चैत ६, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आदर्श सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन सचिवहरुविरुद्ध मुद्दा दायर गरेको छ ।
सुनसरी जिल्लास्थित आदर्श सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन सचिव दिपक थापा मगर र जनक थापा जनाविरुद्ध विभागले मुद्दा दायर गरेको हो ।
उनीहरु विरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आयोगले मुद्दा दायर गरेको जानकारी दिएको छ ।
आयोगका अनुसार सामुदायिक वनमा वृक्षरोपण र तार घेराको नाममा अत्याधिक रकम खर्च देखाएको, चेक काटी रकम हिनामिना गरेको, समूहमा दाखिला गर्नुपर्ने रकम खाई मासेर आर्थिक अनियमितता गरेको भन्ने उजुरी परेको थियो ।
विभागले दिपक थापा मगरलाई बिगो रू. २ लाख ९३ हजार ३७२ दशमलव ५१ र जनक थापालाई बिगो रू. ७० हजार ८५ दशमलव ३७ कायम गरी विशेष अदालत, काठमाडौंमा आइतवार मुद्दा दायर गरिएको जानकारी दिएको छ ।