अनुसार यो सिस्टम ओपिडीको हरेक डाक्टरको अघि मनिटर राखेर सिधै रिपोर्ट हेर्न सक्ने बनाउने भावी योजना छ ।