काठमाडौं । गत वर्ष फागुनमा प्रतिकठ्ठा २० लाख रुपैयाँ रहेको जग्गाको मूल्य अहिले १२ देखि १४ लाख रुपैयाँ मात्रै छ । यो मूल्य आफैमा महँगो मूल्य होइन । तर, यही जग्गा पनि किन्ने मान्छे नपाउँदा जग्गामा लगानी गरेका व्यवसायीहरू निकै अफ्ठेरोमा परेका छन् ।
केही समय अघिसम्म कित्ताकाट रोकिएका कारण घरजग्गा विक्री गर्न सक्ने अवस्था थिएन । तर, अहिले धेरै ठाउँमा कित्ताकाट खुलिसकेको छ । कित्ताकाट खुलेका ठाउँमा कित्ताकाटको संख्या सामान्य बढे पनि कारोबारको अवस्था भने उस्तै छ ।
फागुनमा सार्वजनिक पछिल्लो तथ्याङ्कले देशभर मासिक ६० हजार कित्ताकाट भएका छन् भने ४० हजार घरजग्गा किनबेच भएका छन् । ठिक १ वर्षअघि भने मासिक १ लाख ६० हजार बढी कित्ताकाट र ७४ हजार घरजग्गा किनबेच भएका थिए । यो वर्ष फागुनमा करीब १ अर्ब ९२ करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएको छ । अघिल्लो वर्ष फागुनमा भने ३ अर्ब ७८ करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएको थियो । यो तथ्याङ्कले नै अहिले घरजग्गा कारोबार निकै खस्केको पुष्टि हुन्छ ।
साना र सस्ता जग्गाका टुक्रा छिटफुट किनबेच भए पनि प्लटिङ गरिएका प्लटहरू किनबेच हुन सकेका छैनन् । ५० लाख रुपैयाँभन्दा बढी मूल्यका जग्गा किनबेच गर्न त झनै समस्या रहेको व्यवसायीहरू बताउँछन् ।
आर्थिक मन्दीमा ठूलो रकम हातमा भएका खरीदकर्ता नभेटिएपछि व्यवसायीले अहिले ५० प्रतिशत डाउन पेमेन्ट लिएर किस्ताबन्दीमा जग्गा बेच्ने उपाय पनि निकालिरहेका छन् । यसमा पनि उनीहरू सोचेजसरी सफल हुन सकेका छैनन् ।
१० लाख रुपैयाँ मूल्य तोकिएको एउटा घडेरी जग्गा अहिले ७ लाख रुपैयाँमा विक्रीमा राखिएको छ । त्यसमा पनि ३ लाख ५० हजार रुपैयाँ मात्रै बुझाए पुग्छ । बाँकी ३ लाख ५० हजार रुपैयाँ मासिक किस्ता बन्दीमा तिर्न पाइन्छ । तर, मात्र ३ लाख ५० हजार रुपैयाँ तिरेर पनि जग्गा किन्ने मान्छे नआउँदा भने व्यवसायीहरू अचम्ममा परेका छन् ।
मूल्य घटेको बेलामा पनि किन विक्री भइरहेका छैनन् त घरजग्गा ?
घरजग्गा व्यवसायी तथा होटल व्यावसायी महासंघका अध्यक्ष दिनेश कुमार चुके पनि मूल्य घटेको बेला समेत घरजग्गामा पैसा नआउँदा अचम्मित भएको बताउँछन् । ‘घरजग्गाको मूल्य घटेर आधा भइसक्दा पनि बजारमा पैसा किन आउँदैन ? हामीलाई अचम्म लागिरहेको छ,’ उनले प्रश्न गर्दै भने ।
अहिले बजारमा कसैको हातमा पनि पैसा नभएकै कारण घरजग्गाको खरीदविक्री घटेको नेपाल रियल स्टेट अर्गनाइजेशन (एन–रियो)का महासचिव विनोद सुवेदी बताउँछन् ।
चुनावको बेला केही पैसा बजारमा आउने र घरजग्गासहित शेयर कारोबार बढ्ने अपेक्षा गरिएकोमा चुनावमा समेत बजारमा पैसा नआएको उनको भनाइ छ ।
नेपालमा विभिन्न क्षेत्रमा लगानी गरेका ठूला व्यवसायीहरूले आर्जन गरेको नाफा गैरकानूनी बाटोबाट विदेश पलायन भएकाले पनि नेपालमा अहिले पैसाको फ्लो नै कम भएको सुवेदीको दाबी छ ।
विदेशबाट आउने रेमिट्यान्स समेत घरजग्गामा नआउँदा अहिले घरजग्गा कारोबार निकै सुस्ताएको छ । रेमिट्यान्स पठाउने युवाहरूले नै भोलि के होला कसो होला भनेर पठाएको पैसा खर्च नगरी राख्न परिवारलाई निर्देशन दिन थालेका छन् ।
हुन पनि अहिले महँगी र ब्याजदर दुवै बढेको बेला मानिसहरूलाई दैनिकी चलाउनै हम्मेहम्मे परिरहेको छ । पहिला भइरहेको व्यवसाय जोगाउने र दैनिक गुजारा चलाउने कुरामै सबै केन्द्रित भएकाले सस्तोसस्तो जग्गाको समेत किनबेच नभएको अधिकांश व्यवसायीको भनाइ छ ।
पहिले कसरी बढेको थियो कारोबार ? अब कसरी बढाउन सकिन्छ ?
पहिले पहिले घरजग्गाको कारोबार र मूल्य बढ्नुमा नाफा खाने उद्देश्यले जग्गामा लगानी गर्नेहरू आउनु नै प्रमुख कारण थियो । अब पनि घरजग्गाको कारोबार बढ्न नाफा खाने उद्देश्यले लगानी गर्ने लगानीकर्ता नै बजारमा आउनुपर्छ । तर, यस्तो समयमा सबै जना दैनिकी कसरी चलाउने भन्ने कुरामै केन्द्रित छन् ।
नाफा खाएर बेच्ने उद्देश्यले जग्गा किन्नेहरूमा मध्यमदेखि उच्च आय भएका सरकारी कर्मचारी, डाक्टर, वकिलदेखि साना ठूला उद्यमीहरू पर्छन् । अहिले उनीहरू सबैको अर्थव्यवस्था दबाबमा आएको छ । आम्दानीको ठूलो हिस्सा बढेको ब्याजदेखि उपभोग्य वस्तुको मूल्यवृद्धिले खाइदिएको छ ।
मानिसहरूको दैनिकी सहज नभएसम्म घरजग्गाको ठूलो कारोबार हुने सम्भावना न्यून रहेको जानकारहरू बताउँछन् । मानिसहरूको दैनिकी सहज हुन कति समय लाग्छ भन्ने कुरा अहिले नै अनुमान गर्न सकिन्न । विश्वव्यापी मन्दीको समय लम्बियो भने यो अरु ६ महीना वा १ वर्षभन्दा लामो समयसम्म पनि जान सक्छ ।
महँगा घरजग्गा किनबेच हुन अझै समय लाग्ने
सस्तो घरजग्गा किनबेचमा मान्छेले सोधखोज शुरू गरे पनि महँगा घरजग्गा किनबेच हुन भने अझै केही समय लाग्न सक्ने व्यवसायीहरू बताउँछन् ।
मानिसहरूसँग अहिले ५ लाख रुपैयाँ निकाल्ने क्षमता पनि छैन । यस्तोमा ५ करोड रुपैयाँको प्रोपर्र्टी विक्री हुने सम्भावना छैन । तर, शहरोन्मुख क्षेत्रमा कसैले सानो सानो घरजग्गा लिएर काम गर्छ भने उसले पछाडि फर्किनुपर्ने अवस्था नरहेको व्यवसायी चुके बताउँछन् ।
ठूलो जग्गा राखेर ऋण लिएका व्यवसायीले ऋण तिर्न सकेनन् भने उक्त जग्गा अरू कुनै तरिकाले विक्री हुने अवस्था छैन । त्यस्ता जग्गा बैंक तथा वित्तीय संस्थाहरूले लिलाम नै गर्नुपर्ने बाध्यता छ ।