चैत ५, काठमाडौं । काठमाडौं उपत्यकाको इटुम्बहाल परिसरमा शनिवार बालबालिकाहरुको सामुहिक कुमार/ कुमारी पूजा गरिएको छ ।
कुमार र कुमारीलाई उपत्यकामा राज्यको सुरक्षाको रुपमा यसरी पूजा गर्ने परम्परा छ । स्वनिगः पासा पुचः द्वारा आयोजित उक्त पूजामा २०८ जना बालिका र १७२ जना बालक गरि ३८० जनाको सहभागिता रहेको थियो । प्रत्येक वर्ष जीवित देवी कुमारीलाई तुलजा भवानीका रुपमा पुजिने र सोही क्रममा इन्द्रजात्राको रथयात्रा समेत गरिंदै आएको छ ।
हरेक वर्ष इन्द्रजात्राको अवसर पारेर कुमारी पूजा कार्यक्रमको आयोजना गर्ने गरेकोमा कोभिडको महामारीका कारण स्थगित भएका कारण उचित साइत हेरेर शनिवार कार्यक्रम गरिएको आयोजकले बताए । उक्त पूजामा किलागलका जीवितदेवी कुमारीको पनि उपस्थित थियो ।
हनुमानढोकास्थित कुमारी घरमा राजकीय कुमारीलाई पूजा गरेर फर्केपछि विधिपूर्वक पूजा गर्ने प्रचलन रहेको छ । प्रत्येक बालबालिकाले उक्त पूजामा सहभागी हुन परिवारले १ हजार रुपैयाँ बुझाएका थिए । त्यसको साथै हरेक परिवारले उक्त पूजामा समावेश हरेक बालबालिकालाई आफनो इच्छाले सगुनको रुपमा मिठाई, चकलेट,जुस, कपीकलम, लुगा दिने चलन छ ।
नेवार समुदायको परम्परामा कुमारी पुजा गर्नाले सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ । कतिपय अभिभावकहरुले आफनो बालबालिकाको समृद्धि तथा रमाइलोको लागि उक्त पूजामा सहभागी गराइएको बताए । तर स्थानीय वृद्धवृद्धाहरु भने यस्ता कार्यक्रमहरु व्यवसायिक भएको बताउँछन् ।
धेरै वर्ष अगाडिदेखि कुमारी पूजा गर्ने परम्परा रहेपनि यसरी पछिल्लो ५६ वर्षदेखि सामूहिक रुपमा रकम बुझाएर गर्ने नौलो भएको उनीहरु बताउँछन् । प्रत्येक वर्ष सिघपुन्ही अर्थात् कोजाग्रत पूर्णिमामा कुमारीलाई महालक्ष्मीको रुपमा पूजा गर्ने परम्परा अन्तर्गत कुमारी घरमा गर्ने गरिन्छ ।
तर अहिले आएर टोल टोलमा सामुहिक रुपमा कुमार कुमारी पूजाको आयोजना गर्नुलाई सांस्कृतिक व्यवसाय भन्दा अनुचित नहुने वृद्धवृद्धाहरुको ठम्मयाइ छ ।
तस्वीरहरु : सुनिल शर्मा/ आर्थिक अभियान