बेनी नगरपालिकामा योजना थपिए

म्याग्दी । बेनी नगरपालिकाको १०औं नगरसभाबाट चालू आर्थिक वर्ष २०७८/७९ का लागि वडास्तरमा १० योजना थपिएका छन् ।  यसअघि गत असारमा सम्पन्न सभाबाट ३०८ ओटा पूर्वाधारसम्बन्धी योजना र १६२ ओटा कार्यक्रमका लागि २३ करोड २६ लाख ८५ हजार विनियोजन गरिएको थियो । दश योजनाका लागि ८० लाख विनियोजन गर्ने र १२ योजना संशोधन गर्ने प्रस्ताव नगरसभाले पारित गरेको छ । ‘दशओटै वडामा आठ–आठ लाखका दरले एक–एक योजनाका लागि बजेट विनियोजन गरिएको छ,’ बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले भने, ‘वडा समितिले सिफारिस गरेका आठ तथा प्रधानमन्त्री रोजगार कार्यक्रम र सामाजिक विकासतर्फ दुई–दुई योजना संशोधन भएका छन् ।’      सभाले बेनी नगरपालिका–४ सिंगा तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालन गर्न १० लाख विनियोजन गरेको छ । सभाले चालूतर्फको ४५ करोड ८१ लख १० हजार र पूँजीगततर्फको २४ करोड ९६ लाख ६१ हजार संशोधित बजेट पारित गरेको छ । हालसम्म चालूतर्फको १६ करोड ८५ लाख चार हजार (३७ दशमलव ८५) र पूँजीगततर्फ दुई करोड ९५ लाख ३५ हजार (१२ दशमलव ४८) प्रतिशत बजेट खर्च भएको प्रगति विवरण नगरप्रमुख हरिकुमार श्रेष्ठले प्रस्तुत गरे । यस वर्ष बजेट विनियोजन भएकामध्ये ३० योजना सम्पन्न र ४३ सम्झौता भइसकेका तथा अन्य कार्यान्वयनको चरणमा छन् । कुल चार करोड १२ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको बेनी नगरपालिकाले पुस २५ गतेसम्म एक करोड ६९ लाख २९ हजार (४१.०९) प्रतिशत राजस्व संकलन गरेको छ । २ लाखभन्दा कम बजेटका योजना वडामै सम्झौता, १० लाखभन्दा कम बजेटका योजना उपभोक्ता समिति र सोभन्दा बढी बजेटका योजना निर्माण व्यवसायीमार्फत कार्यान्वयन गर्ने नगरपालिकाले नीति लिएको छ । रासस