काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले आज अर्थात् फागुन ८ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो।
कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ३६ हजार ४८६ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो। सोमध्ये अति प्रभावित क्षेत्र नौमुले र कालिका गा.वि.स। मा स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता, आयोजना प्रभावित क्षेत्र दैलेख जिल्लाका स्थानीय बासिन्दाहरुका लागि २ लाख ६८ हजार २४३ कित्ता शेयर सुरक्षित गरिएको छ।
यसका साथै कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ७ हजार २९८ कित्ता साधारण शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो।
उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिने छ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि आईपीओ विक्री बन्द छिटोमा फागुन २५ गते हुनेछ भने ढिलोमा चैत ७ गतेसम्म हुनेछ। त्यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने फागुन २५ गतेभित्र आवेदन दिनु पर्नेछ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।
स्थानीय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि - आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। यसका साथै मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सक्नेछन्।