यसकारण बोरामै ५० रुपैयाँले बढ्यो सिमेन्टको भाउ

वर्षात् कम हुँदै गएपछि निर्माणको काम सूचारु हुने अपेक्षासहित उद्योगीहरुले सिमेन्टको भाउ बढाएका छन् । उद्योगीहरुले प्रतिबोरा ५० रुपैयाँ मूल्य बढाएका हुन् । सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाका अनुसार सबै उद्योगले नभई केहीले मूल्य बढाएका हुन् । उनले उत्पादन लागत र ढुवानीको शुल्क बढेकाले मूल्य बढ्नु स्वभाविक भएको पनि बताएका छन् । ‘ढुवानी र लागत बढेको छ, मूल्य नबढाई बेच्न सक्ने स्थिती पनि छैन’ उनले भने, ‘अलिअलि बढेकै छ ।’अध्यक्ष थापाले हाल एक बोरा (५० किलो) ओपीसी सिमेन्ट उत्पादन गर्दा ६५० रुपैयाँ लागत लाग्ने बताए । पीपीसी सिमेन्टको फ्याक्ट्री मूल्य प्रतिबोरा ५५० रुपैयाँ छ । अहिले काठमाडौँको बजारमा ओपीसी सिमेन्ट प्रतिबोरा ७७० रुपैयाँदेखि ७८० रुपैयाँमा उपलब्ध रहेको दाबी उद्योगीहरुको छ ।तर, अन्तराष्ट्रिय बजारमा कोइलाको मूल्य अस्वभाविक रुपमा बढेकाले सिमेन्टको लागत नै बढ्न गएको सिमेन्ट उत्पादक संघका अध्यक्ष थापाको दाबी छ ।कोइलाको मूल्य प्रति मेट्रिक टन ३८ हजार रुपैयाँ पुगिसकेकाले सिमेन्टको लागत अझै बढ्ने उनको अनुमान छ ।‘कोइलाको भाउ प्रति मेट्रिक टन ३८ हजार रुपैयाँ पुगिसकेको छ, गत वर्ष यहीँ बेला १४ देखि १५ हजार रुपैयाँ थियो’ अध्यक्ष थापाले थपे, ‘त्यहीँ भएर पनि केही सिमेन्ट उद्योगहरुले भाउ बढाउनु परेको हो ।’नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पनि साना ठूला सबै उद्योगले सबै खालका सिमेन्टमा प्रतिबोरा ५० रुपैयाँ मूल्य बढाएको बताएका छन् । ‘सबै खालका सिमेन्टमा प्रतिबोरा ५० रुपैयाँ मूल्य बढाएका हुन्’ उनले भने, ‘अहिले सिमेन्टको खपत खासै छैन, त्यहीँ भएर निर्माण उद्योगमा प्रभाव परिसकेको चाहिँ छैन ।’अध्यक्ष सिंहले फलामे डण्डीको भाउ पनि प्रति किलो १ सय रुपैयाँभन्दा कम नै रहेको बताएका छन् ।‘डण्डीको भाउ पनि अहिले खासै महँगो छैन, सय रुपैयाँ भन्दा तल नै छ’ सिंह भन्छन्, ‘कुनै कुनै चाहिँ ब्राण्ड महँगो भएकाले सय रुपैयाँ पनि छ ।’

सम्बन्धित सामग्री

कसरी सम्भव भयो नेपाली सिमेन्टको भारतमा निर्यात ?

२०७९ साल असार २४ गते शुक्रबार नेपाली औद्योगिक क्षेत्रका लागि ऐतिहासिक दिन बन्यो । किनकी, उक्त दिन नेपाली सिमेन्ट बोकेका ट्रक भारततर्फ प्रस्थान गरेका थिए । रूपन्देहीको बेलहिया (सुनौली) नाका हुँदै नेपाली सिमेन्ट बोकेका ट्रक भारतका लागि छुटेको दिन भएकाले उक्त दिन औद्योगिक क्षेत्रका लागि ऐतिहासिक दिन बन्यो ।सुनवल नगरपालिकाकी मेयर विमला अर्यालले सिमेन्ट बोकेर भारत जान लागेका ट्रकलाई बिदाइ गरेकी थिईन् । पश्चिम नवलपरासीको पाल्पा सिमेन्ट उद्योगले भारतीय बजामा सिमेन्टको औपचारिक निर्यात थाले पनि औद्योगिक तथा आर्थिक क्षेत्रमा खुशीयाली छाएको छ । कसरी सम्भव भयो ?पाल्पा सिमेन्टका जन सम्पर्क प्रमुख जिवन निरौलाका अनुसार करिब ५ वर्ष अगाडीदेखि नै नेपाली सिमेन्ट उद्योगहरुले बजार खोजिरहेका थिए । आयात गर्नु नपर्ने गरी आत्मनिर्भर भईसकेपछि पनि क्रमशः ठूलो परिमाणमा उत्पादन गर्ने गरी उद्योगहरु आईरहे । यसले नेपालको मागभन्दा झण्डै दोब्बरले उत्पादन क्षमता बढ्यो ।भूकम्प पछिको पुनःनिर्माणको काम क्रमशः सकिन्न थाल्यो । ठूला आयोजनाको काम अत्यन्त सुस्त गतीमा हुने भएकाले त्यस्ता आयोजनामा सिमेन्टको माग अपेक्षाकृत हुन सकेन । त्यसपछि उद्योगीहरुले नजिकै छिमेकी देशका शहरहरुलाई सम्भाव्य बजारको रुपमा हेर्न थाले ।यसअघिः१० वर्षपछि नेपाली सिमेन्ट कहाँ बेच्ने ?भारतको उत्तरप्रदेश र बिहारका साना तथा ठूला बजारहरुमा सिमेन्ट निर्यात गर्न सकिनेमा उद्योगीहरु विश्वस्त भए । भारतको ती राज्यका विभिन्न जिल्लाहरुका व्यवसायीहरु पनि नेपाली सिमेन्ट खरिद गर्न तयार थिए ।तर, नेपाली सिमेन्ट तुलनात्मक रुपमा महँगो भएकाले मूल्यमा प्रतिस्पर्धा गर्न नसकिने देखिएकाले उद्योगीहरुले विगत केही वर्षदेखि निर्यातमा अनुदान माग गर्न थाले । यसपटक आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत निर्यातमा ८ प्रतिशत अनुदान दिने कुरा घोषणा भयो । अनुदान पाउने भएपछि तयारी गरेर बसेका उद्योगीहरुले निर्यात सुरु गरे ।यसको सुरुवात स्वरुप पाल्पा सिमेन्ट उद्योगले ‘तानसेन’ ब्राण्डका ३ हजार बोरा सिमेन्ट भारत पठाएर निर्यातको औपचारिक ढोका खोल्यो ।मूल्य भन्दा पनि ‘क्वालिटी’ प्रधानभारतीय सिमेन्टभन्दा नेपाली सिमेन्टको भाउ महँगो छ । किनकी, नेपाली सिमेन्टको उत्पादन लागत नै बढी छ । मूल्य बढी हुँदा सरकारले दिएको निर्यात अनुदानले भारतीय बजारमा भारतीय सिमेन्टसँग प्रतिस्पर्धा गर्न सहयोग पुगेकैले निर्यात सम्भव भएको पाल्पा सिमेन्टका जन सम्पर्क प्रमुख जिवन निरौला बताउँछन् । यसअघिःनेपाली सिमेन्ट बोकेर भारत हिडे ट्रक‘प्रतिस्पर्धा मूल्यमा भन्दा पनि क्वालिटीमा हुनुपर्छ, हाम्रो सिमेन्टको क्वालिटी त्यहाँको भन्दा राम्रो छ । हामी हाम्रै चुनढुंगा खानीबाट क्लिङ्कर बनाएर सिमेन्ट बनाउँछौँ’ निरौलाले भने, ‘महँगो हुँदाहुँदै पनि क्वालिटी राम्रो भएकाले हाम्रो सिमेन्टको माग बढ्छ भन्नेमा हामी विश्वस्त छौँ । अर्को कुरा महँगो हुनुमा ढुवानीको भाडाले पनि काम गरेको हुन्छ । त्यसका लागि सुरुमा हामीले उत्तर प्रदेश र विहारका नजिकका जिल्लाहरुमा पठाउँछौँ ।’ आईस ब्रेक भयो, नीतिगत स्थिरता आवश्यकनेपाल खाद्यान्नदेखि सबै खालका बस्तुहरुमा भारतसँग परनिर्भर छ । त्यसैले पनि नेपाली बिजुली भारतमा निर्यात हुँदा जस्तै सिमेन्टको निर्यात सुरु हुँदा पनि आम मानिसहरु हर्षित भएका छन् ।उद्योग स्वयंले पनि यो कामलाई ‘टर्निङ प्वाइन्ट’ र ‘आईस ब्रेक’ भनेको छ । यसले खर्बौको ब्यापार घाटालाई कम गर्न योगदान दिने अपेक्षा सरकारले पनि गरेको छ । यतिसम्म कि, उद्योगहरुलाई पूर्ण क्षमतामा चलाउन पनि हौसाएको छ । निरौलाले अहिलेको उत्पादनमा कम्तीमा २० प्रतिशत उत्पादन यसैवर्ष बढ्ने बताएका छन् । भारतमा नेपाली सिमेन्टको औपचारिक निर्यात सुरु भएपनि नीतिगत स्थितरता हुन्छ कि हुँदैन भन्नेमा भने उद्योगीहरु त्यति आशावादी छैनन् । उनीहरुले घुमाउरो गरी कम्तीमा १ दशक (१० वर्ष) निर्यातमा अनुदान चाहिने बताउँदै आएका छन् । यो पनिःअर्थमन्त्रीलाई उद्योगीले भने, ‘भारतलाई १ करोड टन सिमेन्ट बेच्छौँ, लागत घटाईदिनुस्’‘अहिले त टिकाउन चाहिएको हो, त्यहाँ प्रतिस्पर्धा गर्न, त्यहाँको बजारमा आफ्नो ब्राण्ड स्थापित गराउन अनुदान चाहिएको हो’ निरौला थप्छन्, ‘भोलीका दिनमा क्यास अनुदान नचाहिन पनि सक्छ । यतै लागत कम हुने नीति अख्तियारी गर्न सकिन्छ । अर्को कुरा, यो आईस ब्रेक हो भनेर चुप चाहिँ बस्नु हुँदैन । यसलाई स्वागत गर्दै निर्यात बढाउने गरी तयारीमा लाग्नुपर्छ । त्यसका लागि नीतिगत स्थितरता चाहिन्छ ।’‘स्वदेशमै पनि खपत बढाउनुपर्छ’भारतमा निर्यात सुरु भएपनि स्थायी बजार नेपाल नै हो । यसमा उद्योगीहरु पनि सहमत छन् । निर्यातसँगै नेपाली बजारमा पनि सिमेन्टको खपत बढाउनुपर्ने उनीहरुको माग छ । ठूला आयोजनाहरुको निर्माण, निर्माणाधीन आयोजनाहरुमा कामको तीव्रता, सडकमा कालोपत्रेको सट्टा सिमेन्टको कंक्रिटको ढलान लगायतका काम गरेर खपत बढाउन सकिने उद्योगीहरु बताउँछन् । भारत अत्याधिक तीव्र गतीमा भौतिक पूर्वाधार निर्माणको काम गरिरहेको मूलुक हो । यसकारण अबको करिब २० वर्षका लागि भारतीय बजार नेपाली सिमेन्टको बजारका रुपमा सुरक्षित भने उद्योगीहरुले देखेका छन् । तर, भारतमा भएका ठूला क्षमताका उद्योगहरुसँग पनि प्रतिस्पर्धा गर्न भने सक्नुपर्ने आवश्यकता छ ।उद्योगीहरुले निर्यातको ‘पोलिसी’ बने वार्षिक १ खर्बको सिमेन्ट निर्यात गर्ने दाबी गर्दै आएका थिए । तर, पहिलो वर्ष १० देखि २० अर्ब रुपैयाँको निर्यात हुने र यो नै ठूलो उपलब्धि हुने उद्योगीहरुको भनाई छ । आगामी वर्षबाट यो क्रमशः बढ्ने विश्वास उनीहरुको छ ।

छड र सिमेन्टको भाउ बढ्यो

पूर्वाधार निर्माणको सिजन शुरू हुनै लाग्दा फलामजन्य निर्माण सामग्री र सिमेन्टको भाउ बढेको छ । दशैं, तिहार तथा छठजस्ता पर्वपछि नेपालमा पूर्वाधार निर्माणको सिजन भनिँदै आएको छ । यही सिजन शुरू हुनै लाग्दा र अन्तरराष्ट्रिय बजारमा कोइलाको मूल्यमा वृद्धि हुँदा निर्माण सामग्री र सिमेन्टको मूल्यमा वृद्धि देखिएको हो । अहिले फलामे छडको मूल्य रू. ६ देखि रू. १० सम्म वृद्धि भएको छ भने सिमेन्टको मूल्यमा २० प्रतिशतले वृद्धि हुने देखिएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पूर्वाधार निर्माणको सिजन शुरू हुने बेलामा नै फलामज...

छड र सिमेन्टको भाउ बढ्यो

काठमाडौं । पूर्वाधार निर्माणको सिजन शुरू हुनै लाग्दा फलामजन्य निर्माण सामग्री र सिमेन्टको भाउ बढेको छ । दशैं, तिहार तथा छठजस्ता पर्वपछि नेपालमा पूर्वाधार निर्माणको सिजन भनिँदै आएको छ । यही सिजन शुरू हुनै लाग्दा र अन्तरराष्ट्रिय बजारमा कोइलाको मूल्यमा वृद्धि हुँदा निर्माण सामग्री र सिमेन्टको मूल्यमा वृद्धि देखिएको हो । अहिले फलामे छडको मूल्य रू. ६ देखि रू. १० सम्म वृद्धि भएको छ भने सिमेन्टको मूल्यमा २० प्रतिशतले वृद्धि हुने देखिएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पूर्वाधार निर्माणको सिजन शुरू हुने बेलामा नै फलामजन्य निर्माण सामग्रीको मूल्य वृद्धिले मारमा पर्ने बताए । सरकारले ल्याएको स्पन्ज आइरन र बिलेट आयातका सम्बन्धमा ल्याएको नीतिले फलामजन्य सामग्रीको मूल्य घट्ने आकलन गरिए पनि यसको मूल्य बढेको उनले बताए । ‘फलामे छडदेखि अन्य निर्माण सामग्रीको मूल्यमा प्रतिकेजी रू.४ देखि रू. ५ सम्म कमी आउने अपेक्षा थियो,’ सिंहले भने, ‘प्रतिस्थापन विधेयक आउनुअघि स्पन्ज आइरनबाट बनेको डन्डी खरीद गर्दा प्रतिकेजी रू. ७९ र प्राइम बिलेटबाट बनेको डन्डी प्रतिकेजी रू. ८३ मूल्य तिर्नुपर्थ्यो ।’ रोलिङ मिल्सहरूमा प्रतिस्पर्धा हुन नसकेको र उत्पादन नै रोक्न थाल्दा मूल्यमा कार्टेलिङ भएको उनको भनाइ छ । उनका अनुसार अहिले फलामे छड किन्दा प्रतिकेजी रू. १०२ देखि रू. १०६ सम्म तिर्नु परेको छ । उनले सिमेन्टको मूल्य पनि बढ्दा निर्माणको सिजन शुरू हुँदादेखि नै पूर्वाधार निर्माण महँगो पर्न जाने बताउँछन् । सिमेन्ट उत्पादनमा तीव्र प्रतिस्पर्धा हुँदा ठूला सिमेन्ट उद्योगले मूल्य घटाउन भने चासो दिएका छैनन् । यता नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाले सिमेन्टको मूल्यमा पनि वृद्धि भएको बताए । सिमेन्टको मूल्य साविक मूल्यमा २० प्रतिशतले बढेको बताए । विश्वबजारमा कोइलाको मूल्यमा उच्च वृद्धि भएको र भारतमा पनि सिमेन्टको मूल्यमा वृद्धि देखिएकाले नेपालमा पनि मूल्य बढेको उनको भनाइ छ । अहिले छिटफुट रूपमा केही उद्योगहरूले मूल्य बढाए पनि अबको १ महीनाभित्रमा सबै सिमेन्ट उद्योगले मूल्य बढाउन सक्ने थापाको भनाइ छ । ‘विश्व बजारमा देखिएको कोइलाको मूल्य वृद्धि र कोइला नै नपाउने अवस्था आउने हो कि भन्ने आशंका छ,’ उनले भने, ‘यसले मूल्य वृद्धिभन्दा नि उद्योग नै बन्द गर्नुपर्ने हो कि भन्ने अवस्था आउने हो कि भन्ने डर छ ।’ यसैगरी सौरभ ग्रूपका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले कोइलाको मूल्य बढ्दा अन्तरराष्ट्रिय बजारमै मूल्य बढेको बताए । नेपालमै बिलेट बनाई डन्डी बनाउने उद्योगले प्रतिकेजी रू. ६ का दरले मूल्य बढाएको र बिलेट आयात गरी उत्पादन गर्ने उद्योगले प्रतिकेजी रू. १० का दरले मूल्य बढाएको उनको भनाइ छ । अहिले कोइला खरीद गर्दा प्रतिकेजी रू. ३० सम्म तिर्नुपर्छ । यसअघि प्रतिकेजी रू. १५ परेको भन्दै उनले पछिल्लो समय फलामे छडको मूल्य बढेको बताए । यसअघि रू. ८४ मूल्यमा डन्डी विक्री गरेको र त्यसमा अहिले रू. ६ देखि रू. १० सम्म मूल्य बढेको उनको भनाइ छ ।

बढ्यो सिमेन्टको भाउ, एक तले घर बनाउँदा कति खर्च लाग्छ?

सामान्यतया सिमेन्ट बनेको मितिबाट तीन महिनाभित्र प्रयोग गर्नुपर्छ। सिमेन्टको मिति हेर्न अरू उत्पादनभन्दा अलि फरक छ। यसमा हप्ताअनुसार मिति लेखिएको हुन्छ।

बढ्यो डण्डी र सिमेन्टको मूल्य

पछिल्लो एक महिनामा निर्माणका लागि अति आवश्यक डण्डी र सिमेन्टको भाउ वृद्धि भएको छ । भारत र चीनलगायतबाट आयात हुने कच्चा पदार्थ महँगिएका कारण देखाउँदै व्यापारीले यी वस्तुमध्ये डण्डीमा प्रतिकेजी सातदेखि आठ रुपियाँसम्म र सिमेन्टमा प्रतिबोरा २० देखि ५० रुपियाँसम्म मूल्य वृद्धि गरेको पाइएको छ । प्रायः सबै ब्रान्डका डण्डी र सिमेन्टले यो मूल्य बढाएका छन् ।