वीरगञ्ज निवासी मुस्कान खातुनको जीवनमा ठीक एक वर्षअघि ठूलो सङ्कट आयो । एसिड प्रहारबाट उहाँका दुवै हात, छाती र अनुहारको दाहिने भाग जले । उहाँलाई २०७६ भदौ २० गते एसिड छ्यापिएको थियो ।
एक वर्षको अवधि निकै पीडामा बिते पनि खातुन अहिले साहस बोकेर केही गर्ने अठोटका साथ अगाडि बढ्नुभएको छ । मूच्र्छित अवस्थाबाट बचेर उहाँ प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना पीडा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष भन्न सक्ने हुनुभएको छ ।
तर खातुनको घाउ केही निको भए पनि अनुहारका दाग र मनभित्र गडेको पीडा भने ताजै छ । आफ्ना बुवा रसुल अन्सारी र उज्ज्वलविक्रम थापासहित मङ्गलबार अबेर प्रधानमन्त्री निवास पुग्नुभएकी खातुनले प्रधानमन्त्रीसँग आफ्ना भनाइ निर्धक्क साथ राख्नुभयो ।
प्रधानमन्त्रीसँगको भेटमा उहाँले एसिड प्रहार गर्नेलाई कडा सजाय हुनुपर्ने र कानुन कमजोर भएकाले एकदम कडा बनाउन माग गर्नुभयो । खातुनले भन्नुभयो, ‘‘प्रधानमन्त्रीज्यू, यो एसिड प्रहारको पीडा चाहिँ हामीले जीवनभर सहनुपर्ने तर अपराधी ठहरिएका चाहिँ खुलेआम हिँडिरहेका छन्, हाम्रो जस्तो पीडा अन्य दिदी–बहिनीले अब भोग्नु नपरोस्, अभिभावकले पनि सहनु नपरोस् ।’’