२०७९ साल असार २४ गते शुक्रबार नेपाली औद्योगिक क्षेत्रका लागि ऐतिहासिक दिन बन्यो । किनकी, उक्त दिन नेपाली सिमेन्ट बोकेका ट्रक भारततर्फ प्रस्थान गरेका थिए । रूपन्देहीको बेलहिया (सुनौली) नाका हुँदै नेपाली सिमेन्ट बोकेका ट्रक भारतका लागि छुटेको दिन भएकाले उक्त दिन औद्योगिक क्षेत्रका लागि ऐतिहासिक दिन बन्यो ।सुनवल नगरपालिकाकी मेयर विमला अर्यालले सिमेन्ट बोकेर भारत जान लागेका ट्रकलाई बिदाइ गरेकी थिईन् । पश्चिम नवलपरासीको पाल्पा सिमेन्ट उद्योगले भारतीय बजामा सिमेन्टको औपचारिक निर्यात थाले पनि औद्योगिक तथा आर्थिक क्षेत्रमा खुशीयाली छाएको छ । कसरी सम्भव भयो ?पाल्पा सिमेन्टका जन सम्पर्क प्रमुख जिवन निरौलाका अनुसार करिब ५ वर्ष अगाडीदेखि नै नेपाली सिमेन्ट उद्योगहरुले बजार खोजिरहेका थिए । आयात गर्नु नपर्ने गरी आत्मनिर्भर भईसकेपछि पनि क्रमशः ठूलो परिमाणमा उत्पादन गर्ने गरी उद्योगहरु आईरहे । यसले नेपालको मागभन्दा झण्डै दोब्बरले उत्पादन क्षमता बढ्यो ।भूकम्प पछिको पुनःनिर्माणको काम क्रमशः सकिन्न थाल्यो । ठूला आयोजनाको काम अत्यन्त सुस्त गतीमा हुने भएकाले त्यस्ता आयोजनामा सिमेन्टको माग अपेक्षाकृत हुन सकेन । त्यसपछि उद्योगीहरुले नजिकै छिमेकी देशका शहरहरुलाई सम्भाव्य बजारको रुपमा हेर्न थाले ।यसअघिः१० वर्षपछि नेपाली सिमेन्ट कहाँ बेच्ने ?भारतको उत्तरप्रदेश र बिहारका साना तथा ठूला बजारहरुमा सिमेन्ट निर्यात गर्न सकिनेमा उद्योगीहरु विश्वस्त भए । भारतको ती राज्यका विभिन्न जिल्लाहरुका व्यवसायीहरु पनि नेपाली सिमेन्ट खरिद गर्न तयार थिए ।तर, नेपाली सिमेन्ट तुलनात्मक रुपमा महँगो भएकाले मूल्यमा प्रतिस्पर्धा गर्न नसकिने देखिएकाले उद्योगीहरुले विगत केही वर्षदेखि निर्यातमा अनुदान माग गर्न थाले । यसपटक आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत निर्यातमा ८ प्रतिशत अनुदान दिने कुरा घोषणा भयो । अनुदान पाउने भएपछि तयारी गरेर बसेका उद्योगीहरुले निर्यात सुरु गरे ।यसको सुरुवात स्वरुप पाल्पा सिमेन्ट उद्योगले ‘तानसेन’ ब्राण्डका ३ हजार बोरा सिमेन्ट भारत पठाएर निर्यातको औपचारिक ढोका खोल्यो ।मूल्य भन्दा पनि ‘क्वालिटी’ प्रधानभारतीय सिमेन्टभन्दा नेपाली सिमेन्टको भाउ महँगो छ । किनकी, नेपाली सिमेन्टको उत्पादन लागत नै बढी छ । मूल्य बढी हुँदा सरकारले दिएको निर्यात अनुदानले भारतीय बजारमा भारतीय सिमेन्टसँग प्रतिस्पर्धा गर्न सहयोग पुगेकैले निर्यात सम्भव भएको पाल्पा सिमेन्टका जन सम्पर्क प्रमुख जिवन निरौला बताउँछन् । यसअघिःनेपाली सिमेन्ट बोकेर भारत हिडे ट्रक‘प्रतिस्पर्धा मूल्यमा भन्दा पनि क्वालिटीमा हुनुपर्छ, हाम्रो सिमेन्टको क्वालिटी त्यहाँको भन्दा राम्रो छ । हामी हाम्रै चुनढुंगा खानीबाट क्लिङ्कर बनाएर सिमेन्ट बनाउँछौँ’ निरौलाले भने, ‘महँगो हुँदाहुँदै पनि क्वालिटी राम्रो भएकाले हाम्रो सिमेन्टको माग बढ्छ भन्नेमा हामी विश्वस्त छौँ । अर्को कुरा महँगो हुनुमा ढुवानीको भाडाले पनि काम गरेको हुन्छ । त्यसका लागि सुरुमा हामीले उत्तर प्रदेश र विहारका नजिकका जिल्लाहरुमा पठाउँछौँ ।’ आईस ब्रेक भयो, नीतिगत स्थिरता आवश्यकनेपाल खाद्यान्नदेखि सबै खालका बस्तुहरुमा भारतसँग परनिर्भर छ । त्यसैले पनि नेपाली बिजुली भारतमा निर्यात हुँदा जस्तै सिमेन्टको निर्यात सुरु हुँदा पनि आम मानिसहरु हर्षित भएका छन् ।उद्योग स्वयंले पनि यो कामलाई ‘टर्निङ प्वाइन्ट’ र ‘आईस ब्रेक’ भनेको छ । यसले खर्बौको ब्यापार घाटालाई कम गर्न योगदान दिने अपेक्षा सरकारले पनि गरेको छ । यतिसम्म कि, उद्योगहरुलाई पूर्ण क्षमतामा चलाउन पनि हौसाएको छ । निरौलाले अहिलेको उत्पादनमा कम्तीमा २० प्रतिशत उत्पादन यसैवर्ष बढ्ने बताएका छन् । भारतमा नेपाली सिमेन्टको औपचारिक निर्यात सुरु भएपनि नीतिगत स्थितरता हुन्छ कि हुँदैन भन्नेमा भने उद्योगीहरु त्यति आशावादी छैनन् । उनीहरुले घुमाउरो गरी कम्तीमा १ दशक (१० वर्ष) निर्यातमा अनुदान चाहिने बताउँदै आएका छन् । यो पनिःअर्थमन्त्रीलाई उद्योगीले भने, ‘भारतलाई १ करोड टन सिमेन्ट बेच्छौँ, लागत घटाईदिनुस्’‘अहिले त टिकाउन चाहिएको हो, त्यहाँ प्रतिस्पर्धा गर्न, त्यहाँको बजारमा आफ्नो ब्राण्ड स्थापित गराउन अनुदान चाहिएको हो’ निरौला थप्छन्, ‘भोलीका दिनमा क्यास अनुदान नचाहिन पनि सक्छ । यतै लागत कम हुने नीति अख्तियारी गर्न सकिन्छ । अर्को कुरा, यो आईस ब्रेक हो भनेर चुप चाहिँ बस्नु हुँदैन । यसलाई स्वागत गर्दै निर्यात बढाउने गरी तयारीमा लाग्नुपर्छ । त्यसका लागि नीतिगत स्थितरता चाहिन्छ ।’‘स्वदेशमै पनि खपत बढाउनुपर्छ’भारतमा निर्यात सुरु भएपनि स्थायी बजार नेपाल नै हो । यसमा उद्योगीहरु पनि सहमत छन् । निर्यातसँगै नेपाली बजारमा पनि सिमेन्टको खपत बढाउनुपर्ने उनीहरुको माग छ । ठूला आयोजनाहरुको निर्माण, निर्माणाधीन आयोजनाहरुमा कामको तीव्रता, सडकमा कालोपत्रेको सट्टा सिमेन्टको कंक्रिटको ढलान लगायतका काम गरेर खपत बढाउन सकिने उद्योगीहरु बताउँछन् । भारत अत्याधिक तीव्र गतीमा भौतिक पूर्वाधार निर्माणको काम गरिरहेको मूलुक हो । यसकारण अबको करिब २० वर्षका लागि भारतीय बजार नेपाली सिमेन्टको बजारका रुपमा सुरक्षित भने उद्योगीहरुले देखेका छन् । तर, भारतमा भएका ठूला क्षमताका उद्योगहरुसँग पनि प्रतिस्पर्धा गर्न भने सक्नुपर्ने आवश्यकता छ ।उद्योगीहरुले निर्यातको ‘पोलिसी’ बने वार्षिक १ खर्बको सिमेन्ट निर्यात गर्ने दाबी गर्दै आएका थिए । तर, पहिलो वर्ष १० देखि २० अर्ब रुपैयाँको निर्यात हुने र यो नै ठूलो उपलब्धि हुने उद्योगीहरुको भनाई छ । आगामी वर्षबाट यो क्रमशः बढ्ने विश्वास उनीहरुको छ ।