राष्ट्र उत्थान लघुवित्तको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार बिहीवार फुकुवा गरेको छ । नेप्सेले कम्पनीलाई गल्ती नदोहोर्‍याउन सचेत गराउँदै शेयर कारोबार फुकुवा गरेको हो । कम्पनीको सञ्चालक समितिको वैशाख १३ गते बसेको बैठकले लाभांश वितरणसम्बन्धी निणर्य १९ गते बिहान ११ः४८ बजे मात्रै जानकारी गराएको भन्दै नेप्सेले शेयर कारोबार रोक्का गरेको थियो । धितोपत्र सूचीकरण विनियमावली २०७५ मा भएको व्यवस्थाअनुसार शेयर मूल्य प्रभावित हुने गरी सूचना सार्वजनिक गरेको भन्दै नेप्सेले प्रष्टीकरण माग गर्दै कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । कम्पनीले नेप्सेसमक्ष सूचना प्रवाहसम्बन्धी गलत बुझाइका कारण समयमा जानकारी गराउन नसकिएको त्रुटिसहित क्षमा याचना गरेको छ । आगामी दिनमा यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता गरेपछि नेप्सेले कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो । वैशाख १३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको मुनाफाबाट शेयरधनीलाई चुक्तापूँजीेको १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।