बागलुङ । व्यावसायिक दुग्ध उत्पादनलाई बढावा दिन बागलुङको गलकोट नगरपालिकाले ‘भैंसी पकेट’ कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाका वडा नं ८ र ९ लाई समेटेर पकेट क्षेत्र घोषणा गरिएको पशु शाखा प्रमुख हरिदत्त सुवेदीले जानकारी दिए ।
उक्त कार्यक्रमका लागि चालू आवमा नगरले २५ लाख बजेट छुट्याएको थियो । पकेटअन्तर्गत उन्नत मुर्रा जातका ८० पाडी र ६ ओटा राँगो किसानलाई वितरण गरिएको छ । चार ठाउँमा दूध संकलन केन्द्र बनेका छन् । हटिया बजारमा बन्ने चिस्यान केन्द्रमार्फत दूध बजारमा पु¥याइने प्रमुख सुवेदीले बताए । आयात प्रतिस्थापन गरी गलकोटबाट दूध बाहिर बेच्ने लक्ष्यसहित भैंसी पकेटको अवधारणा ल्याइएको हो ।
अहिले पनि गलकोटको बजार क्षेत्रमा पोखराको दूध र पर्वतबाट पनिर भित्रिन्छ । ‘आगामी आवमा बाहिरबाट आउने दूध रोक्ने र दुई वर्षभित्रमा निर्यात गर्न सकिन्छ भन्ने छ,’ सुवेदीले भने । पकेट कार्यक्रम चलेपछि तत्कालै किसानले उत्पादन गरिरहेको झण्डै ६०० लिटर दूधलाई दैनिक बजारमा ल्याउन सकिने बताइएको छ । दूधको बजारीकरण नहुँदा पकेट क्षेत्रमा दैनिक उत्पादन हुने एक हजार लिटरजति दूध मोही बनाएर सकिने गरेको छ । रासस