फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले राजनीतिबाट संन्यास लिने घोषणा गरेसँगै उक्त देशमा लोकरञ्जनवादी राजनीतिको एक अध्याय समाप्त हुन लागेको छ । सन् २०२२ को मध्यसम्म डुटेर्टेको कार्यकाल छ ।
फिलिपिन्सको संविधानले कुनै पनि व्यक्तिलाई ६ वर्षको राष्ट्रपतीय कार्यकाल चलाएपछि दोस्रोपटकका लागि उम्मेदवार बन्न रोक लगाएको छ । तर सत्तामा रहनका लागि डुटेर्टेले त्यसलाई छल्न प्रयास गरेका थिए ।
उनले आफ्ना भरपर्दा सहयोगी सांसद क्रिस्टोफर बोङ गोलाई राष्ट्रपति पदमा उम्मेदवारी दिन लगाउने अनि आफूले उपराष्ट्रपति पदमा लड्ने योजना बनाएका थिए...