रविलाई राजेन्द्र लिङ्देनको प्रश्न : एक रुपैयाँ भ्रष्टाचार गरेको छैन भनेर मन्दिर छिर्ने तागत छ ?

२७ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री रवि लामिछानेको चर्को आलोचना गरेका छन् । आफूहरूको शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग गरेर तागत देखाएको भन्दै उनले यो दिन यादमा राखिराख्ने चेतावनी दिएका …

सम्बन्धित सामग्री

गृहमन्त्रीलाई लिङ्देनको चुनौती : एक रुपैयाँ भ्रष्टाचार गरेको छैन भन्ने तागत छ ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि आक्रोश पोखेका छन्।

गृहमन्त्रीलाई लिङ्देनको चुनौती : एक रुपैयाँ भ्रष्टाचार गरेको छैन भन्ने तागत छ ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि आक्रोश पोखेका छन्।

गृहमन्त्रीलाई लिङ्देनको चुनौती : एक रुपैयाँ भ्रष्टाचार गरेको छैन भन्ने तागत छ ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि आक्रोश पोखेका छन्।

उठ्नोस्, भ्रष्टाचार गर्नोस्

नेपालमा भ्रष्टाचारले संस्थागत रूप धारण गरिसक्या छ । लाखौं प्रयास गर्दा पनि नेपालमा भ्रष्टाचार कम हुनुको साटो झन् बढिरहेको छ, हरेक वर्ष नयाँ नयाँ सिढीहरू चढिरहेको छ । भ्रष्टाचारको रोग यसरी बढ्दै गइरहेको छ कि यो रोगबाट अब कोही पनि शायद अछूतो नहोला । देशकोे सबभन्दा सानो एकाइ वडादेखि प्रधानमन्त्री कार्यालयसम्म, पियनदेखि बडाहाकिमसम्म सबै भ्रष्टाचारको पन्जामा परेका छन् । विनाघूस आज सरकारी फाइल अगाडि बढ्नै सक्दैनन् । अपवादलाई छाडेर आज सर्वत्र भ्रष्टाचारको बोलवाला देखिन्छ । यसरी देशकै एउटा अभिन्न अंग बनिसकेको अवस्थामा भ्रष्टाचारलाई कसैले गलत भन्छ भने ऊ भ्रममा छ । किनकि भ्रष्टाचार त अजर अमर पो छ त । तर हिजोआज एकथरी मनिसहरू आन्दोलित हुन थालेका छन् सरकार र भ्रष्टाचारका विरुद्धमा, सरकार पनि बदल्ने र भ्रष्टाचार पनि समाप्त पार्ने भन्दै कोही सामाजिक अ–सामाजिक सञ्जालमा त कोही टिभीमा, कोही सडकमा त कोही होटल, रिसोर्टमा बसेर भ्रष्टाचारविरुद्ध आगो ओकलिरहेका छन् । तर सरकार भन्ने जन्तु रहेसम्म भ्रष्टाचार रहन्छ र भ्रष्टाचार रहेसम्म सरकार रहन्छ भन्ने तिनले नबुझेजस्तो छ । मलाई यी अबुझ आन्दोलनकारीहरूको अज्ञानप्रति दया लागेर आउँछ भन्या ! एक्काइसौं शताब्दीको नेपालमा भ्रष्टाचार नै असली शिष्टाचार हो भनेर किन नबुझेको होला ? यसको अभावमा न दल, न नेता, न सरकार न समाज नै चल्न सक्छ । मन्दिर र पूजामा समेत भ्रष्टाचार हुन्छ । अब देउताले त रोक्न नसकेको भ्रष्टाचार देउवाले किन र कसरी रोक्ने ? त्यही भएर देख्नुभएन पार्टीका कार्यक्रममा भ्रष्टाचारविरोधी नारा भएको ब्यानर राख्न नदिएको ? वास्तवमा भ्रष्टाचार कुनै भौतिक चीज नभई एक आध्यात्मिक र आत्मिक तत्त्व पो हो, जसको अभावमा कसैले पनि शान्ति प्राप्त गर्न सक्दैन । अनि तपाईंले गाली गर्दैमा भ्रष्टाचार समाप्त हुन्छ र ? त्यो त आफूले नपाएर गाली गरेको त हो नि, पाए बाँकी राख्नुहोला र ? वास्तवमा भ्रष्टाचारको एक हिस्सा तपाईं पनि र म पनि हो । हामीले कसैलाई चुनेर सांसद बनाउँदैमा हाम्रो जिम्मेवारी त्यहीँ सिद्धिन्छ र ? सिद्धिँदैन नि । तर हामी सांसद मन्त्रीलाई गाली गरेर जिम्मेवारी पूरा भयो भन्ठान्छौं । त्यसैले, हामीले भ्रष्टाचारको विरोध गर्नै हुन्न । विरोध गर्ने भए पहिले आफूलाई हेर्नुस् । जस्तै, सडकमा ट्राफिक पुलिस छैन भने तपाईं लेन मिचेर अगाडि बढ्नुहुन्छ नै । सरकारी अफिसमा जाँदा काम छिटो गराउन कर्मचारीलाई २/४ हजार अतिरिक्त पैसा तिर्न अघि सर्नुहुन्छ । आफ्नो काम बनाउन नेताकहाँ नगद र अनेक उपहार बोकेर जानुहुन्छ । जब कर चुक्ता गर्ने समय आउँछ, तपाईं अडिटर वा सिएलाई भनेर कहाँ कसरी कर नतिर्न सकिन्छ भनेर छिद्र खोज्नुहुन्छ । तपाईं घर वा फ्याक्ट्रीको बिजुलीको मिटरमा तार फसाएर मिटर ढिलो चलाउने तिगडम गर्नुहुन्छ । आफूलाई फाइदा हुन्छ भने नैतिक अनैतिक सबै उपाय अपनाउन खोज्नुहुन्छ । अनि भ्रष्टाचारको विरोध गर्ने नैतिकता तपाईं हामीसँग हुन्छ र ?  यदि हामी पौने तीन करोड नेपालीले आआफ्नो ठाउँमा बसेर भ्रष्ट आचरण नगर्ने हो भने, कतै पनि भ्रष्टाचार हुनै सक्दैन । तर के त्यसका लागि तपाईं, हामी तयार छौं र ?  जसरी एउटा अँध्यारो कोठामा एउटा सानो दियो बाल्नेबित्तिकै हजारौं वर्षदेखि व्याप्त अँधेरो निमेष भरमै गायब हुन्छ, त्यसरी नै घूसको दियो बाल्नेबित्तिकै तपाईंको अँधेरो भौतिक जीवनमा तत्काल उज्यालोले प्रवेश गरिहाल्छ । भ्रष्टाचारको मठ, मन्दिर वा गुम्बामा न जन्म हुन्छ, न निर्वाण । वास्तवमा भ्रष्टाचार मात्र यस्तो तत्त्व हो, जहाँ कहीँ कतै भेद रहँदैन । भ्रष्टाचारमा आफ्नो परार्ईको कुरा छाडौं, स्वयम् आफ्नै पनि होश रहँदैन । भ्रष्ट आचरणको परम अवस्थामा यति भेद पनि रहँदैन कि को बाउ हो को छोरा हो । भ्रष्ट अधिपतिको मन्दिरमा को म र को तँ ? वास्तवमा भ्रष्टाचारको तल्लीनतामा त भक्त भगवान् हुन्छ, भगवान् भक्त बन्छ । भ्रष्टाचारको तत्परतामा न कोही पुजारी हुन्छ, न कोही पूज्य हुन्छ । त्यहाँ केबल परम अनीति बाँकी रहन्छ । त्यहाँ त अन्यायको नाद बजिरहन्छ । त्यहाँ केवल द्रव्य अर्थात् डलर, रुपैयाँ आदि नै परम संगीत हुन्छ । बडो अलौकिक घडी पो हुन्छ त । जसरी घोर अँध्यारोमा चन्द्रमाको ज्योतिले बडो मनमोहक उज्यालो छरिरहन्छ, त्यसैगरी यो अपूर्व महासुखको क्षणमा नै सम्पूर्ण कष्टहरूको हरण गरिदिन्छ । त्यसैले, भ्रष्टाचारको यस्तो चन्द्रमणिलाई त बरु प्राणप्रणबाट रक्षा गर्नुपर्दछ । कार्यालयरूपी मन्दिरमा त झन् यसको प्राणप्रतिष्ठा एकदमै जरुरी हुन्छ । समस्त गर्भगृहदेखि लिएर कार्यालयरूपी मन्दिरको गजुर परिक्रमा स्थलसम्म भ्रष्ट आचरणको झण्डालाई साहसपूर्वक फहराइरहनु पर्दछ । त्यसैले म भन्छु, तपाईं भ्रष्टाचार विरोधी यी राजा हरिशचन्द्रका सन्तानहरूका कुरा नसुन्नुहोला । किनकि उनीहरू भन्छन् कि जन्मौंजन्मको कर्मबाट मात्र मीठो फल प्राप्त गर्न सकिन्छ । त्यसका लागि सत्मार्गमा चल्नुपर्छ, नीतिवान् बन्नुपर्छ, आदि आदि । तर त्यसो गरेर त यो एकबारको जुनीमा फल प्राप्त गर्न धेरै कठिन पो देखिन्छ त हौ ! जन्मौंजन्म लाग्न सक्छ । यसरी चाँडै फल लाग्नेवाला त छैन । अनि घर घडेरी कसरी जोड्ने ? सरर कार कहिले गुडाउने ? एउटा जीवन यत्तिकै सडाउने ? अहँ हुन्न !  म त भन्छु– साहस गर्नोस् घूसामृत पाउनका लागि । त्यो नगदमै हुनुपर्छ भन्ने छैन । त्यो कसैको शरीरको रूपमा हुन सक्छ, कारको रूपमा हुन सक्छ वा कोठीको रूपमा पनि । कुनै व्यापार व्यवसायको हिस्सा हुन सक्छ वा विदेश शयर । कुनै जमीनको टुक्रा तपाईंको नाममा दर्ता हुन सक्छ । कुनै सरकारी ठेक्का पनि पाउन सकिन्छ । यी सबै कुरा भक्षणयोग्य छन् । यो महान् कार्यमा अभक्ष्य र अपाच्य केही पनि छैन । यदि भ्रष्टाचारको शिष्टाचार अपनाउनुभो भने एक क्षणमै जीवन प्रकाशमय हुने घटना सम्पन्न हुन सक्छ, एक पलमै । जसरी एउटा अँध्यारो कोठामा एउटा सानो दियो बाल्नेबित्तिकै हजारौं वर्षदेखि व्याप्त अँधेरो निमेष भरमै गायब हुन्छ, त्यसरी नै घूसको दियो बाल्नेबित्तिकै तपाईंको अँधेरो भौतिक जीवनमा तत्काल उज्यालोले प्रवेश गरिहाल्छ । भ्रष्टाचारको मठ, मन्दिर वा गुम्बामा न जन्म हुन्छ, न निर्वाण । त्यहाँ त अलौकिक महासुख मात्र छ । तपाईं यो जडसूत्रवादी नीति, धर्म, सत्य आदिका चक्करमा आफूलाई अघि बढ्नबाट नरोक्नुहोस् । भ्रष्टाचार आधुनिक मानिसको आवश्यकता हो । अभीप्सा हो, हिम्मत हो, रस हो, तागत हो, प्रेम हो । आफ्नो जीवनलाई यो भ्रष्टाचारको आन्दोलनमा समाहित गरिहाल्नोस् । छिटो गर्नोस् । आउनहोस्, उठ्नुहोस्, भ्रष्टाचारको बाटोमा अघि अघि बढ्नुहोस् । यसैमा त छ सबैको सफलता र सबैको कल्याण पनि । ‘सबै धर्म त्यागेर मेरो शरणमा आऊ’ भनेर धर्मशास्त्रमै लेखिएको छ । त्यस्तै, नेपाली राजनीतिशास्त्रमा भने सबै आचरणको परित्याग गरेर भ्रष्टाचरणको शरणमा आऊ भन्ने छ । यत्ति कुरा चैं बुझ्नुस् है !

विशेष आलेख : सामाजिक सुरक्षा कोषका विसंगति

सामाजिक सुरक्षा कोषले नेपाल विकासशील देश हो, भविष्यमा धनी हुन्छ, बैंकको ब्याजका आधार रेट घट्छ अनि उसको प्रतिफल आकर्षक हुन्छ भन्छ । हाम्रो शासन प्रणाली यही हो भविष्यमा बैंकको ब्याजदर अझ बढ्ने हो कि ? यस्तो काल्पनिक तर्कले एक कामदारले दुःखले आर्जेको रकम सामाजिक सुरक्षा कोषले बर्बाद गरिदिँदै छ । अर्को पक्ष हेरौं, गाउँका इँट्टा भट्टामा सिजनमा मात्रै काम हुन्छ । त्यहाँका कामदार भारतीयसहित ग्रामीण क्षेत्रका नेपाली हुन् । उनीहरू १ वर्षमा करीब ३ महीना काम गर्छन् अनि कहाँ जान्छन्, के हुन्छ थाहा छैन । अब सामाजिक सुरक्षा कोष भन्छ, उनीहरू कोषमा आवद्ध हुनु पर्छ । एक त आबद्ध हुन नै अति कठिन छ । उनीहरूसँग भारतीय राजदूतावासको परिचयपत्र छैन । काठमाडौंमा गएर बनाउने तागत उनीहरूसँग छैन । मानौं, केही आबद्ध भइहाले भने पनि उनीहरूको ३ महीनाको सामाजिक सुरक्षा कोषको रकम काटियो । अब सिजन सकिएपछि उनीहरू घर जान्छन् । पुनः आउँदैनन् । अब उनीहरूले सामाजिक सुरक्षा कोषको रकम कसरी फिर्ता पाउने ? सामाजिक सुरक्षा कोष भन्छ, हामी फिर्ता दिन्छौं । उसको अफिस काठमाडौंमा छ । त्यो ३ महीनाको रकम लिन कामदार काठमाडौं जान सक्छ ? गएमा कति खर्च हुन्छ ? हाम्रो जस्ता अकर्मण्य कर्मचारीतन्त्र भएको देशमा ती कामदारले पैसा सहजै लिन सम्भव होला ? सबैले सोचौं, उसको पैसा त केही वर्षपछि सामाजिक सुरक्षा कोषले विविध आम्दानी बाध्ने भयो । यस्तो व्यवस्था पनि गर्नु हुन्छ ? सामाजिक सुरक्षा कोषले ऐनको आड देखाएर यस्तो अव्यावहारिक कार्य गर्नु भएन । सामाजिक सुरक्षा कोषमा आबद्ध कुनै कामदार/कर्मचारीको दुर्घटना भयो । उसले अघिल्लो महीनाको कोषमा बुझाउनुपर्ने रकम १५ दिनभित्र बुझाएको रहेछ भने मात्र उसको दुर्घटना बीमा पाउँछ । एउटा कामदारले कोषमा पैसा बुझाउने होइन । त्यो उसको व्यवस्थापनले गर्छ । १५ दिनभित्र सामाजिक सुरक्षा कोषमा पैसा बुझाउन सम्भव पनि छैन । नेपालको अवस्था त्यस्तै हो । अधिकांश उद्योग व्यवसाय घाटामा चलिरहेका छन् । भनेको बखत पैसा हुँदैन । बैंकले पनि दिँदैन । अब व्यवस्थापनले पैसा नबुझाएका कारण किन कर्मचारीले दुःख पाउने ? सामाजिक सुरक्षा कोष भन्छ, कानून नै त्यस्तो छ हामीले नबुझेको किन त्यस्तो अव्यावहारिक कानून बनाएको ? यस्ता अव्यावहारिक कानून तुरुन्त संशोधनका लागि सामाजिक सुरक्षा कोष कि लागेन ? यस अर्थमा कामदारको दुर्घटना बीमा पनि सुरक्षित छैन । नेपाल सरकारले ७० वर्ष उमेर पछि ज्येष्ठ नागरिक भत्ता दिन्छ । अझ एकल महिला तथा अपांगहरूलाई त ६५ वर्षमा नै दिन्छ । सरकारी नियम छ, पेन्सन वा अन्य कुनै भत्ता पाएको मानिसले विविध भत्ता पाउँदैन । अब सामाजिक सुरक्षा कोषमा आफै पैसा राख्ने, राखेको पैसाको न्यूनतम ब्याजभन्दा कम पेन्सन पाउने, पेन्सनका कारणबाट वृद्ध भत्ता नपाउने ? किन ६० र ६९ वर्षबीचको ९ वर्षलाई सुरक्षित हुन सामाजिक सुरक्षा कोषमा जाने ? यस्तो नियमले गर्दा कोही पनि सामाजिक सुरक्षामा जान इच्छुक हुँदैनन् । श्रीमान् श्रीमती कुनै काम गर्छन् र एक जना स्वर्गवास भए अर्कोले पेन्सन पाउँदैनन् । आफ्नो श्रीमान् वा श्रीमतीको जीवनभरको कमाइको पेन्सन नपाउनु के अपराध भएन र ? सामाजिक सुरक्षा कोष परिवारको वर्गीकरण पनि वैज्ञानिक छैन । यसले मातापितालाई कम प्राथमिकता दिएको छ, जो गलत हो । एक कामदारले सामाजिक सुरक्षा कोषमा जानभन्दा आफूले पाउने रकमको अन्यत्र नै बढी प्रतिफल आउने भए प्रतिस्पर्धाको आधारमा अन्यत्र जम्मा गर्न नपाउने व्यवस्था सम्पत्ति माथिको व्यक्तिको अधिकारको संवैधानिक हकको हनन् होइन ? मानौं, कुनै एक कामदार ६० वर्षमा सामाजिक सुरक्षा कोषको पेन्सन पाउने हकदार भयो । तर, उसको मृत्यु ६१ वर्षमा भयो र उसको श्रीमती रोजगारमै रहिछन् भने के त्यो कामदारको कोषमा रहेको रकम समाप्त भयो ? जटिल प्रश्न छ । यदि कुनै श्रीमान् श्रीमती दुवै सामाजिक सुरक्षामा आबद्ध भएको अवस्थामा दुवैमध्ये एकजनाको सम्पूर्ण योगदान उपभोग नगरी खेर जाने अवस्था छ । नेपाल सरकारको पेन्सन योजनामा त यस्तो छैन । सामाजिक सुरक्षा कोषमा कट्टी गरेको रकममा समेत आयकरको समस्या छ, सरकार किन यति अनुदार किन ? सामाजिक सुरक्षा कोषले दिने सापटी कामदारमैत्री र व्यावहारिक छैन किन ? सामाजिक सुरक्षा कोष कमजोर कानूनी धरातलमा उभिएको संस्था हो । भोलि कानूनको छिद्र समाएर सरकारले युवा स्वरोजगार कोषजस्तै यसलाई खारेज गरिदियो भने सम्पूर्ण कामदारहरूको भविष्य के हुने ? सामाजिक सुरक्षा कोषमा कामदारहरूले जम्मा १ प्रतिशतका दरले जम्मा गरेको करीब २५ अर्ब रुपैयाँ छ । त्यसको हिसाब आज सामाजिक सुरक्षा कोषसँग छैन । शरूमा जुन प्रयोजनको लागि यो रकम काटिएको थियो पछि नियम संशोधन गरेर अन्य प्रयोजनका लागि उपयोग गर्न पाइँदैन । सामाजिक सुरक्षा कोष निरीह छ । भोलि कामदारले कट्टा गरेकोमा पनि यस्तै भए के हुने हो ? सामाजिक सुरक्षा कोषले कानूनको डन्डा देखाएर दुईथरीका नागरिक उत्पादन गर्न थाल्यो सरकारी क्षेत्र र निजीक्षेत्र । काला र गोराजस्तो दुईथरी नागरिक उत्पादन गर्नु जायज हो ? सरकारी पेन्सन योजनासँग मिल्दोजुल्दो अवधारणा कोषले ल्याउनुपर्छ । अर्को समस्या, कुनै एक कामदारलाई पैसाको जरुरत पर्छ । ऊ १५ वर्षसम्म काम गर्‍यो भने उसको २० प्रतिशत रकम ६० वर्षसम्म पाउँदैन । ऊ १५ वर्षअघि नै नोकरीबाट राजीनामा दिनुपर्ने अवस्थामा पुग्छ, जसले गर्दा बेरोजगार बढ्नुका साथै संस्थाले योग्यतम कामदार गुमाउनुपर्ने अवस्थामा हुन्छ । जो राष्ट्रका लागि प्रत्युत्पादक होइन ? सामाजिक सुरक्षा कोष हामी हाम्रा सञ्चयकर्ताहरूलाई सुविधा थप्दै जाने छौं भन्छ । तर, त्यसको विश्वासनीय आधार के हो ? अहिले नै हाम्रो जम्मा भएको २५ अर्ब रकम कोषअन्तर्गत ल्याई बीउ पूँजीका रूपमा उपभोग गरेको भए कोषमा केही आकर्षण बढ्ने थियो । विभिन्न औद्योगिक प्रतिष्ठानमा कामदारहरूले सामूहिक सौदाबाजीको आधारमा उपदान रकम थपिरहेको परिप्रेक्ष्यमा सामाजिक सुरक्षा कोषले यो अधिकार हटाई दिएको अवस्थामा के कामदारहरूको भलाइ भयो त ? सामाजिक सुरक्षा कोषको मूल स्रोत श्रम ऐन २०७४ हो । अहिले कोषले श्रम ऐनविपरीत कार्य विधिका माध्यमबाट नयाँ व्यवस्था गरेको छ । त्यसको कानूनी हैसियत छैन । सामाजिक सुरक्षा कोषलाई समयसापेक्ष कामदार मैत्री र प्रतिस्पर्धात्मक बनाउन श्रम ऐन संशोधनको विकल्प छैन । सामाजिक सुरक्षा कोषमा आबद्ध हुने कुरालाई स्वैच्छिक र प्रतिस्पर्धात्मक बनाउनुपर्छ ।

बन्दबाट विकास अर्थात् बन्दोनोमिक्स

अब ढुंगागिटी बेचेरै धनी हुने रे । निर्यात हुने गरेको एउटै वस्तु अर्थात् देशभरिका युवा विदेश निर्यात भैसके । अनि खोप किन्न ढुंगै बेचेर भएनि पैसाको जोहो गर्नु परेन ? यो हो नि आर्थिक विकासको नेपाली मोडल । तर यो त अस्थायी मात्र हो । किनकि ढुंगागिटी त केही वर्षमा सकिन्छ । नेपालको विकासको स्थायी मोडल त अर्कै छ । फरक देशको फरक मोडल त हुन्छ नै । जनताको सन्दुकबाट जति बढी पैसा बाहिर आयो, देशको अर्थतन्त्र अझ बढी चलायमान हुन्छ भन्ने औजार बन्दोनोमिक्समा हुबहु लागू गरिएको छ । माओवादीको बन्दुकको कुरो किन सम्झिरहनु र, २०७२ कै केस काफी छ । जस्तै– अमेरिकाका तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनले अर्थतन्त्रमा नयाँ सूत्र निकालेका थिए । उनको इकोनोमिक्सलाई रेगनोमिक्स वा रेगनिज्म भनिन्छ । जापानका आबेको इकोनोमिक्सलाई आबेनोमिक्स भनियो । बेलायतमा थ्याचरिज्म थियो । सिको गर्ने कुरामा दक्षिणका दरबारियाहरू किन पछि परिरहन्थे र ? त्यहाँ अहिले मोदीनोमिक्स चलिरहेको छ । तर, त्यो पूँजीवादी धार भयो । साम्यवादीले त्यसलाई मान्ने कुरै भएन । त्यै भएर उत्तरका बादशाहका पण्डितहरूले चाहिँ विचारधारा वा पथ भन्ने शब्द झुन्ड्याउने गर्छन् । सी विचार भनेर उताका पण्डितहरूले यताका गुुरुभाइहरूलाई कहिले उतै बोलाएर त कहिले यतै आएर बेलाबेलामा गुरुमन्त्र पनि दिने गरेका छन् । तर, नेपालीहरूको मन त्यसमा किन लाग्थ्यो ? विश्वमा कसैको पनि उपनिवेश नभएको मुुलुकले अरूको अर्थशास्त्र पछ्याउने कुरै भएन । त्यै भएर देशमा पहिल्यैदेखि सबैभन्दा बढी चल्ने गरेको बन्द भन्ने शब्दमा इकोनोमिक्सको सन्धि गरेर बन्दोनोमिक्स भन्ने मौलिक आर्थिक मोडल तयार भएको छ । यसलाई सबैतिर बन्द गरेरै आर्थिक समृद्धि हासिल गर्ने मोडल भनेर बुझ्दा हुन्छ । जो सरकारमा भए पनि प्रतिपक्षमा भए पनि प्रयोग गर्न मिल्नेगरी यो आर्थिक मोडल स्थायी रूपमा फिक्स गरिएको छ । नामै वैज्ञानिक भएपछि बन्दोनोमिक्सको काम त झन् महावैज्ञानिक हुने नै भयो । बन्दोनोमिक्सको पहिलो प्रयोग कहिले भयो भन्नेमा विभिन्न मतमतान्तर भए पनि २०४६ सालको नाकाबन्दीबाट भने यसले बलियो स्वरूप पाएको हो भन्नेमा चाहिँ मतान्तर छैन । यसले बोर्डरको दुवैतिरका इधरउधरवालाहरूमा ठूलो आर्थिक समृद्धि ल्याउन सफल भएको थियो । त्यसपछि यस मोडलले व्यापकता लिएको हो । २०५० सालतिर मलेखुको पुल भत्केको खबर काठमाडौंमा फैलनासाथ मट्टितेलको भाउ एकैचोटि दोब्बर भएपछि यो मोडल अन्य घटनामा पनि सफल हुने रहेछ भन्ने प्रमाणित भयो । त्यसपछि आकाशमा बादल देखिए पनि भाउ दोब्बर, बाढीपहिरो गए पनि भाउ दोब्बर । इराकमा बम पड्के पनि, समुद्रतिर छाल छड्के पनि भाउ दोब्बर । तर भाउ दोब्बर तेब्बर जति भए पनि किन्ने ग्राहकको कहिल्यै कमी नहुनु बन्दोनोमिक्सको खास विशेषता हो । जनताको सन्दुकबाट जति बढी पैसा बाहिर आयो, देशको अर्थतन्त्र अझ बढी चलायमान हुन्छ भन्ने औजार बन्दोनोमिक्समा हुबहु लागू गरिएको छ । माओवादीको बन्दुकको कुरो किन सम्झिरहनु र, २०७२ कै केस काफी छ । त्यतिखेर रोटीबेटीवालाहरूले दानापानी बन्द गरे, ग्यासको भाउ १५ हजार रुपैयाँ पुग्यो । तर, न विक्रेताको कमी भयो न क्रेताकै कमी । रोटीबेटीबालाहरूको बोर्डर–धर्ना वर्षौं वर्ष जाओस् भनेर लविङ गर्ने ठूलै जमात थियो त्यस बेला । तर देशको समृद्धि नचाहनेहरूले बोर्डर खुला गरेर बन्दोनोमिक्सलाई ठूलै धक्का दिए । ‘तँ आँट, म पुर्‍याउँछु’ भनेझैं बन्दोनोमिक्सका माध्यमबाट आर्थिक समृद्धि ल्याउने कुरामा पोहोर देशले ठूलै फड्को मार्‍यो । महामारी नियन्त्रण गर्ने नाममा गरिएको लकडाउनका कारण यसले चम्कने मौका पाएको छ । गाडी बन्द भएपछि पास वितरण तथा ओसारपसार उद्योग स्थापना भयो । अनि १ हजार रुपैयाँ गाडी भाडा पर्ने ठाउँमा ८ हजार रुपैंयाको व्यापार हुन थाल्यो । प्लेन पनि नियमित उडान बन्द, चार्टर खुला । १० हजारले पुग्ने भाडा अब १ लाख । तरकारी, दाल, तेल, नून सबैतिर कहीँ दोब्बर, कहीँ तेब्बर बेरोकटोक व्यापार भएको भयै हुन थाल्यो । सटर बन्द भए पनि सटरको पछाडितिरबाट फोनबाट खुसुक्क हुने व्यापारमा कहीँ मन्दी आएन । दोब्बर पैसा तिरेपछि घरघरै सामान आइपुग्ने । बन्द वा लकडाउन जति टाइट गरे पनि व्यापारमा कुनै असर नपर्ने भएकैले यसलाई बन्दोनोमिक्स भनिएको हो । यही कारण सरकारले अर्थतन्त्र उकास्न यसैको सहारा लिएको छ । बजार भाउ पनि लकडाउनको स्तर हेरी तय हुन्छ । ठीक ठीकैको लकडाउन भनेपछि भाउ दोब्बर हुन्छ । कडा लकडाउन, चेकजाँच कडा भन्ने समाचार बाहिरिएपछि भाउ तेब्बर वा चौबर हुन्छ । जति कडा बन्द, उत्ति बढी आर्थिक गतिविधि र उत्ति नै बढी भाउ । गज्जब छैन त बन्दोनोमिक्सको नेपाली मोडल ? जति कडा बन्द भए पनि शेयर बजारको साँढे भने कुदेको कुद्यै गर्छ, साउन महीनामा झैं सधैं हरियोको हरियै हुन्छ । यो सबै बन्दोनोमिक्सकै त कमाल हो । बन्दको हजुरबाउ भनिने लकडाउनमा झन् मालामाल हुन्छ अर्थतन्त्र । पोहोरको लकडाउनको बेलामा मुलुकमा डबल डिजिटको आर्थिक वृद्धिदर हुन्छ भनेर डाक्टर खजाञ्चीले यही मोडललाई तथ्यांकसँग फिट गरेरै भनेका थिए । अघिपछि घटेको घट्यै हुने निर्यात व्यापार यही बन्दका बेला २० प्रतिशतले बढ्यो । तथ्यांकले नै बोलि सकेपछि बन्दोनोेमिक्स गलत छ भन्न छ कुनै माइकालालको तागत ? बन्दोनोमिक्स नबुझेका अल्पज्ञानीहरू यस्तो मोडलमा पैसा एकै ठाउँमा थुप्रिन्छ भन्ने चिन्ता गर्छन् । तर त्यसो होइन । आयको बाडफाँट बडो इमानदारीका साथ हुन्छ । बन्दको वातावरण तयार गरिदिने, बन्द गर्ने, गौंडा कुर्ने, सहजीकरण गरिदिने, संंरक्षण गर्ने सबैले बन्दोनोमिक्सबाट समानुपातिक लाभ लिइरहेका हुन्छन् । साम्यवादका अनुयायीहरू भएपछि समानुपातिक बाँडफाँटमा त लाग्नैपर्‍यो नि, कसो ? त्यसैले बरु आउनोस्, तपाईं हामी सबै मिली देशलाई थप समय बन्द गरौं वा गराऔं । बन्दमा फस्टाउने बन्दोनोमिक्सलाई अझ विस्तार गरौं र बन्दमार्फत समृद्धि हासिल गरौं । ‘लण्डन स्कुल अफ इकोनोमिक्स’लाई मात दिनेगरी ‘स्कुल अफ बन्दोनोमिक्स’ नै खोलौं । यसमै नोबेल पुरस्कार पनि पाइहालिन्छ कि ?