काठमाडौं । प्रभु इन्स्योरेन्सको शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कम्पनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । यससँगै कम्पनीको शेयर कारोबारमा आएको छ ।
नेप्सेले गत साउन ४ गते कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । हकप्रद शेयर निष्कासनसम्बन्धी निर्णय ढिलो गरी जानकारी गराएकाे भन्दै नेप्सेले कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । यससँगै नेप्सेले कम्पनीलाई ३ कार्यदिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न पनि निर्देशन दिएको थियो ।
त्यसको जवाफमा कम्पनीले हकप्रद शेयर निष्कासनको प्रस्ताव गरी सैद्धान्तिक स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेस गरेको र त्यहाँबाट सैद्धान्तिक स्वीकृति प्राप्त हुने वा नहुने अन्योल रहेको व्यहोरासहितको पत्र नेप्सेमा पठाएको छ ।
पत्रमा धितोपत्र सूचीकरण विनियमावली, २०७५ र धितोपत्र सूचीकरणसम्बन्धी सम्झौता शर्तहरूको अक्षरशः पालना गर्ने प्रतिबद्धता पनि उल्लेख छ ।
धितोपत्र सूचीकरणसम्बन्धी सम्झौता शर्तहरूको पालना गर्ने प्रतिबद्धता भएपछि कम्पनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको नेप्सेले जानकारी दिएको छ ।
गत असार २७ गते बसेको कम्पनीको सञ्चालक समितिले ६५ प्रतिशत हकप्रद शेयर जारी गर्नेसम्बन्धी निर्णय गरेको थियो । तर, कम्पनीले नेप्सेमा साउन ४ गते उक्त निर्णयको जानकारीसहितको पत्र पठाएको थियो ।
कुनै पनि संगठित संस्थाले धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था छ । कम्पनीले त्यस्तो सूचना समयमै जानकारी नगराएपछि नेप्लेले स्पष्टिकरण माग्दै शेयर कारोबार रोक्का गरेको थियो ।