देशको राष्ट्रियता जोगाउन आआफ्नो संस्कृतिलाई बचाइराख्नु जरुरी हुन्छ तर हाम्रा पर्वहरू र परम्परा दिन प्रतिदिन लोप हुँदैछन् । यस्तो अवस्थामा नेपालमा पाइने सबै चाडपर्वलाई जोगाइराख्नु जरुरी छ । नेपालमा पाइने विविध चाडपर्वमध्ये काठमाडौँ उपत्यकामा प्रत्येक वर्ष श्रावण कृष्णपक्ष चतुर्दशीका दिन घण्टाकर्ण पर्व मनाउने गरिन्छ । यसलाई गठांमुगः र गठेमंगल पर्व पनि भन्ने गरिन्छ । सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनको दृष्टिकोणले निकै महìवपूर्ण यस पर्व विशेषतः देउताको पूजा र घरको सरसफाइ शुद्धीकरण गरी मनाइन्छ । रोपाइँको काम सिद्धिएपछि हिलो पखाल्न र घरमा सरसफाइका लागि ‘सिनाज्याब्यंकेगु’ भनी यो पर्व मनाउने गरिन्छ । घण्टाकर्ण पर्वको सुरुबाट अन्य पर्वहरू सुरु हुने हुँदा यसलाई ‘काय्मचानखः’ पनि भन्ने गरिन्छ । घण्टाकर्ण पर्व हिन्दु तथा बौद्ध दुवै समुदायले उत्तिकै श्रद्धाले मनाउने गर्छन् । यसैले यस पर्वको अवसरमा सबैको घर–घरमा हुने भूत प्रेतहरूलाई पन्छ्याउनका लागि मनाउने गरिन्छ । बिहान सबेरै आआफ्नो घरमा लिपपोत गरी सरसफाइ गरिन्छ । हरेक मूल–मूल टोलमा चौबाटोमा बिहानै नर्कट ठड्याई घण्टाकर्णको प्रतीकका रूपमा राखिन्छ । पञ्चधातुु फलाम, पित्तल, तामा, चाँदी र सुनका विशेषतः फलामको औँठी किनेर ल्याई उक्त चौबाटोमा ठड्याइएको गठांमुगःलाई छोएर ल्याएर परिवारका सदस्यहरूले लगाउने चलन छ । स–साना केटाकेटीलाई यसै दिनदेखि फलामका वा चाँदीका कल्लीहरू लगाइदिन्छन् । केटीहरू आफूले बनाएका राम्रा–राम्रा साना पुतलीहरू चौबाटोमा ठड्याएका नर्कटमा झुण्ड्याउँछन् । यसरी पुतली झुण्ड्याएमा भूतप्रेतले नछुने हुन्छ । यस्तै केटीहरूले हातमा मेहन्दी लगाउँछन् । यसरी विविध सांस्कृतिक महìव रहेको घण्टाकर्ण पर्वमा दिनभरि नै रमाइलो भइरहेको हुन्छ ।