‘लकडाउन’मा सरकारले बेच्यो ६ हजार चुल्हो, १२ हजार क्विन्टल खाद्यान्न

काडमाण्डौ–'लकडाउन'को कारण धेरै क्षेत्र अस्तव्यस्त भएको छ । व्यापार व्यवसाय चौपट भएको छ । तर नेपाल सरकारको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई भने ‘लकडाउन’ फलिफाप भएको छ । कम्पनीले करोडौं रुपैयाँको व्यापार गरेको छ । उसले नागरिकको मन जित्ने काम गरिरहेको छ । अनलाइनमार्फत घरघरमा सामान पर्याउने...

सम्बन्धित सामग्री

हुम्लामा खाद्यान्न अभाव : ढुवानीमा बेवास्ताले सहरमै थन्कियो चामल

सिमकोट, (हुम्ला) । समयमै ढुवानी नहुँदा हिमाली जिल्ला हुम्लामा खाद्यान्न अभाव देखिएको छ । ढुवानीको जिम्मा पाएका सप्लायर्स कम्पनी र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको लापरबाहीका कारण यहाँ खाद्यान्न अभाव भएको हो ।  लिमिटेडको सिमकोट शाखामा दुई महीना यतादेखि खाद्यान्न अभाव हुँदै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा हुम्लाका लागि १४ हजार क्विन्टल चामल स्वीकृत गरिए पनि हालसम्म ढुवानी हुन नसक्दा यहाँको गोदाम रित्तिएको छ । स्थलमार्गबाट चार हजार क्विन्टल र हवाई मार्गबाट १० हजार क्विन्टल ढुवानीका लागि सम्झौता भए पनि सप्लायर्सहरूले समयमै ढुवानी गर्न नसकेको सिमकोट शाखा प्रमुख कृष्ण अधिकारीले बताए ।  स्थलमार्गबाट तीन हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको एलबी सप्लायर्सले अहिलेसम्म ढुवानी गरेको छैन । एक हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको चाङला ढुवानी सेवाले एक सय ४८ क्विन्टल मात्रै उठाएको छ ।  साउनमा ढुवानीका लागि बोलपत्र आह्वान गरेर भदौदेखि ढुवानी हुनुपर्ने खाद्यान्न हालसम्म सप्लायर्सले ढुवानी गर्न सकेको छैन । लिमिटेडले भदौमा मात्र ढुवानीका लागि बोलपत्र आह्वान गरेको थियो । हाल गोदाममा रहेको कम परिमाणको खाद्यान्न पनि विक्री गर्न सक्ने अवस्थामा नरहेको उनले जानकारी दिए ।   खाद्यान्न ढुवानी नहुँदा र नागरिकलाई वितरण गर्न नसक्दा आफूलाई रातभर निद्रासमेत नलाग्ने गरेको उनले बताए । यहाँ एक पटक खाद्यान्न सर्वसाधारण, बजारवासी र कर्मचारीलाई विक्री तथा वितरण गर्दा दुई हजार पाँच सय क्विन्टल आवश्यक पर्छ । भैपरी आउने कार्य जन्म, मृत्यु र कैदीबन्दीलाई पनि अब चाँडै ढुवानी नभए वितरण गर्न नसकिने अवस्था छ ।  अहिले ढुवानीका लागि सप्लायर्स सिम्रिक एयरको हेलिकोप्टर छनोट भएर सम्झौता मात्र भएको तर उक्त एयरलाइन्सले खाद्यान्न बुझेर ढुवानी गर्ने काम अगाडि नबढाएका कारण जिल्लामा खाद्यान्न समस्या देखिएको हो । सिम्रिक एयर हेलिकोप्टर लिमिटेडले हवाई मार्गबाट १० हजार क्विन्टल चामल ढुवानी गर्ने जिम्मा पाएको छ ।  सिमकोट शाखाका लागि सुर्खेतबाट ६ हजार क्विन्टल र नेपालगञ्जदेखि सिमकोटसम्म चार हजार क्विन्टल गरी १० हजार क्विन्टल चामल ढुवानी गर्ने जिम्मा पाएको हो । नेपालगञ्जबाट सिमकोटका लागि प्रतिकेजी रु एक सय ४३ र सुर्खेतबाट सिमकोटका लागि प्रतिकेजी एक रु सय ३७ रुपैयाँका दरले सम्झौता भएको थियो ।  सहरमै थन्कियो ढुवानी हुने चामल हालसम्म राष्ट्रिय सडक सञ्जालले छुन नसकेको हुम्लाको सदरमुकाम सिमकोट शाखामा पुग्नुपर्ने चामल सिम्रिक एयरले ढुवानी नगर्दा नेपागलञ्ज र सुर्खेतमै थन्किएका छन् । यसैगरी स्थलमार्गबाट तीन हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको एलबी सप्लायर्सका प्रोपाइटर लोकेन्द्र भण्डारीले अहिलेसम्म ढुवानीमा चासो देखाएका छैनन् । स्थलमार्गबाटै एक हजार क्विन्टल चामल ढुवानी गर्नुपर्ने चाङला ढुवानी सेवाले पनि हालसम्म खाद्यान्न ढुवानी गरेको छैन । स्थलमार्गबाट नेपालगञ्ज हुँदै हुम्लाको सिमकोटसम्म प्रतिकेजी  ४० रुपैयाँ ६८ पैसा, सुर्खेतबाट स्थलमार्ग हुँदै सिमकोटसम्म रु ३९, धनगढीदेखि सिमकोटसम्म ४२ रुपैयाँ ९४ पैसा र राजापुर बर्दियादेखि सिमकोटसम्म ४१ रुपैयाँ ८१ पैसामा ढुवानी गर्न सम्झौता गरेको पाइएको छ ।  दुई महीनादेखि पाइएन  समयमै खाद्यान्न ढुवानी नहुँदा दुई महीनायतादेखि नियमित कोटाको पाउनुपर्ने चामल नपाइएको सिमकोट गाउँपालिका–७ डाडाँफयाका वीरबहादुर सिंहको गुनासो थियो । उक्त लिमिटेड र ढुवानीको जिम्मा पाएका सप्लायर्सले ढुवानीमा बेवास्था गर्दा सङ्कट निम्तनिुका साथै खाद्यान्न नपाएको उनले बताए । सिंहले भने, ‘नागरिकले चामल पाउन कहिले नागरिकतासमेत पेस गर्नुपर्छ त कहिले महिनौं दिनसम्म यस्तै समस्या भोग्नुपर्छ ।’ जिल्लाका राजनीतिक दलले चामलमा राजनीति गरेको तर जनताको समस्या बुझ्न नसकेको उनको गुनासो थियो ।  सिमकोट शाखाले गोदाम रित्तै हुँदा खाद्यान्न वितरण गर्न नसकेपछि सदरमुकाम सिमकोटमा बस्दै आएका विद्यार्थी, होटेल व्यवसायी, कर्मचारी, सर्वसाधरण र सिमकोट तल्लो गाउँ र माथिल्लो गाउँका नागरिकलाई थप समस्या भएको छ । सिमकोट तल्लो गाउँ र माथिल्लो गाउँका बासिन्दाको खेतीपाती कम हुने र सधैं किन्नुपर्ने खाद्यान्नको भरपर्नुपर्ने भएका कारण उनीहरूलाई समस्या निम्तिएको हो ।  यस्तै मासिक १५ केजी चामल प्रतिव्यक्ति पाउने सदरमुकामका कर्मचारीले समेत पाउन सकेका छैनन् । कोटाको चामल नपाउँदा कर्मचारीले बजारमा महँगो मूल्य तिरेर खरीद गर्नुपर्ने बाध्यता छ । सिमकोट शाखाको गोदाम खाली भएपछि उपभोक्ता खाली हात फिर्ता जान बाध्य छन् । हुम्लाका दुईवटा डिपो र चारवटा बिक्री केन्द्रमा पनि खाद्यान्न छैन । याल्वाङ र लिमी बिक्री केन्द्रबाहेक अरू बिक्री केन्द्रमा चामल पुग्न सकेको छैन ।

सरकारको ढिलाइले भेटिएन धान खरीदको लक्ष्य

महेन्द्रनगर  । सरकारले धान खरीदका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ढिलोगरी स्वीकृति दिँदा लक्ष्यअनुसार धान खरीद हुन सकेको छैन भने किसानले त्यसको लाभ लिन समेत सकेका छैनन् । १४ हजार क्विन्टल धान खरीदको लक्ष्य रहेको खाद्य कम्पनीको महेन्द्रनगरस्थित कार्यालयले हालसम्म २ हजार ९५० क्विन्टल मात्र खरीद गरेको छ । कम्पनीको महेन्द्रनगर कार्यालयका निमित्त प्रमुख तपेन्द्र उपाध्यायले लक्ष्यअनुसार धान खरीद नभएको बताए । उनका अनुसार अहिले कृषकहरू धान विक्रीका लागि आउने क्रम घटेको छ । कम्पनीले बिहीवारसम्ममा २९ सय ५० क्विन्टल मात्र धान खरीद गरेको छ । ४८ हजार ४६९ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको कञ्चनपुरमा यस वर्ष १ लाख ९० हजार मेट्रिक टन धान उत्पादन भएको छ । ‘धान विक्रीका लागि किसान न्यून संख्यामा आइरहेका छन्,’ निमित्त कार्यालय प्रमुख उपाध्यायले भने । कोटा पूरा नभएकाले धान खरीद अझै केही दिन चल्ने उनले बताए । ‘अहिलेसम्म १० हजार क्विन्टल धान खरीद भइसक्नुपर्ने हो,’ उनले भने, ‘तर हामीले खरीद शुरू गर्नुभन्दा अगावै धेरै कृषकले व्यापारीलाई बेचिसकेको पाइएको छ ।’ खाद्य कम्पनीले यस वर्ष ३५ सय क्विन्टलसम्म धान खरीद हुने अनुमान गरेको छ । कञ्चनपुरमा कम्पनीले पुस १ देखि महेन्द्रनगर डिपोमार्फत खरीद शुरू गरेको थियो । गतवर्ष पनि लक्ष्यअनुसार धान खरीद हुन सकेको थिएन । गतवर्ष ६ हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य पाए पनि ११ सय ६१ क्विन्टल मात्र खरीद भएको थियो । स्थानीय किसान मीना भण्डारीले सरकारले धान खरीद गर्ने बेलासम्ममा कृषकले धान बेचिसक्ने गरेको बताइन् । बाली लगाउँदाको ऋण तिर्न र अन्न भण्डारणको अभाव हुँदा किसानले धान काट्नेबित्तिकै विक्री गर्ने गरेको उनको भनाइ छ । खाद्य कम्पनीको धनगढी कार्यालयले पनि लक्ष्यअनुसार धान खरीद गर्न सकेको छैन । कम्पनीको धनगढी कार्यालय प्रमुख एन्जिला बस्नेतका अनुसार यस वर्ष ४० हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य लिइएकोमा ३० हजार क्विन्टल मात्र खरीद भएको छ । ढिलोगरी धान खरीद हुँदा लक्ष्य प्राप्त नभएको उनले बताइन् । कैलालीमा मङ्सिर २७ गतेदेखि टीकापुर, सत्ती, जोशीपुर, असनरी र धनगढीको मोहनपुर केन्द्रबाट धान खरीद गरिएको हो । जिल्लामा ६९ हजार ४४८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा यस वर्ष ३ लाख २६ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र कैलालीको तथ्यांक छ । सरकारले समयमै समर्थन मूल्य नतोक्दा किसानलाई मर्का पर्ने गरेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले बताए । उनका अनुसार ढिलोगरी मूल्य निर्धारण हुँदा किसानले लाभ नपाउने र संस्थानले लिएको धान खरीदको लक्ष्य पनि चुनौतीपूर्ण हुने गरेको छ । सरकारले साउन–भदौसम्ममा बजेट विनियोजन गरी कोटा निर्धारण र मूल्य समायोजन गर्नुपर्ने उनको सुझाव छ । साथै खाद्य कम्पनीले बढी धान उत्पादन हुने सबैजसो क्षेत्रमा खरीद डिपो सञ्चालनमा ल्याउनुपर्ने उनले बताए । सरकारले गतवर्षभन्दा प्रतिक्विन्टल २१५ रुपैयाँ बढाएर यस वर्ष मोटो धानको समर्थन मूल्य २९ सय ६७ र मसिनो धानको ३१ सय २८ रुपैयाँ पुर्‍याएको थियो ।

रित्तिए हुम्लाका खाद्य डिपो, बजारको महँगो चामल खरीद गर्न बाध्य स्थानीय

पुस २५, हुम्ला । खाद्यान्न आपूर्तिमा ढिलाइ हुँदा हुम्लाका खाद्य डिपोहरू रित्तिएका छन् । हुम्लाको सर्केगार्ड, श्रीनगर, ताजाकोट चंगेली, याङचु र याल्वाङमा पनि चामल छैन ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना गरेका ग्रामीण क्षेत्रका खाद्य डिपोहरूमा चामल नहुँदा स्थानीयवासीलाई महँगोमा चामल किन्नुपर्ने बाध्यता भएको छ । गाउँका खाद्य डिपो खाली भएपछि बजारको महँगो चामल खरीद गरी उपभोग गर्नुपरेको स्थानीयवासीको भनाइ छ ।  लिमिटेड शाखा कार्यालय हुम्लाले हिन्दूहरुको महान पर्व दसैं तिहारको अवसरमा खाद्यान्न विक्री वितरण गरेपछि ती खाद्य डिपोहरू रित्तिएका हुन् । चालू आर्थिक वर्षको पाँच महिना बित्न लाग्दा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न ढुवानी कार्य शुरु हुन सकेको छैन ।  लिमिटेडको हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीका अनुसार चालू आर्थिक वर्षका लागि हवाई तथा पैदल मार्गबाट ढुवानी हुने गरी २१ हजार ५०० क्विन्टल खाद्यान्न कोटा निर्धारण भएको थियो । हवाई मार्गबाट ढुवानीका लागि सीता एयरलाइन्सले टेन्डर स्वीकार गरेको छ । हिमपातका कारणले खाद्यान्न ढुवानी गर्न नसकिएको बताइएको छ । चालू आर्थिक वर्षका लागि हुम्लामा २१ हजार ५०० क्विन्टल खाद्यान्न कोटा निर्धारण गरिएको भएपनि हालसम्म एक हजार क्विन्टल चामल मात्र प्राप्त भएको लिमिटेडको हुम्ला शाखा प्रमुख अधिकारीको भनाइ छ ।  खाद्य गोदाममा आएको उक्त चामल मृतकका परिवार वा सुत्केरीलाई आपत्विपत् तथा चाडपर्वमा वितरण गरेर बाँकी रहेका चामल विभिन्न पार्टीको अधिवेशनले गर्दा सकिएकोे थियो ।  हवाई मार्गबाट नेपालगञ्जदेखि चार हजार क्विन्टल र सुर्खेतदेखि ६ हजार क्विन्टल चामल ढुवानी हुनुपर्नेमा ढुवानी नभएकाले पैदल मार्गबाट श्रीनगर डिपो सर्केगाड डिपोमा आउनु पर्ने चामलसमेत आएका छैनन् । उक्त डिपोमा खच्चरबाट आउने खाद्यान्न यस वर्षको हिमपातले गर्दा ढुवानी गर्न नसिकएको बताइएको छ । हुम्ली जनता खाद्यान्न नपाउँदा भोकमारीको चपेटामा परेका छन् । जुनसुकै सरकार आए पनि हुम्लामा खाद्यान्नको अभाव हुने गर्छ । रासस

खाद्य कम्पनीद्वारा धान खरिद शुरू

कञ्चनपुर । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले टोकन प्रणालीमार्फत किसानबाट धान खरिद गर्न थालेको छ । अधिकांश किसानले व्यापारीलाई धान बेचेपछि कम्पनीले बल्ल खरिद गर्न शुरू गरेको हो । कार्यालयले किसानबाट मोटो धान प्रतिक्विन्टल रू. २ हजार ७५२ का दरले खरिद गर्न शुरू गरेको छ । गत भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७५२, मध्यम धानको रु २ हजार ९०२ निर्धारण गरेको थियो । अन्य धानको हकमा खरिद कमिटीले मूल्य तय गर्ने बताइएको छ । सरकारले निर्धारण गरिएको मूल्यअनुसार कम्पनीको कार्यालयले मोटो धान मात्र खरिद गर्न थालेको हो । कार्यालयका निमित्त शाखा प्रमुख तपेन्द्र उपाध्यायका अनुसार प्रत्येक हप्ताको शुक्रवार कार्यालयबाट किसानलाई टोकन वितरणको व्यवस्था गरिएको छ । हप्ताका बाँकी पाँच दिन आइतवारदेखि बिहीवारसम्म धान खरिद हुने गरेको छ । ‘धान खरिदका लागि गत शुक्रवारदेखि टोकन वितरणको कार्य गरेका हौं,’ निमित्त शाखा प्रमुख उपाध्यायले भने, ‘४८ ओटा टोकन वितरण गरिएका छन् । डेढ सय क्विन्टल हाराहारीमा नयाँ धान खरीद गरिएको छ ।’ केन्द्रीय कार्यालयबाट मोटो धान खरिदका लागि स्वीकृति पाएअनुसार किसानबाट सो धान मात्रै खरिद भइरहेको उनले बताए । ‘एक जना किसानबाट अधिकतम ३० क्विन्टल धान खरिद गर्छौं,’ उनले भने, ‘तोकिएको परिणामभन्दा बढी धान किसानसँग छ भने जग्गाधनी प्रमाण पूर्जा, नागरिकताको प्रतिलिपिसहित कृषि ज्ञान केन्द्रको सिफारिस माग्ने गरेका छौं ।’ व्यापारीले चलखेल गर्न सक्ने भएकाले सहज रूपमा किसानको धान खरीद गर्न कोटा निर्धारण गरिएको उनको भनाइ छ । बेमौसमी वर्षाका कारण धानबाली खेतमै उम्रिएपछि थोरै मात्र किसान धान विक्रीका लागि कम्पनीको कार्यालयमा टोकन माग्न पुग्ने गरेका छन् । कम्पनीको कार्यालयमा धान विक्रीका लागि पुग्ने किसान भीमदत्त नगरपालिका क्षेत्रका मात्रै रहेका छन् । कम्पनीको शाखा कार्यालयलाई ६ हजार क्विन्टल धान खरिद गर्ने अनुमति छ । गतवर्ष कम्पनीको शाखा कार्यालयलाई १३ हजार क्विन्टल धान खरिद गर्नका लागि कोटा निर्धारण गरिएको भए पनि ९ हजार ४७९ क्विन्टल धान मात्रै खरिद गरेको थियो । कञ्चनपुरमा ४८ हजार ४९३ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा दिलबहादुर विष्टका अनुसार वर्षाबाट ६९ हजार २७३ मेट्रिकटन धानमा क्षति भएको छ । रासस

चामलको मूल्यभन्दा ढुवानी खर्च बढी

जाजरकोट । उपल्लो डोल्पामा खाद्यान्नको मूल्यभन्दा ढुवानी खर्च बढी पर्ने गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार उपल्लो डोल्पाको सालदाङ विक्री केन्द्रमा चामल ढुवानी गर्न प्रतिकिलो ९० पर्छ । उपल्लो डोल्पाको सालदाङमा प्रतिक्विन्टल जिरा चामलको मूल्य सात हजार, मोटो चामल पाँच हजार र सोना मन्सुली पाँच हजार ६०० मा कम्पनीले उपलव्ध गराउँदै आएको छ । सुर्खेतदेखि धोसम्मको प्रतिकिलो चामलको ढुवानी भाडा ६५, धारगाउँको ५६ र सालदाङसम्मको ९० पर्छ । सालदाङमा चामल पु¥याउन ९ हजार ढुवानी भाडा लाग्छ भने चामलको मूल्य सबैभन्दा बढी प्रतिक्विन्टल सात हजार छ । ढुवानी भाडा चामलको मूल्यभन्दा दुई हजार बढी छ ।      निजीक्षेत्रबाट विक्री गरिँदै आएको ३० किलो चामललाई ‘धो’ मा ६ हजार पर्छ भने तिन्जेमासात हजार पर्ने डोल्पोबुद्ध गाउँपालिका–१ का पेमा गुरुङले बताए । सात हजार तिरेर पनि चामल पाउन नसकेको उनको भनाइ छ । हिमपातका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल ढुवानी रोकिएको छ ।       चामल ढुवानीको जिम्मा लिएका ठेकेदारले तोकिएको समयमा चामल उपल्लो डोल्पामा ढुवानी नगर्दा समस्या भएको खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाका प्रमुख कमलराज पाण्डेले बताए । पाँच सय कोटा रहेको शे फोक्सुण्डोको सालदाङमा अहिलेसम्म १८० क्विन्टल चामल ढुवानी गरिएको छ ।       डोल्पोबुद्ध गाउँपालिका ‘धो’मा ५०० क्विन्टल चामलको कोटा रहेकोमा ढुवानी गर्ने जिम्मा पाएको ओम जयदुर्गे ढुवानी सेवाका रामचन्द्र रोकायले अहिलेसम्म ढुवानी गर्न नसकेको बताए । हिमपातका कारण ढुवानी गर्न नकिएको उनको भनाइ छ । त्यस्तै छार्काताङसोङ गाउँपालिकाको ‘धारगाउँ’मा चामल ढुवानी गर्ने जिम्मेवारी लिएको नमूना ढुवानी सेवाका चेतकुमार शाहीले अहिलेसम्म ढुवानी गरेका छैनन् । सो ठाउँमा पनि ५०० क्विन्टल चामल ढुवानी गर्ने सहमति छ । यी सबै कम्पनीका विक्री केन्द्र हुन् । कम्पनीले तल्लो डोल्पा, जगदुल्ला गाउँपालिकाको काइगाउँमा ५०० क्विन्टल, जुफालमा ३६० क्विन्टल र दुनैमा ५१० क्विन्टल चामल मात्र ढुवानी गरेको छ । सजिलै ढुवानी हुने ठाउँमा मात्र चामल पुर्‍याइएको छ । उपल्लो डोल्पामा अहिलेसम्म चामल ढुवानी हुन सकेको छैन । ढुवानीको जिम्मेवारी लिएका ठेकेदारका लापरबाहीका कारण चामल पुग्न नसकेको हो । सदरमुकाम दुनैमा चामल पर्याप्त उपलब्ध छ भने उपल्लो डोल्पामा ढुवानी नहुँदा समस्या भएको धोका पेमा गुरुङले बताइन् । उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्न अब हवाईमार्ग बाहेक अन्यमा सम्भावना नरहेको सर्वसाधारण बताउँछन् । ठेक्का लिने र समयमा काम नगर्ने ठेकेदारका कारण उपल्लो डोल्पाका सर्वसाधारण मर्कामा परेको गुरुङले बताइन् । अत्यधिक चिसो मौसम भएका कारण वर्षमा एक बाली मात्र पाक्ने गरेको छ । उक्त अन्नले तीन महिना पनि खान नपुग्ने यहाँका स्थानीयवासी बताउँछन् । जडीबुटीको भण्डारको रूपमा रहेका उपल्लो डोल्पामा अधिकांश भू–भाग शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले घेरिएको छ । पशुपालन र जडीबुटी उपल्लो डोल्पाको आम्दानीको स्रोत हुन् । सोही आम्दानीबाटै खाद्यान्नदेखि अन्य समस्या समाधान गर्नुपर्ने उपल्लो डोल्पाका सर्वसाधारणको बाध्यता छ । रासस

दुई लाख क्विन्टल खाद्यान्न बेच्यो खाद्य कम्पनीले

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले एक वर्षमा २ लाख क्विन्टल खाद्यान्न बिक्री गरेको छ ।कम्पनीले आर्थिक वर्ष २०७७-०७८ मा सुगम तथा दुर्गम जिल्लामा २ लाख ६ हजार ७२१ क्विन्टल चामल बिक्री गरेको हो । कम्पनीले धान चामल, गहुँ खरिद गरेर व्यापार गर्दै आएको छ । सरकारी स्वामित्वमा रहेको कम्पनीले बजार मूल्यभन्दा सुपथ मूल्यमा बिक्री […]

रुकुम पूर्वमा यस वर्ष गहुँ उत्पादनमा गिरावट

वैशाख २९, रुकुम पूर्व । रुकुम (पूर्व)मा यस वर्ष गहुँ उत्पादनमा गिरावट आएको छ । जिल्लाको मकैपछि दोस्रो प्रमुख खाद्यान्न बालीका रुपमा रहेको गहुँ उत्पादनमा गिरावट आउँदा कृषक समस्यामा परेका छन् ।  यस वर्ष जिल्लाभर ६ हजार ४६ दशमलव ४५ मेट्रिक टन गहुँ उत्पादन भएको छ । यो गत वर्षको तुलनामा ३८ प्रतिशतले कम उत्पादन भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुमले जानकारी दिएको छ । गत वर्ष नौ हजार ७५२ दशमलव ३४ प्रतिशत गहुँ उत्पादन भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले जानकारी दिए ।  गत वर्षको तुलनामा हेर्ने हो भने सिस्ने र पुथाउत्तरगंगा गाउँपालिकामा उत्पादनमा अलि बढी गिरावट आएको छ । भूमे गाउँपालिकामा भने उत्पादनमा धेरै गिरावट नआएको कृषि अधिकृत बस्नेतले बताए ।  जिल्लामा अहिले २० हजार २६५ हेक्टर क्षेत्रफल जमीन खेतीयोग्य रहेको छ । यसमा १६ हजार ३७० हेक्टर क्षेत्रफलमा विभिन्न प्रकारका खेतीपाती गरिएको छ । यसमा पनि तीन हजार २७२ दशमलव ६ हेक्टर क्षेत्रफल जमीनमा गहुँ खेती गरिएको कृषि अधिकृत बस्नेतले बताए ।  जिल्लामा सिँचाइको सुविधा नहुनु र आकाशबाट पनि पानी नपर्नु गहुँ उत्पादनमा कमी आउनुको मुख्य कारण रहेको कृषि कार्यालयले जानकारी दिएको छ ।  सिँचाइ सुविधा नहुँदा यहाँका कृषकले आकाशे पानीको भरमा खेती गरिरहेका छन् । जिल्लाको कूल खेतीयोग्य जमीनको सात हजार ५९३ हेक्टर क्षेत्रफल जमीनमा सिँचाइको सुविधा छ । योभन्दा अघिल्लो बाली मकै बालीमा पनि सलह किराले क्षति गरेको थियो ।  पानी नपरेर गहुँ बाली पनि राम्रो नभएपछि अहिले कृषक मारमा परेका छन् । यस्तै यहाँका कृषकले उन्नत जातको नभई परम्परागत रुपमा लगाउँदै आएको बीउँ छर्नाका साथै परम्परागत खेती प्राणालीलाई अँगाल्नुले पनि गहुँ उत्पादनमा कमी आएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका कृषि अधिकृत बस्नेतले बताए ।  मकैको बीउ अभाव रुकुम स् पूर्वमा मकैको बीउ अभाव भएको छ । जिल्लाका सबै ठाउँमा अहिले मकै रोप्ने चटारो चलिरहेको छ । लामो समयको खडेरीपछि परेको पानीले जमीन भिजेपछि मल बोक्ने र खेतबारी खनजोतमा व्यस्त भएका कृषक बीउ अभावले समस्यामा परेका छन् । जिल्लामै मकैको बीउ उत्पादन हुने गरेको छैन ।  बाहिरबाट बीउ आयात गर्ने गरिएकामा यस वर्ष आयात गर्न नसकिएको गाउँपालिकाले जानकारी दिएका छन् । सिस्ने गाउँपालिकाले यस वर्ष १५ क्विन्टल उन्नत जातको मकैको बीउ ल्याउने योजना बनाएको तर बीउ अभावले जिल्लामा मनकामना जातको आठ क्विन्टल मात्र भित्र्याएको गाउँपालिका कृषि शाखाका नायव प्राविधिक सहायक दिनेश ओलीले जानकारी दिए । सिस्ने गाउँपलिका–१ र २ मा सबैभन्दा बढी मकैको बीउ आवश्यक छ । १ र २ नं वडामा सलह किराले सबै मकै सखाप पारेपछि बीउसमेत उत्पादन नभएको त्यहाँका कृषकले बताएका छन् ।  सोही कुरालाई दृष्टिगते गर्दै १ नं वडामा दुई क्विन्टल र २ मा चार क्विन्टल मकैको बीउ पठाएको प्राविधिक सहायक ओलीले बताए । उनका अनुसार, सिस्ने–७ र ८ मा एकएक क्विन्टल मकैको बीउ पठाइएको छ ।  यस्तै, अन्य ३, ४, ५ र ६ नं वडामा भने हुरेड कार्स रुकुम –पूर्वले लगभग साढे आठ क्विन्टल मकैको बीउ वितरण गरेको छ । नेपालगञ्ज, सुर्खेत र चितवनमा सम्पर्क राख्दा पनि पर्याप्त मात्रामा बीउ आउन नसकेको गाउँपालिका कृषि शाखाले जानकारी दिएको छ ।  भूमे गाउँपालिकाले पनि यस वर्ष २० क्विन्टल मकैको बीउ ल्याउने तयारी गरेको थियो । कृषकको माग संकलन गरी २० क्विन्टल मकैको बीउ ल्याउने तयारी गरेको गाउँपालिकाले बीउ अभावमा ल्याउन नसकेको गाउँपालिका कृषि शाखाका नायव प्राविधिक सहायक शिखर विश्वकर्माले बताए । रासस

टेन्डर स्वीकृत नहुँदा मुगुका खाद्यान्न गोदाम रित्तै

मुगु-हिमाली जिल्ला मुगुमा ६ हजार क्विन्टल खाद्यान्न माग गरिए तापनि समयमै टेन्डर स्वीकृत नहुँदा खाद्यान्न आपूर्तिमा ढिलाइ भएको छ । गत भदौ ४ गते मुगुमा खाद्यान्न आपूर्तिमा माग गरे तापनि अझै आउन नसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुले जनाएको छ । कम्पनीका अनुसार यसअघि भदौ ४ गते खाद्य संस्थानले मुगु जिल्लाका लागि ४ […]