भक्तपुरका स्थानीय व्यवसायीलाई जुजु धौ (दही) बनाउन भ्याइनभ्याइ छ । असार १५(बुधबार) का दिन दही निकै खपत हुने हुँदा यतिबेला उनीहरुलाई काम सक्न हम्मेहम्मे छ । देशभर असार १५ का दिन दही चिउरा खाने चलन छ । यस्तैमा भक्तपुरको सैंजु जुजु धौ भण्डारका रामेश्वर सैंजु र उनका दुई जना भाउजु दही बनाउन व्यस्त छन् । उनीहरुले बुधबारका लागि मात्र ६ हजार लिटर दही तयार पारिसकेका छन् । दहीको माग अत्यधिक हुने हुँदा दुई दिनअघिदेखि नै असार १५ का लागि दही बनाउन सुरु गरेको उनले सुनाए ।