विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ ले विश्वको अर्थतन्त्र नै थला परेको अवस्थामा हाम्रो मुलुकमा पनि विगत तीन महिना लामो लकडाउन तथा बन्दाबन्दीले मुलुकको अर्थतन्त्रमा पूरै गिरावट आएको छ । यो सामान्य अवस्थामा आउन अझै केही महिना लाग्ने प्रस्टै देखिन्छ । यसै सेरोफेरोमा रहेर केही दिनअघि मात्रै नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७-०७८ का लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो । कोभिड–१९ द्वारा प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्नका लागि केही सहयोग पुग्ने भन्दै निजी क्षेत्रहरूले यसको स्वागत गरेका छन् । करिब तीन महिना लामो बन्दाबन्दीपछि ल्याइएको सामान्य खुकुलोपनमा उद्योग, व्यापार तथा व्यवसाय र अर्थतन्त्रमा संकुचन आइरहेको जटिल अवस्थामा मौद्रिक नीतिको प्रावधानले उद्योग, व्यवसाय, व्यापारमा केही पुनरुत्थान हुने देखिएको हुँदा निजी क्षेत्र केही उत्साहित देखिएको हो ।