अनलाइन र छापाका समाचार हेर्दा काठमाडौंको जग्गाको कारोबार घटेको हो कि बढेको हो स्पष्ट बुझ्न सकिएन । कसैले कारोबार बढेको भनेर समाचार दिएका छन् त कसैले घटेको । सबैले तथ्यांक लिने ठाउँ त त्यही मालपोत कार्यालय नै हो । अनि एकै ठाउँबाट लिएको तथ्यांकबाट बनेका समाचार फरकफरक किन ? बुझ्न सकिएन ।
खासमा काठमाडौंमा विगतको दाँजोमा घरजग्गाको किनबेच घटेकै देखिन्छ । मुलुकको अर्थतन्त्र समस्यामा छ । सरकारले राजस्व उठाउन नसकेपछि खर्च कटौती गरेको छ । बजारमा सामान बिकेन भन्ने निजीक्षेत्रको गुनासो छ । चामलदेखि गाडीसम्मको व्यापार सुस्ताएको देखिन्छ । यस्तोमा घरजग्गामा लगानी घट्नु स्वाभाविक देखिन्छ ।
त्यसो त नेपालमा पैसा कमाउने सबभन्दा सजिलो माध्यम नै घरजग्गा कारोबार बनेको छ । मोटर बाटोले छोएका शहरबजारका खेतबारी जम्मै प्लटिङका नाममा टुक्रिइसकेका छन् । जग्गा टुक्रिइसकेपछि सरकारले जग्गाको वर्गीकरण गर्ने नीति लिएको छ । यो भनेको मरेपछिको ओखतीजस्तै हो ।
बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाव छ । ब्याजदर निकै चर्को छ । धेरैको घरजग्गा जोड्ने माध्यम बनेको ऋण हो । बढी फाइदा हुने भएकाले बैंकबाट ऋण लिएर पनि जग्गामा लगानी गर्ने प्रशस्त छन् । तर, अहिले बैंकले लगानी गर्न रोकेका कारण घरजग्गाको कारोबारमा व्यापक कमी आएको छ । काठमाडौं उपत्यकामा मात्रै घरजग्गा किनबेच ६१ प्रतिशतले घटेको छ भनिन्छ ।
बजारमा अहिले तरलताको चरम अभाव भएका कारण लगानीयोग्य क्षेत्रमा लगानी हुन सकेको छैन भने बजारमा माग नहुँदा सञ्चालनमा रहेको उद्योगको उत्पादन पनि कटौती गर्नु परेको अवस्था छ । तरलता अभावको ठूलो असर घरजग्गा कारोबारमा परेको हो ।
देशभर रहेको घरजग्गा किनबेचमध्ये सबैको आकर्षणको केन्द्र काठमाडौं उपत्यका नै हो । तरलता अभावले यहाँ कारोबार कमी हुँदा राजस्व संकलनमा पनि ठूलो असर पुगेको देखिन्छ ।
यो वर्ष तरलता अभाव र कित्ताकाटको समस्याले गर्दा कारोबारमा निकै धक्का पुगेको हो । पछिल्ला दिनहरूमा कित्ताकाटको समस्या हट्दै गएको छ । तर, तरलता अभावको समस्या कायमै रहेकाले कारोबारमा सुधार आउन सकेको छैन । यहाँको जग्गाको भाउ निकै बढेकाले यसमा केही समय रोक लगाउन आवश्यक देखिएको छ ।
दिनेश कार्की
वनस्थली, काठमाडौं ।