काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले मर्जरका लागि अन्तिम सम्झौता गरेका छन् । गत माघ २७ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका यी कम्पनीले चैत ५ गते अन्तिम सम्झौता गरेका हुन् । अब दुवै कम्पनीले विशेष साधारण सभामार्फत मर्जरको प्रस्तावलाई अन्तिम स्वीकृति प्रदान गरी एकीकृत कारोबारको तयारी गर्ने बताएका छन् ।
दुवै कम्पनीको डिडिए सम्पन्न भई पूर्वनिर्धारित सम्झौता अनुसारकै समान हैसियतमा गाभिने अन्तिम सम्झौता भएको बताइएको छ । नयाँ निर्जीवन बीमा कम्पनीको रूपमा सञ्चालित आइएमई जनरल इन्स्योरेन्सको चुक्तापूँजी रू. १ अर्ब ७० करोड १६ लाख ५१ हजार छ ।
प्रुडेन्सियल इन्स्योरेन्सको चुक्तापूँजी भने हाल रू. १ अर्ब १८ करोड ६१ लाख ४४ हजार छ । यो पूँजीको आधारमा ३ दशमलव ३२५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको छ । प्रस्तावित बोनससहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले चैत १६ गते वार्षिक साधारण सभा बोलाएको छ । बोनसपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २२ करोड ५५ लाख ८३ हजार पुग्नेछ ।