नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै नयाँ सरकारबाट विभिन्न अपेक्षा गरिएका अभिव्यक्तिहरू सार्वजनिक हुन थालेका छन् । तर, ओलीको विकल्प दिनैपर्ने बाध्यात्मक अवस्थामा बनेको गठबन्धनको बाध्यात्मक रूपमा नेतृत्व लिएर प्रधानमन्त्री बनेका देउवालाई गठबन्धन जोगाएर विश्वासको मत प्राप्त गर्न नै हम्मे पर्ने देखिन्छ । यस्तोमा नयाँ सरकारबाट धेरै प्रभावकारी कार्यसम्पादनको अपेक्षा राख्न सक्ने अवस्था देखिँदैन ।
नयाँ सरकारले कोरोना नियन्त्रण र खोपलाई मात्र लक्ष्य गरेर प्राथमिकता दिनु जरुरी छ । यही काम मात्रै प्रभावकारी भएमा पनि यसलाई सफल सरकार भन्नुपर्ने हुन्छ ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले विधि, प्रक्रिया, मान्यताहरूको बारम्बार उल्लंघन गर्दै आएकोमा संविधानका प्रावधानहरू मिचेर प्रतिनिधिसभा विघटन समेत गरेपछि उनका विरुद्ध विपक्षीहरूले मोर्चा बनाएका हुन् । संविधानलाई सही बाटोमा ल्याउन र विधि तथा प्रक्रिया स्थापना गराउन एकमत भएका दल र समूहहरू मिलेर यो मिलिजुली सरकार बनेको हो । देउवा नेतृत्वको गठबन्धनले संविधानको धारा ७५ को उपधारा ५ अनुसार सरकार गठन गर्न दाबी गरे पनि राष्ट्रपतिले संवैधानिक प्रावधानविपरीत प्रतिनिधिसभा विघटनको सिफारिशलाई अनुमोदन गर्नुभयो । यही कारण सर्वोच्चमा मुद्दा दायर भयो र सर्वोच्च अदालतले संविधानको यो धारालाई धेरै मात्रामा स्पष्ट पार्ने काम गर्यो ।
सर्वोच्चको परमादेशबाट ओलीको बहिर्गमन भए पनि नयाँ प्रधानमन्त्रीको शपथग्रहण कार्यक्रममै प्रधानमन्त्री र राष्ट्रपतिबीच असमझदारी देखापर्यो । राष्ट्रपतिले देउवालाई नियुक्त गरेको पत्र सच्याएको भने पनि राष्ट्रपति कार्यालयको वेबसाइटमा सर्वोच्चको परमादेशअनुसार प्रधानमन्त्री नियुक्त गरिएको पुरानो पत्र नै राखिएको छ । यस प्रसंगले निकै नराम्रो अनिष्टलाई नै संकेत गर्छ । अधिकारविहीन भए पनि राष्ट्रपतिले प्रधानमन्त्री देउवाका धेरै काममा अवरोध पुर्याउन सक्ने सम्भावना छ ।
यस्तो अवस्थामा पनि नयाँ सरकारबाट विभिन्न अपेक्षा गर्न शुरू गरिएको छ । प्रधानमन्त्रीलाई सुझाव आउन थालेका छन् । तर, त्यस्तो केही गर्न सक्ने यो मन्त्रिमण्डल होइन ।
नयाँ मन्त्रिमण्डललाई विश्वासको मत पाउन नै गाह्रो देखिन्छ । सरकारविरुद्ध साथ दिएका सहयोगीमध्ये जनमोर्चाले सरकारमा नजाने निर्णय गरेको छ । त्यस्तै माधवकुमार नेपालले पार्टीबाटै निर्णय गराएर सरकारमा सहभागी हुने रणनीति लिएका छन् । तर, ओलीको आक्रामक अभिव्यक्ति सुन्दा नेकपा एमालेले नयाँ सरकारलाई कुनै पनि हालतमा सहयोग नगर्ने र चर्को विरोध अभियान चलाउने देखिन्छ । यस्तोमा माधव नेपाल पक्षले सरकारलाई मत दिन्छ वा दिँदैन भन्न सकिने अवस्था छैन । धारा ७६ (५) अनुसार विश्वासको मत लिँदा पार्टीको ह्वीप नलाग्ने निर्णय सर्वोच्चले गरिसकेको अवस्थामा देउवालाई आवश्यक मत प्राप्त हुन पनि सक्छ । तर, त्यसो नहुने सम्भावना पनि उत्तिकै बलियो छ ।
यो सरकारले विश्वासको मत नपाए देश निर्वाचनमा जान्छ । सर्वोच्च अदालतको सन्देश त्यही हो । तर, विश्वासको मत पाइहाले पनि यो सरकारको आयु लामो छैन । त्यसमाथि सरकारमा सामेल दलहरूबीच साझा सहमति छैन । उनीहरूले न्यूनतम साझा कार्यक्रमसमेत बनाएको पाइँदैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक संयन्त्र बनाउने प्रस्ताव गरेको समाचार पनि आएको छ । त्यसो भयो भने पनि यो सरकारभित्रको गन्जागोल कम हुने देखिँदैन । अझ त्यस्तो संयन्त्र त प्रधानमन्त्रीमाथि नियन्त्रण गर्ने गैरसंवैधानिक निकाय हुन्छ । एमसीसी सम्झौता, नागरिकता विधेयक, संविधान संशोधन जस्ता विषयमा यी दलहरू परस्पर रूपमा कट्टर विरोधी छन् । त्यसैले यो सरकारले विशेष काम केही गर्न सक्ला भन्ने अपेक्षा गर्न सकिँदैन । हो, ओली सरकारले बिगारेका बेथितिहरूलाई रोक्न सकेमात्र पनि ठूलै उपलब्धि मान्नुपर्ने हुन्छ ।
नयाँ सरकारले अध्यादेशबाट आएको बजेटलाई निरन्तरता दिन्छ वा नयाँ बजेट बनाउँछ भन्ने पनि अनिश्चित नै छ । अध्यादेश भएको हुँदा यसलाई निरन्तरता दिए पनि संसद्बाट पारित गराउनुपर्ने हुन्छ । नयाँ बजेट बनाउन पनि त्यति सहज देखिँदैन किनभने विश्वासको मत प्राप्त गर्न सक्ने हो कि होइन निश्चित छैन । विश्वासको मत नपाए यसले पनि प्रतिनिधिसभा विघटन गरी निर्वाचनकै घोषणा गर्नुपर्ने हुन्छ । यस्तोमा नयाँ बजेट बन्ने सम्भावना शून्यजस्तै हुन्छ । विश्वासको मत पाए पनि अहिले बजेटमा राखिएका लोकरिझ्याइँका कार्यक्रमहरू कटौती गर्न त्यति सहज छैन ।
नयाँ सरकार योजनाविना सरकारमा पुगेको झुन्ड मात्रै देखापरेको छ । यो झुन्डलाई मिलाउँदा मिलाउँदै प्रधानमन्त्री देउवाको कार्यकाल बित्नेछ । साथै ओली नेतृत्वको एमालेले आफूलाई ‘सशक्त प्रतिपक्षी’ भएको सावित गर्ने आफ्नै ढाँचा देखाउन थालिसकेको छ । त्यसलाई सामना गर्न पनि यो सरकारलाई निकै गाह्रो हुनेछ ।
त्यसैले नयाँ सरकारले कोरोना नियन्त्रण र खोपलाई मात्र लक्ष्य गरेर प्राथमिकता दिनु जरुरी छ । यही काम मात्रै प्रभावकारी भएमा पनि यसलाई सफल सरकार भन्नुपर्ने हुन्छ । यति भएमा अर्थतन्त्रलाई त्यही नै ठूलो राहत हुनेछ ।