प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन, ७ अर्ब ५ करोड बजेट विनियोजन

काठमाण्डौ – सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०८९/८० को बजेट संसदमा प्रस्तुत गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गरी रोजगारी सृजनाका लागि ७ अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।  बाझो जमिन पहिचान गर्दै स्थानीय सरकारसँग सहकार्य गरी बेरोजगारको सूचीमा सूचीकृत जनशक्तिलाई कृषिमा लगाउने सरकारको योजना छ । 

सम्बन्धित सामग्री

प्रधानमन्त्री रोजगार कार्यक्रम: झन् झन् फितलो

काठमाडौं। प्रधानमन्त्री रोजगार कार्यक्रम झन् पछि झन् फितलो बन्दै गएको देखिएको छ । चालू आर्थिक वर्ष (आव) २०८०/८१ शुरू भएको ४ महीना बित्न लाग्दा यो कार्यक्रमबाट एक हजार जनाले पनि रोजगारी पाएका छैनन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको यो कार्यक्रममार्फत सरकारले वार्षिक रूपमा धेरै जनालाई रोजगारी दिने बजेटमा उल्लेख गरेको छ । ८ लाख ८५ हजारभन्दा बढी बेरोजगार रोजगारी पाउने आशमा रोजगार केन्द्रमा सूचीकृत भएकोमा यो आवको (कात्तिक २० गते) अहिलेसम्म जम्मा ८०३ जनाले मात्रै रोजगारी पाएका छन् ।  न्यूनतम सय दिनको रोजगारी नपाएका १८ देखि ५९ वर्ष उमेरसमूहका नागरिकलाई रोजगारी प्रदान गर्ने गरी यो कार्यक्रम अघि सारिएको थियो । उक्त नसके ५० दिनको पारिश्रमिक बराबर निर्वाह भत्ता उपलब्ध गराउने सरकारले बताउँदै आएको छ । तर, चालू आवमा सरकारले अहिलेसम्म दिएको रोजगारीको अवस्था हेर्ने हो भने यो कार्यक्रम झन् पछि झन् फितलो बन्दै गएको देखिएको छ । चालू आव २०८०/८१ का लागि सरकारले गत जेठ १५ मा ल्याएको बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लाग ५ अर्ब ९४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । युवालाई मुलुकभित्रै अर्थतन्त्रमा आबद्ध गराउन यो कार्यक्रमलाई बजेट केन्द्रित गराइएको र यसै वर्षबाटै अर्थमन्त्री डा. प्रकाशशरण महतले यो कार्यक्रमको पुन: संरचना गरिने घोषणा गरेका थिए । प्रधानमन्त्री रोजगार कार्यक्रमको सचिवालयका अनुसार हालै पुन: संरचनाका लागि समिति बनेको छ तर त्यो समितिले मूर्तरूपमा काम अझै थालेको छैन । यस कार्यक्रमको सचिवालय हेर्ने उपसचिव शोभा पोखरेलका अनुसार यस आवमा पुन: संरचना गरिने छैन । यो वर्ष बजेटमा घोषणा गरिएअनुसार पुन: संरचनाका लागि प्रक्रिया अघि बढ्ने उनी बताउँछिन् । ‘चालू वर्षमा पुरानै तवरले आयोजनाहरूमा बजेट पठाउन थालिएको छ, अहिले पुन: संरचना गरेर अघि बढ्न गाह्रो छ,’ उनले भनिन् । ८ लाख ८५ हजारभन्दा बढी बेरोजगार रोजगारी पाउने आशमा रोजगार केन्द्रमा सूचीकृत भएकोमा अहिलेसम्म जम्मा ८०३ जनाले मात्रै रोजगारी पाएका छन् । अघिल्लोपटकको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने क्रममा तत्कालीन राष्ट्रिपति विद्यादेवी भण्डारीले यो कार्यक्रमलाई सबै तहको स्वामित्व हुने गरी पुन: संरचना गर्ने घोषणा गरेकी थिइन् । कार्यक्रमको पुन: संरचना भने हुन सकेको थिएन ।  उपसचिव पोखरेलका अनुसार अहिले पुन: संरचनाका लागि कार्यविधि, ऐन संशोधन गर्नुपर्ने हुनसक्छ । समितिले दिएको रायसुझावका आधारमा मात्रै आवश्यक व्यवस्था मिलाइने र अर्को वर्षबाट पुन: संरचना गर्न सकिने उनको भनाइ छ ।  हाल प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आयोजना छनोट गरेर पठाएका स्थानीय तहमा बजेट पठाइसकिएको छ । चालू आवका लागि बेरोजगार सूची दर्ता गर्ने स्थानीय तह ७३८ छन् भने अहिलेसम्म आयोजना सञ्चालन गर्ने स्थानीय तहको संख्या १३४ मात्रै छ । स्थानीय तहले आयोजना पठाउने क्रम जारी छ । आयोजना छनोट नगरसभाबाटै गरेर पठाउनुपर्ने भएकाले आउन ढिला भएको हुनसक्ने प्रधामन्त्री रोजगार कार्यक्रम सचिवालय हेर्ने अधिकारीहरूको बुझाइ छ ।  केपी शर्मा ओली नेतृत्वको सरकारले आव २०७५/७६ मा अघि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सानोतिनो काममै अर्बौं रकम सकिएको तथ्यले देखाउँछ । कार्यक्रम शुरू भएकै वर्ष अनुत्पादक क्षेत्रमा राज्य कोषको अर्बौं रकम दोहन भएको आरोप कार्यक्रमले खेपेको थियो । त्यो वर्ष बाँदर लखेट्ने, झार उखल्ने, गाईबस्तु धपाउनेजस्ता अनुत्पादक क्षेत्रमा अर्बौं खर्चिएको भन्दै आलोचना भएको थियो । गत आवसम्म पनि यो कार्यक्रमार्फत दीर्घकालीन रोजगारी सृजना हुन सकेको छैन । ससाना आयोजनामै राज्यकोषको पैसा खर्च भइरहेको छ । सरकारले यो कार्यक्रमका लागि यसअघि विभिन्न ५ आवमा ३८ अर्ब ७६ करोड रुपैयाँ छुट्ट्याएकोमा त्यसको उपलब्धिमाथि प्रश्न उठ्दै आएको छ ।  शुरुआती वर्ष (आव २०७५/७६) मै सरकारले यो कार्यक्रमका लागि ३ अर्ब १० करोड रुपैयाँ बजेट छुट्ट्याएको थियो । आव २०७६/७७ का लागि ५ अर्ब १ करोड बजेट छुट्ट्याइएको थियो । आव २०७७/७८ मा ११ अर्ब ६० करोड बजेट छुट्ट्याइएको थियो । आव २०७८/७९ का लागि १२ अर्ब बजेट छुट्ट्याइएको थियो । आव २०७९/८० का लागि सरकारले ७ अर्ब ५ करोड रुपैयाँ बजेट छुट्ट्याइएको थियो । विनियोजित बजेट प्रत्येक वर्ष प्राय: जसो खर्च भएको देखिन्छ तर उपलब्धि शून्य छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गरिएको खर्चमाथि पटकपटक महालेखा परीक्षकको प्रतिवेदनले समेत प्रश्न उठाउँदै आएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको असफलता

सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम अनुत्पादक भएको र दलका कार्यकर्तालाई पैसा खुवाउने मेसोमेलो बनाएको भन्दै आलोचना भइरहँदा यो कार्यक्रमलाई नेपाली कांग्रेस र एमाओवादीको सरकारले निरन्तरता दिएको छ । कार्यक्रममा पुन: संरचना गरिने भनिए पनि सरकारले त्यसतर्फ कुनै पहल थालेको छैन । वास्तवमा यो कार्यक्रम पुन: संरचना गर्नुभन्दा पनि खारेज नै गर्नु उपयुक्त देखिन्छ ।  सरकारले पुन: संरचना गर्ने भनी बजेटमा उल्लेख गरे पनि बजेट सार्वजनिक भएको ३ महीना बितिसक्दा पनि सरकार अन्योलमा देखिएको छ । पुन: संरचना गर्ने भन्नेबित्तिकै कसरी गर्ने भन्ने सामान्य खाका सरकारले तयार पार्नुपर्ने हो । बजेटमा कुनै पनि कार्यक्रम उल्लेख गर्नुको अर्थ त्यसको कार्यान्वयन कसरी गर्ने, त्यसको लक्ष्य र प्रणाली के, निर्णयकर्ता को हुनेजस्ता कुरा तय हुनु हो ।  प्रधानमन्त्री रोजगार कार्यक्रम नयाँ होइन, पुरानै हो । त्यसो हुँदा यसको समीक्षा बजेटमै हुनुपर्ने हो । के कति उपलब्धि भयो, उपलब्धि किन भएन र त्यसलाई कसरी उपलब्धिमूलक बनाउने हो त्यो बजेटमै आउनुपर्ने हो । तर, सरकारले त्यस्तो समीक्षा गरेको पाइँदैन । त्यसमा पनि पुन: संरचना गर्ने भन्ने उल्लेख भएपछि सम्बद्ध मन्त्रालयले त्यसको थालनी गर्नुपर्ने हो । यी कुनै पनि काम नहुँदा यो बेवारिसे कार्यक्रम बन्ने हो कि भन्ने देखिन्छ । सरकारले शुरू गरेका धेरै कार्यक्रम यस्तै भएका छन् । एउटा उद्देश्य र लक्ष्य लिएर कार्यक्रम ल्याइन्छ तर त्यसलाई बीचमै छाडिन्छ । सरकार फेरिएपछि त्यस्तो कार्यक्रम हटाउने साहस पनि गर्दैन र त्यसको प्रभावकारी कार्यान्वयनमा पनि चासो दिँदैन । प्रधानमन्त्री रोजगार कार्यक्रम पनि त्यस्तै हो । केही स्थानीय तहले राम्रै काम नगरेको पनि होइन तर अत्यधिकले सामान्य काममा नै बजेट सके । त्यसले न बेरोजगारीको समस्यालाई सम्बोधन गर्‍यो न अर्थतन्त्रमा कुनै उल्लेख्य उपलब्धि नै दियो । तैपनि सरकारले यही कार्यक्रमका लागि विदेशी ऋण पनि उठायो । उत्पादकत्व नदेखिएको यस्तो कार्यक्रमका लागि लिइएको ऋण कसरी तिर्ने भन्ने सोचसमेत सरकारमा देखिएन ।  यस्तै हचुवा कार्यक्रमको फेहरिस्त बनाउने गरेकै कारण बजेट कार्यान्वयन सफल हुन नसकेको हो । यो तथ्य बजेट निर्मातालाई थाहा नभएको पनि होइन । तर पनि उनीहरू यसमा सुधार ल्याउन त्यति इच्छुक देखिएका छैनन् । यसको मूल कारण नै कर्मचारी यन्त्र र राजनीतिक नेतृत्वमा जिम्मेवारी र उत्तरदायित्व नहुनु हो । शुरूदेखि नै विश्व बैंकको सहयोगमा सञ्चालित यो कार्यक्रम वितरणमुखी भएको भन्दै विवादमा परेको थियो तर पुन: संरचनाको रटान सरकारले लगाउँदै आएको छ । यो भनेको के हो र कसरी गर्ने हो भन्ने कुरा कतै पनि स्पष्ट उल्लेख छैन ।  संविधानको मौलिक हकमा रोजगारीको हकको व्यवस्था गरिएको छ । तर, संविधान निर्माण गर्दा यसलाई कार्यान्वयनयोग्य बनाउनुभन्दा पनि सबै राम्रा विषय समेटिएको र निकै अग्रगामी बनाउन बढी जोड रहेकाले यसमा राज्यले तत्काल गर्नै नसक्ने काम पनि परेका छन् । रोजगारीको हक त्यस्तै हो ।  सबैलाई रोजगारी दिन नसकेपछि न्यूनतम ५० दिनको पारिश्रमिक बराबर भत्ता उपलब्ध गराउने लक्ष्यका साथ कार्यक्रम शुरू गरिएको थियो । यसका लागि अघिल्लो सरकारले क्रमश: बजेट बढाउँदै लगेको पनि थियो तर वर्तमान सरकारले घटाएको छ । आव २०७८/७९ मा यस कार्यक्रमका लागि १२ अर्ब रुपैयाँ विनियोजन गरिएकामा २०७९/८० मा ७ अर्ब र २०८०/८१ मा करीब ६ अर्ब बजेट विनियोजन गरिएको छ ।  यसरी रकम घटाउनुभन्दा कि त कार्यक्रम नै बन्द गर्नु उपयुक्त हुन्छ कि त प्रभावकारी कार्यान्वयन । तर, कार्यक्रम पनि हटाउन नसक्ने र प्रभावकारी पनि बनाउन नसक्ने हो भने सरकार लाचार भएको पुष्टि हुन्न्छ ।

प्रभावकारी भएन प्रधानमन्त्री रोजगार कार्यक्रम

बर्सेनि करोडौं बजेट विनियोजन हुने प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी हुन सकेको छैन । प्रत्येक स्थानीय तहले वडामा बेरोजगारहरूलाई आवेदन दिन लगाउँछन् र कामदार छनोट गर्छन् । कामदार छनोटकै विषयमा पनि पटकपटक विवाद हुँदै आएको छ ।

बेनी नगरपालिकामा योजना थपिए

म्याग्दी । बेनी नगरपालिकाको १०औं नगरसभाबाट चालू आर्थिक वर्ष २०७८/७९ का लागि वडास्तरमा १० योजना थपिएका छन् ।  यसअघि गत असारमा सम्पन्न सभाबाट ३०८ ओटा पूर्वाधारसम्बन्धी योजना र १६२ ओटा कार्यक्रमका लागि २३ करोड २६ लाख ८५ हजार विनियोजन गरिएको थियो । दश योजनाका लागि ८० लाख विनियोजन गर्ने र १२ योजना संशोधन गर्ने प्रस्ताव नगरसभाले पारित गरेको छ । ‘दशओटै वडामा आठ–आठ लाखका दरले एक–एक योजनाका लागि बजेट विनियोजन गरिएको छ,’ बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले भने, ‘वडा समितिले सिफारिस गरेका आठ तथा प्रधानमन्त्री रोजगार कार्यक्रम र सामाजिक विकासतर्फ दुई–दुई योजना संशोधन भएका छन् ।’      सभाले बेनी नगरपालिका–४ सिंगा तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालन गर्न १० लाख विनियोजन गरेको छ । सभाले चालूतर्फको ४५ करोड ८१ लख १० हजार र पूँजीगततर्फको २४ करोड ९६ लाख ६१ हजार संशोधित बजेट पारित गरेको छ । हालसम्म चालूतर्फको १६ करोड ८५ लाख चार हजार (३७ दशमलव ८५) र पूँजीगततर्फ दुई करोड ९५ लाख ३५ हजार (१२ दशमलव ४८) प्रतिशत बजेट खर्च भएको प्रगति विवरण नगरप्रमुख हरिकुमार श्रेष्ठले प्रस्तुत गरे । यस वर्ष बजेट विनियोजन भएकामध्ये ३० योजना सम्पन्न र ४३ सम्झौता भइसकेका तथा अन्य कार्यान्वयनको चरणमा छन् । कुल चार करोड १२ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको बेनी नगरपालिकाले पुस २५ गतेसम्म एक करोड ६९ लाख २९ हजार (४१.०९) प्रतिशत राजस्व संकलन गरेको छ । २ लाखभन्दा कम बजेटका योजना वडामै सम्झौता, १० लाखभन्दा कम बजेटका योजना उपभोक्ता समिति र सोभन्दा बढी बजेटका योजना निर्माण व्यवसायीमार्फत कार्यान्वयन गर्ने नगरपालिकाले नीति लिएको छ । रासस

बजेटमा श्रम रोजगार : श्रम मन्त्रालयलाई १४ अर्ब बजेट, यस्ता छन् कार्यक्रम

काठमाण्डौ –आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई १४ अर्ब बजेट विनियोजन गर्नुभएको छ । बजेटले बेरोजगारलाई रोजगारी सृजना गर्नेदेखि सीप तालिम र सामाजिक सुरक्षाका कुरा समेटेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम गएका वर्ष झैँ सरकारले यस आउँदो वर्ष...

प्रत्येक क्षेत्रमा गम्भीर अध्ययन गरेर मात्रै बजेट ल्याऊ

कोरोना महामारीबीच सरकार आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको अन्तिम तयारीमा जुटिरहेको छ । अबको दिनमा बजेटमार्फत सरकारले लिनुपर्ने नीति, पुनरुत्थानका कार्यक्रमका साथै चालू बजेटको कार्यान्वयन अवस्थाबारे नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतसँग आर्थिक अभियानका विजय दमासेले गरेको कुराकानीको सार : मुलुक कोरोना महामारीको चपेटामा रहेको बेला सरकारले आगामी आर्थिक वर्षका लागि बजेट बनाइरहेको छ ? आउँदो बजेट कस्तो हुनुपर्ला ? गतवर्ष बजेट निर्माणको बेला कोरोना महामारीकै थियो । यस वर्ष पनि त्यही अवस्थाका बीच सरकारले बजेट बनाउनुपर्ने अवस्था छ । अघिल्ला वर्षहरूमा जसरी बजेट बनाइन्थ्यो, मुलुकले कोरोना संक्रमणको अवस्था सामना गरिरहँदा त्यो प्रवृत्तिमा सुधार गर्नु जरुरी छ । सरकारले प्रचारात्मक कार्यक्रम राखेर बजेट ल्याउनु हुँदैन । ठूला लक्ष्य राखेर बजेटको आकार बढाउने समय पनि यो होइन । मुलुकलाई अहिले यथार्थपरक बजेट चाहिएको छ । बजेट निर्माण गर्दा खासगरी कार्यान्वयनको क्षमतालाई समेत ध्यानमा राखिनुपर्छ । प्रत्येक क्षेत्रमा गम्भीर अध्ययन गरेर ल्याइएको बजेट मात्रै कार्यान्वयनमुखी हुन सक्छ । दिगो आर्थिक विकासको मूल लक्ष्य राखेर कोभिड प्रभावित अर्थतन्त्रको  पुनरुत्थान हुनेखालको बजेट ल्याइनुपर्छ । बजेट वितरणमुखी हुनुहुँदैन । प्रत्येक क्षेत्रमा बजेट छुट्यायाइनु अघि सम्बन्धित क्षेत्रसँग गम्भीतापूर्वक छलफल गरी वास्तविक तथ्यांकको अध्ययन गर्नुपर्छ । जहाँ आवश्यक छ, जहाँ संकट छ, त्यस्तो क्षेत्रमा बजेट छुट्याइनुपर्छ । सरकारले ल्याउने बजेट उपलब्धिमूलक हुनुपर्छ । जहाँबाट बढी प्रतिफल निस्कन्छ, आयआर्जनका अवसर सृजना गर्न सकिन्छ, त्यस्तो क्षेत्रमा ठूलो बजेट विनियोजन गर्नुपर्छ । राष्ट्रिय आय बढाउने क्षेत्रमा आवश्यक मात्रामा बजेट छुट्याउन सके त्यो सार्थक हुन्छ । राहत, आर्थिक पुनरुत्थान, पूर्वाधारको क्षेत्रमा आगामी बजेट केन्द्रित गराउनुपर्छ । सरकारले आगामी साउनदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम तलब बढाएको छ । अहिलेको अवस्थामा यो जरुरी थियो ? महामारीले मुलुक आक्रान्त भइरहेको बेला मुलुकको स्रोत, साधन र क्षमताको अध्ययन नगरी, सम्बन्धित पक्षसँग छलफलविनै यस्तो निर्णय गर्नु उचित होइन । खासगरी दक्षिण एशियाली देशहरूमध्ये नेपालमा सामाजिक सुरक्षामा सबैभन्दा बढी अर्थात् जीडीपीको ४ प्रतिशत खर्च भएको छ । सामाजिक सुरक्षाका नाममा आर्थिक सहायता समेत वितरण हुँदै आएको छ । त्यस्तो सहायता आयस्रोत नभएका र विपन्नलाई दिइनुपर्छ । सबैलाई सामाजिक सुरक्षा बाँड्ने होइन, सामाजिक सुरक्षा वृद्धि गर्नुपर्ने अवस्था नै आएको हो भने पनि मूल्यवृद्धि दरको आधारमा गरिनुपर्छ । खासगरी आयआर्जन नभएका व्यक्तिहरूलाई यस्तो भत्ता दिइनुपर्छ । श्रमिकको पारिश्रमिकको सम्बन्धमा दक्षिण एशियाका अन्य देशसँग तुलना गर्दा भारत र बंगलादेशको भन्दा पनि नेपालमा सबैभन्दा बढी छ । सरकारले न्यूनतम पारिश्रमिक निर्धारण गरेर निर्णय गर्नुअघि सरोकारवालासँग छलफल गरेर सहमति गराउनुपर्ने थियो । विनामापदण्ड, सरोकारवालाबीचको छलफलविना सस्तो लोकप्रियताका लागि पारिश्रमिक वृद्धि गरिँदा मूल्यवृद्धि हुनेदेखि यसको कार्यान्वयन नै नहुने अवस्था आउन सक्छ । आगामी बजेटमा सरकारको प्राथमिकतामा हुनुपर्ने के हो ? कोरोना महामारीका बेला सरकारले बजेट बनाउँदै गर्दा स्वास्थ्य क्षेत्रलाई विशेष जोड दिनुपर्छ । आइसोलेसन, बेड, अक्सिजनको समयमै व्यवस्थापनबारे बजेटमा सोच्नुपर्ने देखिन्छ । स्वास्थ्य पूर्वाधारतर्फ पनि सरकारले पूँजीगत बजेट वृद्धि गर्नुपर्छ । अहिले महामारीसँग जुझ्न भन्दै दातृ निकायहरूले समेत ठूलो आर्थिक सहयोग गरिरहेका छन् । आगामी बजेटले त्यस्तो बजेट चुहावट नहुनेगरी खर्च गर्न आवश्यक नीतिहरू अख्तियारी गर्नुपर्छ । ग्रामीण क्षेत्रमा भौतिक संरचना र सामाजिक पूर्वाधार विकासका लागि सरकारले उचित बजेट छुट्याउनुपर्छ । त्यस्तै, सूचना प्रविधिको क्षेत्रमा पनि सरकारले बजेटमा प्राथमिकतामा राख्नुपर्छ । कोभिडका कारण धेरैको रोजगारी संकटमा छ । त्यस्ता वर्गलाई बजेटले कसरी सम्बोधन गर्नुपर्ला ? कोरोना महामारीलाई विश्वलाई आक्रान्त पारिरहेको छ, जसकारण धेरै मानिसको रोजगारी संकटमा परेको छ । यो गम्भीर संकटलाई व्यवस्थापन गर्न सरकारले तत्परता देखाउनुपर्छ । जो अत्यन्त गरीब छन्, मजदूरी गरेर जीविका चलाउनुपर्ने छन्, त्यस्ता वर्गलाई सरकारले तुरुन्त निश्चित मापदण्डको आधारमा राहतको व्यवस्था गर्नुपर्छ । कोरोनाले संकटमा पारेको पर्यटन, उद्योग जस्ता क्षेत्रमा काम गर्ने धेरै श्रमिकको रोजगारी खोसिएको छ । उनीहरूका लागि सरकारमा प्याकेज ल्याउनुपर्छ भने कोभिडको मारमा पारेका उद्योगहरूको पुनरुत्थान गर्ने खालको कार्यक्रम समेत ल्याउनुपर्छ । बन्द गर्नुपर्ने क्षेत्रमा मात्र निषेधाज्ञा गरेर रोजगारी सृजना गर्न सक्ने क्षेत्रलाई स्वास्थ्य मापदण्ड पालना गराएर सञ्चालन हुन दिनुपर्छ, जसले गर्दा आयआर्जनका अवसर घट्न पाउँदैन । प्रधानमन्त्री रोजगार कार्यक्रम पनि सरकारले अघि बढाइरहेको छ । यस्ता कार्यक्रमलाई प्रभावकारी हिसाबले कार्यान्वयनमा लगेर रोजगारी सृजनामा ध्यान दिनुपर्छ । आगामी बजेटमा सरकारले लिने करका दर र राजस्व नीति कस्तो हुनुपर्ला ? जहाँ कर बढाएर आर्थिक गतिविधि घटेको छ, त्यस्तो ठाउँको करका दर नियन्त्रण गर्नुपर्छ । कोरोना महामारीले थलिएको अर्थतन्त्रको पुनरुत्थान हुने खालका करका नीतिहरू लिनुपर्छ । यस्तो बेला निजीक्षेत्रलाई पेल्ने खालको करका दर तथा राजस्वका नीतिहरू सरकारले अंगीकार गर्नुहुँदैन । करमा रहेको दोहोरोपन हटाउनुपर्छ भने कोरोनाबाट असर परेका क्षेत्रहरूलाई कर तिर्न सहुलियतदेखि कर छूटसम्मको नीति सरकारले आगामी बजेटमार्फत लिनुपर्छ । उद्योग व्यवसायमा पूँजीको समस्या छ भने सरकारले त्यतातर्फ पनि ध्यान दिनुपर्छ । अहिले नेपालमा ऊर्जा उत्पादन बढिरहेको छ । त्यसको खपतका लागि विद्युतीय सवारीसाधनको प्रयोग बढाउन  प्रोत्साहन गर्नेखालको करको दर निर्धारण गर्नुपर्छ । कोरोनाबाट प्रभावित साना तथा मझौला व्यवसायलाई सरकारले कसरी सम्बोधन गर्नुपर्छ ? साना तथा मझौला व्यवसायीका लागि राष्ट्र बैंकले मौद्रिक नीतिमा समेत ब्याजहरू छूट दिनेसम्बन्धी घोषणा गरिसकेको अवस्था छ । सरकारले यससम्बन्धी थप अध्ययन गरी आवश्यकताको आधारमा छूटहरू दिनुपर्छ । जो पीडित र अप्ठ्यारोमा छन्, उनीहरूका लागि मात्रै सरकारले राहत दिनुपर्छ । सरकारले लिएका नीतिहरूबाट दुरुपयोग हुने अवस्था आउन दिनुहुँदैन । ‘आफ्नो मान्छे र राम्रो मान्छे’को आधारमा नभई निश्चित मापदण्डका आधारमा साना तथा मझौला व्यवसाय गर्नेहरूलाई  विभिन्न सहुलियत दिनेगरी आवश्यक नीतिहरू अख्तियारी गर्नुपर्छ । पछिल्लो समय बजेट घाटा बढ्दो छ । ऋणको अंश समेत बढेको देखिन्छ ? यसलाई कसरी हेर्नुभएको छ ? सरकारले ठूलो आकारको बजेट ल्याउँदा बजेट घाटा बढ्न पुगेको छ । सोहीकारण मुलुकलाई आन्तरिक तथा बाह्य ऋणको भार बढेको छ । म अर्थमन्त्री हुँदा आन्तरिक ऋण जीडीपीको २ प्रतिशतभन्दा बढी उठाइएको थिएन । तर अहिले ५–६ प्रतिशतसम्म आन्तरिक ऋण उठाउने लक्ष्य राखिएको छ । बाह्य ऋण पनि त्यसरी नै बढाइएको छ । आन्तरिक तथा बाह्य ऋणबाट कुल खर्चको झण्डै ३६ प्रतिशत स्रोत जुटाउने लक्ष्य बजेटमा राखिएको छ, जब कि विगतमा यो १६/१७ प्रतिशतभन्दा बढी हुँदैनथ्यो । बजेटको आकार जति बढाइयो, राष्ट्र ऋणको बोझ उति बढ्ने हो । ५ वर्षअघि अर्थमन्त्रीबाट म मुक्त हुने बेलामा तिर्न बाँकी राष्ट्रिय ऋण जीडीपीको करीब २५ प्रतिशत थियो । अहिले त्यो बढेर ३८–३९ प्रतिशत पुगेको छ । अत्यधिक ऋण बढाएर बजेट ठूलो बनाउने, जथाभावी खर्च गर्ने, पूँजीगत खर्चमा होइन, चालू खर्च अनियन्त्रित बनाउनेतर्फ सरकारको ध्यान देखियो । यसरी सरकारले मनपरी बजेट बनाउनु हुँदैन । ऋण जति बढाइयो, भावी पुस्तालाई उति नै बोझ बढ्ने हो । यसमा सरकार गम्भीर हुन जरुरी छ । चालू खर्च अनियन्त्रित बन्दै जानुको कारण के होला ? मुलुकमा तीन तहको सरकार रहेर उनीहरूले आआफ्नो अधिकार, जिम्मेवारी पाएको अवस्था छ । कतिपय ठाउँमा ‘डुब्लिकेशन’को समस्या छ । प्रदेशले गर्ने काम पनि केन्द्रले गर्ने, स्थानीय तहले गर्ने काम पनि प्रदेश, केन्द्रले गर्दा दोहोरोपन आइरहेको छ । यसले चालू खर्च ह्वात्तै बढाइरहेको छ । यसकारण पनि प्रशासनको पुनःसंरचना हुन जरुरी छ । प्रशासनिक पुनरवलोकन आयोगले दिएको रिपोर्टलाई पनि सरकारले सही रूपमा कार्यान्वयन गरेको देखिन्न । त्यसलाई कार्यान्वयन गरी दोहोरोपन भएका कार्यालय, मन्त्रालयभित्रका शाखा, महाशाखा, कर्मचारीको दरबन्दीमा हेरफेर गर्न जरुरी छ । यसले चालू खर्च नियन्त्रणमा ठूलो सहयोग पुग्छ । त्यस्तै, सरकारले राजनीति स्वार्थ पूरा गर्न सामाजिक सुरक्षाका नाममा विभिन्न भत्ता, तलब सुविधा वृद्धि गर्ने, विभिन्न निकाय, समिति बनाउने गरेको छ । त्यसले खर्च बढाउने गरेको छ । मुलुकको स्रोत, साधन, क्षमता नहेरी विनाअध्ययन गरिने यस्ता गतिविधि रोकियो भने पनि चालू बजेट अनियन्त्रित हुने थिएन । पूँजीगत खर्च यो वर्ष पनि निराशाजनक देखियो । किन र कहाँ कमजोरी भयो ? खासगरी पूँजीगत क्षेत्रमा बजेट बनाउँदा नै कम राखिएको थियो । त्यो बजेट पनि राम्रोसँग खर्च हुन सकेको छैन । जति खर्च भएको छ त्यो पनि दक्षतापूर्ण ढंगबाट खर्च भएको छैन । र, त्यसको प्रतिफल अत्यन्त कम छ । विगत्मा भएका यस्ता कमीकमजोरीलाई गम्भीर अध्ययन गरी बजेट बनाइनुपर्छ । बजेट खर्च गर्न सरकारको इच्छाशक्ति पनि हुन जरुरी छ भने बजेट खर्चमा देखिएका अवरोधहरूलाई सरकारले सम्बोधन गरेको देखिन्न । कहाँकहाँ सधार्नुपर्ने हो, नीतिगत रूपमा सम्बोधन गरेर अघि बढ्नुको विकल्प छैन । अर्कोतर्फ, विगतमा शुरू भएका हजारौं रणनीतिक आयोजनाहरू सरकारले जिम्मेवारी लिन नसक्दा अलपत्र परेर बसेका छन् । विगत्का सरकारले अघि बढाएका सडक, पुल, सिँचाइ, खानेपानी जस्ता पूर्वाधारका आयोजना यो सरकारले अघि बढाएको छैन । संघीयता आउनुअघि घोषणा गरिएका त्यस्ता ५/७ हजार आयोजना अघि बढाउनुपर्नेमा अलपत्र परेका छन् । अधिकांश आयोजना केन्द्रको अधिकारभित्र नपर्ने र स्थानीय तहभित्र पर्ने भन्दै सरकारले त्यस्ता आयोजना अघि नबढाउनु गलत हो । पहिला केन्द्रले नै शुरू गरेका आयोजनाहरू केन्द्रबाटै निर्माण सम्पन्न गरिनुपर्छ । केन्द्रले नसक्ने नै हो भने पनि विधिवत् रूपमा प्रदेश र स्थानीय तहलाई रकम विनियोजन गरी हस्तान्तरण गरिनुपर्छ । नयाँ आयोजना शुरू गर्नुभन्दा अघि त्यस्ता चालू आयोजना सम्पन्न गर्न बजेटमार्फत सरकारले अग्रसरता लिनुपर्छ । स्रोतविनाका नयाँ आयोजनाहरू घोषणा गरेर सस्तो लोकप्रियता कमाउनेतिर ध्यान दिनु भएन । नयाँ आयोजना नै शुरू गर्नु छ भने विस्तृत अध्ययन गरेर दिगो विकासमा योगदान दिने खालका, प्रतिफल हेरेर र स्रोत सुनिश्चित गरेर मात्रै अघि बढाउनुपर्छ । कोरोना महामारीले आर्थिक व्यावसायिक गतिविधि सुस्ताएको बेला यस वर्ष ४ प्रतिशत हाराहारीमा आर्थिक वृद्धिदर हासिल हुने दाबी सरकारी निकायबाटै गरिएको छ ? सम्भव देख्नुहुन्छ ? यो सरकारले ल्याएको बजेट कार्यान्वयनमुखी कुनै पनि भएको छैन । चालू आवमा साढे ७ प्रतिशतले आर्थिक वृद्धिदर हुने घोषणा बजेटमार्फत गरिएको थियो । तर अहिले ४ प्रतिशत वृद्धिदर हुने भनिएको छ । त्यो पनि हुँदैन । अहिलेको अवस्थामा २–३ प्रतिशतभन्दा बढी हुने अवस्था छँदै छैन । यसरी हचुवाको भरमा भ्रम छर्न बजेटमा महत्त्वाकांक्षी लक्ष्य राख्नुको तुक छैन ।

कर्णालीमा तीन अर्बका रोजगार कार्यक्रम

जुम्ला-कोरोना महामारीपश्चात तीनै तहका सरकारले रोजगारीलाई प्राथमिकता दिएर बजेट विनियोजन गरे पनि पहिलो चौमासिकमा लक्ष्यअनुसार बजेट खर्च हुन सकेको छैन । लाखौं बेरोजगारलाई आंशिक रोजगारी दिने उद्देश्यले संघीय सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम र प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्दै आएका छन् । कोरोनापछि रोजगारका कार्यक्रम धमाधम हुनु सकेन । यद्यपि, कर्णाली प्रदेश सरकारले चालू […]

रोजगार कार्यक्रमका लागि ३ करोड ३९ लाख ५० हजार बजेट

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दाङमा चालू आर्थिक वर्ष २०७६-०७७ का लागि ३ करोड ३९ लाख ५० हजार रुपैयाँ विनियोजित भएको छ । जिल्लाका ९ वटा स्थानीय तहलाई यो रकम विनियोजन गरिएको छ । १ वटा स्थानीय तह भने बजेट विनियोजन गरिएको छ । जिल्लामा २ उप महानगरपालिका १ नगरपालिका र ७ गाउँपालिका रहेका छन् ।

३ लाख रोजगारीका लागि स्थानीय तहमा ५ अर्ब जादैँ

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमइपी) मार्फत ३ लाख बेरोजगार युवालाई न्यूनतम रोजगारी दिने लक्ष्यसहित ५ अर्ब १ करोड रुपैयाँ स्थानीय तहमा पठाउने तयारी गरेको छ । चालू आर्थिक वर्षको रोजगार कार्यक्रमअन्र्तगत ७५३ स्थानीय तहमा पुसको अन्त्यसम्म छनोटमा परेका परियोजनामार्फत रोजगारी दिन सो बजेट विनियोजन गर्न लागेको हो ।