काठमाडौं । महाकाली नदीमाथि मोटरेवल (गाडी चल्ने) पुल निर्माण गर्न नेपाल र भारतबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भारत सरकारको अनुदान सहयोगमा नेपालको दार्चुला र भारतको धार्चुलालाई मोटरेवल पुलले जोड्न महाकाली नदीमाथि पुल बनाउने सम्झौतामा हस्ताक्षर भएको हो ।
दुई देशका २ बिन्दु जोड्नका लागि पुल निर्माण गर्ने भन्दै नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको उपस्थितिमा मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । भारतीय दूतावासले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको छ । जारी विज्ञप्तिमा उक्त पुलको निर्माण चाँडै शुरु गरिने योजना रहेको उल्लेख छ ।
महाकाली नदीमाथि बन्ने पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटीलाई सुदृढ बनाउने विज्ञप्तिमा उल्लेख गरिएको छ । परियोजनाले वाणिज्य, सांस्कृतिक तथा जनता बीचको सम्बन्धलाई बलियो बनाउने विश्वास व्यक्त गरिएको छ ।