बागलुङ । मध्यपहाडी राजमार्गको बागलुङ खण्ड स्तरोन्नतिको काममा ढिलाइ भएको छ । लोकमार्गको सबैभन्दा लामो खण्ड बागलुङमा रहेको छ । जिल्ला सदरमुकाम खण्ड दुई वर्षमा कालोपत्र गर्ने भनिए पनि अझै हुन सकेको छैन ।
६ वर्षसम्म पनि यो सडक कालोपत्र हुन नसक्दा बिहुँका स्थानीयवासीले निर्माण व्यवसायीविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएका छन् । गत असारपछि रोकिएको मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटरमा पुनः काम थालिएको छ । गत असोजमा बागलुङ घोडाबाँधे सडक खण्डअन्तर्गत बिहुँमा दुई किलोमिटर सडक कालोपत्र गरेर काम छाडेको निर्माण कम्पनीले फागुनदेखि काम थालेको छ । ट्र्याक खोलेको २४ वर्षपछि सडक कालोपत्र हुने आशा स्थानीयको छ । अहिले जिल्ला सदरमुकामको खहरे, मूलपानी क्षेत्रमा आधार तयार पार्ने कार्य भइरहेको छ भने उपल्लो खण्डको बिहुँमा कालोपत्रका लागि ग्राभेल बिच्छ्याउने काम भइरहेको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले बताएको छ ।
मध्यपहाडी (पुष्पलाल) राजमार्ग आयोजना पर्वत कार्यालयका प्रमुख इञ्जिनीयर नारायणदत्त भण्डारीले असारपछि निर्माण व्यवसायीलाई निरन्तरको ताकेतापछि काममा तीव्रता दिन थालेको बताए । ‘अहिले घोडाँबाधेदेखि बागलुङ बजारसम्मको सडकमा कालोपत्र गर्नुअघिका काम भइरहेको छ, सब–बेस बिच्छ्याउने, ग्याबिन भर्ने र कल्र्भट बनाउने काम तल्लो खण्डमा भइरहेको छ,’ उनले भने ।
यो राजमार्गको बागलुङ बजार उपल्लाचौर–अक्षेते–बिहुँ खण्ड र बिहुँ घोडाबाँधे सडक खण्डको २५ किलोमिटर सडक दुई खण्डमा विभाजन गरेर ठेक्का भएको थियो । उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत/सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी/एससीएफ/ईसीसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा कालोपत्र गर्ने ठेक्का सम्झौता गरेका थिए । तर निर्माण शुरू भएको ६ वर्षमा ६० प्रतिशत मात्र प्रगति भएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने जिल्लाका दुर्गम स्थान निसीखोला, ढोरपाटन, गलकोट र बडिगाड खण्डमा कालोपत्र भइसकेको छ । तर जिल्ला सदरमुकामसँग जोडिएको लोकमार्गको २५ किमी सडक खण्डको कालोपत्र नहुँदा बासिन्दा मर्कामा परेका छन् । रासस