काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले दक्षिण पूर्व युरोपेली मुलुक कोसोभोसँग व्यापारिक साझेदारीको प्रस्ताव गरेको छ । मंगलवार बंगलादेशका लागि कोसोभोका राजदूत गुनेर उरेयासँग भेटवार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले व्यापार एवं लगानीका लागि प्रस्ताव गरेका हुन् । कोसोभोसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना नभए पनि व्यापार र लगानीको सम्भावना भएका क्षेत्रमा सहकार्यका लागि राजदूत उरेयासँग अध्यक्ष मल्लले आग्रह गरेका छन् ।
‘दुवै देशको चेम्बर अफ कमर्सबीच सहकार्य गरेर व्यापार एवं संयुक्त लगानीको सम्भावना भएका क्षेत्रमा सहकार्यका लागि प्रस्ताव गर्दछु,’ अध्यक्ष मल्लले भने । नेपालको जलविद्युत्, पर्यटन एवं सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न अध्यक्ष मल्लले राजदूत उरेयासँग आग्रह समेत गरे । नेपालमा लगानीको प्रतिफल सुनिश्चित गर्नका लागि चेम्बरले पहल गर्ने अध्यक्ष मल्लको भनाइ छ । भेटवार्तामा राजदूत उरेयाले हिमालयको देश नेपालबाट आफू निकै प्रभावित भएको बताए ।
नेपालले छिमेकी मुलुक भारत, चीन र श्रीलंकाबाट पर्यटक ल्याउने कार्यक्रमलाई बढी प्राथमिकता दिएको छ भने तुलनात्मक रूपमा पाकिस्तान र बंगलादेशलाई कम प्राथमिकता । यद्यपि त्यहाँ पर्यटन प्रवर्द्धनका कार्यक्रम नै नभएका भने होइनन् । त्यहाँका पर्यटकले नेपाल आउन खासै रुचि नराख्ने सोचाइ रहेकाले यसो भएको हुन सक्छ । तर, पछिल्लो समय बंगलादेशबाट विमान चार्टर गरी ठूलो संख्यामा बंगलादेशीहरू नेपाल आएकाले यसले सम्भावनाको नयाँ ढोका खोलेको छ । अब पर्यटन व्यवसायी, सरकार र पर्यटन बोर्डले नयाँ रणनीतिले काम गर्नुपर्ने देखिएको छ ।
शुक्रवार २०० भन्दा बढी बंगलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आयो । उनीहरूको स्वागतका लागि नेपाल पर्यटन बोर्डका सदस्यहरू त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगे । पर्यटकको स्वागतमा नेपाली पञ्चे बाजासहित स्थानीय पहिचान झल्कने नाचगान गरिएको थियो । बंगलादेशबाट पहिलोपटक एकसाथ यति धेरै पर्यटक नेपाल आएको मानिन्छ । शुक्रवार र शनिवार गरेर बंगलादेशबाट करीब ७०० पर्यटक बिदा मनाउन नेपाल आएको बताइन्छ । पछिल्लो ३ वर्षयता बंगलादेशबाट नेपाल आउने पर्यटकको संख्या बढिरहेको पाइन्छ ।
बंगलादेशी पर्यटक यसरी आउनु निकै सकारात्मक भए पनि तिनको रुचिअनुसार पर्यटन प्याकेज बन्यो कि बनेन भनेर हेर्नुपर्ने हुन्छ । बंगलादेशीहरूका लागि नेपाल सस्तो गन्तव्य हो । नेपालको प्राकृतिक सौन्दर्य र साहसिक खेलहरूमा भने उनीहरू मजाले रम्न सक्छन् । चीनबाट बौद्ध पर्यटक ल्याउने भने पनि नेपालको प्राकृतिक सौन्दर्यकै कारण उनीहरू नेपाल आइरहेका छन् । तर, उनीहरूले यहाँ आएर गर्ने पर्यटकीय गतिविधि भने निकै कम छन् । साहसिक खेलमा चिनियाँहरूको रुचि छ । तर, त्यसअनुसार प्रडक्ट भने नेपालले ल्याउन सकेको छैन । बंगलादेशी पर्यटकहरू पनि त्यस्तै हुन् । त्यसैले नेपाली पर्यटनलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता यसले देखाएको छ ।
नेपालको भौगोलिक बनोटका कारण पर्वतीय पदयात्राका लागि धेरै भन्दा धेरै पर्यटक आइरहेका छन् । बंगलादेशी पर्यटकमा त्यस्तो सोख नहुन सक्छ । त्यसो हुँदा उनीहरूको खास रुचि के मा छ भन्ने बुझेर त्यसअनुसार प्रडक्ट बनाउन सक्यौं भने बंगलादेश हाम्रा लागि दिगो पर्यटन बजार बन्न सक्छ ।
बंगलादेशी पर्यटकले नेपाल घुम्नका लागि सही र राम्रो गन्तव्य भएको प्रतिक्रिया दिएको पाइन्छ । बंगलादेशले नेपाललाई घुम्नको लागि प्राथमिकतामा राखेको छ । हिमाल, स्थानीय खाना, स्थानीय संस्कृतिप्रति उनीहरूको आकर्षण रहेको देखिन्छ ।
त्यसो त नेपालीहरूले बंगलादेशमा पर्यटक प्रवर्द्धनका कार्यक्रम गर्दै नगरेको भने होइन । नेपालका १४ वटा टुर अपरेटरले बंगलादेशका ६० भन्दा बढी पर्यटन व्यवसायी र सञ्चारकर्मीलाई पर्यटनसँग सम्बद्ध आकर्षक प्याकेजबारे जानकारी गराएका थिए । त्यसै गरी नेपाल पर्यटन बोर्डले नेपालका पर्यटकीय गन्तव्य तथा नेपालमा उपलब्ध पर्यटकीय सुविधाका बारेमा सूचना तथा ढाकास्थित नेपाली राजदूतावासले बंगलादेशी पर्यटकका लागि सहजरूपमा प्रवेशाज्ञा उपलब्ध हुने बारेमा जानकारी गराएको थियो । कोभिडबाट प्रभावित पर्यटनलाई पुनर्जीवित गर्ने क्रममा भएका यी कार्यक्रमको परिणति नै हुन सक्छ अहिले भएको बंगलादेशी पर्यटकको आगमन ।
बंगलादेशलाई आर्थिक रूपमा एशियाली टाइगर मानिन्छ । दक्षिण एशियाका मुलुकमध्ये सबैभन्दा बढी आर्थिक वृद्धिदर भएको बंगलादेशमा अन्तरराष्ट्रिय पर्यटनको माग बढ्दै गएको देखिएको छ ।
प्रतिवर्ष त्यहाँ औसतमा ७ प्रतिशतभन्दा बढीले विदेश घुम्न जानेको संख्या बढिरहेको छ । गतवर्षमात्रै २० लाखभन्दा बढी पर्यटकले छिमेकी मुलुक भ्रमण गरेको पाइन्छ । बंगलादेशमा हरेक ३ वर्षमा सरकारी र अर्ध सरकारी संस्थाहरूले १ महीनाको तलबसहित २ हप्ता पर्यटन बिदा दिने गरेका छन् । स्रान्ति विनोदोन नाम राखिएको यस कार्यक्रमका लागि विशेष भत्ताको व्यवस्था गरेर सरकारले आफ्ना नागरिकलाई देशभित्र वा बाहिर घुम्न जान प्रोत्साहित गरेको छ । यी पर्यटक भारत, थाइल्यान्ड, मलेशिया र सिंगापुरमा घुम्न जाने गरेको पाइन्छ । त्यता जाने पर्यटकलाई नेपाल ल्याउन सकियो भने बंगलादेश राम्रो पर्यटक बजार बन्न सक्छ ।
नेपाल नजिकको गन्तव्य भएको, नेपाल र नेपालीहरूको छवि बंगलादेशमा अत्यन्त राम्रो रहेकाले नेपाल भ्रमणका लागि बंगलादेशीको गहिरो चासो र उत्सुकता रहेको छ भन्न सकिन्छ ।
बंगलादेशको कुल गार्हस्थ्य उत्पादन सन् २०२१–२०२२ मा ६.४ प्रतिशतले वृद्धि भएको छ । यो दक्षिण एशियाली मुलुकमध्ये सबैभन्दा उच्च आर्थिक वृद्धिदर मानिन्छ । आर्थिक वृद्धिसँगै नागरिकको खर्च गर्न सक्ने सामथ्र्य पनि बढेको छ । त्यसैले अहिले उनीहरूबीच घुम्न जाने संस्कृति बढ्न थालेको छ । विदेश भ्रमणका लागि सस्तो र नजिकको गन्तव्य नेपाल नै हो । ढाकाबाट काठमाडौंका लागि सीधा हवाई सेवा उपलब्ध छ । त्यस्तै नेपालमा बेला बेलामा भएका बंगलादेशको उत्पादनको प्रदर्शनीले पनि उनीहरूलाई नेपालप्रति आकर्षण बढाएको छ । अझ पछिल्लो समय विद्युत् व्यापारका लागि बंगलादेश र नेपालबीच वार्ता भइरहेको छ र ४० मेगावाट बिजुली उसले किन्ने तयारी गरिरहेको छ । यो ठूलो तथ्यांक होइन, बंगलादेशसँगको बढ्दो साझेदारी हो । बंगालदेशले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने र त्यो बिजुली आफ्नो देशमा लैजाने योजना पनि बनाएको छ । यी सबै कुराले बंगलादेशमा नेपालको चर्चा बढेको छ जसले गर्दा बंगालादेशी पर्यटकका आगमन बढ्दै जाने देखिन्छ ।
बंगलादेशमा थुपै्र नेपाली विद्यार्थी छन्, खासगरी मेडिकल शिक्षामा । तिनका माध्यमबाट उनीहरूले नेपालबारे सकारात्मक धारणा बनाएका छन् । उदीयमान अर्थतन्त्र भएको बंगलादेशसँग नेपालको व्यापारघाटा भने बढ्दो छ । त्यसलाई सन्तुलनमा ल्याउन पनि त्यहाँका पर्यटकलाई नेपाल ल्याउन जरुरी छ ।
नेपालको पर्यटन आगमन तथ्यांकअनुसार सन् २०१८ मा बंगलादेशबाट २६ हजारभन्दा बढी पर्यटकले नेपालको भ्रमण गरेका थिए । तत्पश्चात् विश्व महामारीको कारणले पर्यटन आगमनमा उच्च कमी आयो । अहिले दुवै देशका टुर अपरेटर पर्यटनको आगमन उच्च वृद्धि हुनेमा निकै आशावादी छन् र त्यसैअनुसार काम गरेको पनि पाइन्छ ।
छिमेकी राष्ट्र बंगलादेशबाट हुनसक्ने पर्यटकको आगमनले नेपालको पर्यटनलाई ठूलो राहत पुग्नसक्ने देखिन्छ । साथै निकट भविष्यमै ढाकादेखि भारतको जलपाइगुडी रेलवे स्टेशनसम्म सीधा रेलसेवाको शुरुआत हुने भएकाले स्थलमार्ग भएर नेपाल आउने बंगलादेशी पर्यटकको संख्यामा पनि उल्लेख्य वृद्धि हुने देखिन्छ ।
पाकिस्तानबाट पनि पर्यटकको आगमन बढाउन सकिन्छ । अहिले पाकिस्तान आर्थिक संकटमा परेको छ । त्यसो हुँदा तत्कालै पर्यटक नआउलान् तर पाकिस्तान पनि नेपाली पर्यटनको राम्रो स्रोत हुन सक्छ ।
नेपाल र बंगलादेशको अत्यन्त सुमधुर सबन्ध रहेको र ढाकाबाट केवल १ घण्टामै काठमाडौं आइपुग्न सकिने र स्थलमार्ग भएर पनि नेपाल सहज रूपमा पुग्न सकिने भएकाले आगामी दिनमा बंगलादेशी पर्यटकको संख्या बढ्ने देखिन्छ ।
पाकिस्तानबाट पनि पर्यटकको आगमन बढाउन सकिन्छ । अहिले पाकिस्तान आर्थिक संकटमा परेको छ । त्यसो हुँदा तत्कालै पर्यटक नआउलान् तर पाकिस्तान पनि नेपाली पर्यटनको बजार हुन सक्छ । पाकिस्तानीहरूमा पनि भ्रमणमोह पाइन्छ । उनीहरूका लागि नजिकको गन्तव्य नेपाल नै हुन सक्छ । सार्क मुलुक भएकाले भिसाको झन्झट पनि छैन । अनएराइभल भिसा पाइने भएकाले पाकिस्तानी पर्यटक नेपाल ल्याउन सकिन्छ । पाकिस्तानसँग सीधा हवाई सम्पर्क हुने हो भने ३ घण्टामा पाकिस्तान पुग्न सकिन्छ । त्यसैले नेपाल चेम्बर अफ कमर्सले पाकिस्तानी राजदूतसमक्ष हवाई सेवा सञ्चालन गर्न माग गरेको छ । पाकिस्तानसँग व्यापारिक सम्बन्ध बढाउन पनि हवाई सेवा आवश्यक छ । नेपालका मसलासम्बन्धी कृषि उत्पादन पाकिस्तानमा निर्यात गर्न सकिन्छ भने पाकिस्तानबाट छाला र काठका सामान आयात गर्न सकिन्छ । विगतमा पाकिस्तानी व्यापार मेला हुने गरेको थियो जुन अहिले अलिक शिथिल देखिएको छ ।
नेपालबाट नजिक रहेका बंगलादेश र पाकिस्तान पर्यटनको स्रोत बजार हुन सक्छ । साहसिक खेल, पदयात्रा, प्राकृतिक सौन्दर्य अवलोकन आदिका लागि पर्यटन प्रडक्ट बनाएर राम्ररी प्याकेज बनाउने हो भने सानै भए पनि नेपाली पर्यटनलाई ठूलै टेवा पुग्ने देखिन्छ ।
लेखक पर्यटन व्यवसायी हुन् ।
चैत ५, काठमाडौं । यो साता धितोपत्र दोस्रो बजारका महत्वपूर्ण सूचकहरू सकारात्मक देखिएका छन् ।
गत सातादेखिनै सकारात्मक बन्दै आएको बजारले यो सातापनि निरन्तरता पाएको हो । गत साता १९ दशमलव ८६ अंकले बढेको बजार यो साता ६४ दशमलव ३५ अंकले बढेको छ । गत साता र यो साता चार कारोबार दिन मात्र बजार सञ्चालन भएको छ । गत साता २ हजार ५६६ दशमलव ९० विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार ६३१ दशमलव २५ विन्दुमा पुगेको हो ।
यो साता चार कारोबार दिनमा दुई दिन नेप्से परिसूचक घटेको छ भने दुई दिन बढेको छ । साताको पहिलो कारोबार दिन १०१ दशमलव शून्य ७ अंकले बढेको बजार दोस्रो दिन प्राविधिक समस्याका कारण एक घण्टा ५३ मिनेटमात्र खुलेको बजार शून्य दशमलव १५ अंकले बढेको थियो ।
त्यसपछिका दुई कारोबार दिन भने बजार निरन्तर घटेर बन्द भएको हो । तेस्रो कारोबार दिन १७ दशमलव १५ अंक र चौथो कारोबार दिन १९ दशमलव ७२ अंकले बजार घटेको हो ।यो साता सेन्सेटिभ इन्डेक्स ३ दशमलव ८६ अंकले बढेर ४९७ दशमलव ३९ विन्दुमा पुगेको छ । गत साता सेन्सेटिभ इन्डेक्स ४ दशमलव ७ अंकले बढेको थियो ।
यो साता चार कारोबार दिनमा रू. १२ अर्ब १४ करोडभन्दा बढीको २ करोड २८ लाख ६८ हजार ३९७ कित्ता शेयर खरीदविक्री भएको छ । गत साता सोही कारोबार दिनमा रू. १० अर्ब२३ करोडभन्दा बढीको २ करोड १० लाख २५ हजार ८१ कित्ता शेयर कारोबार भएको थियो ।यो साता गत साताको तुलनामा रू. १ अर्ब ९० करोडभन्दा बढीको १८ लाख ४३ हजार ३१६ कित्ता बढी शेयर कारोबार भएको हो ।
यो साता लगानीकर्ताको सम्पत्तिको मूल्य कुल बजार पूँजीकरण रू. ९२ अर्ब ९८ करोडले वृद्धि भएको छ । गत साताको अन्तिम कारोबार दिन रू. ३६ खर्ब ३७ अर्ब रहेको कुल बजारपूँजीकरण यो साता रू. ३७ खर्ब ३० अर्ब कायम भएको हो । फागुनमा बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउँदा प्रभावित बन्दै आएको बजार चैतमा ब्याजदर नबढाउँने निर्णय गरेसँगै बजार सकारात्मक बनेको देखिन्छ ।
यो सँगै आगामी स्थानीय तहको निर्वाचनले वित्तीय प्रणालीमा तरलता भित्र्याउने र यसले बजारमा सकारात्मक प्रभाव पार्ने आशामा लगानीकर्ता देखिन्छन् ।
होटल्स तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक कमाए
यो साताको कारोबारमा होटल्स तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । गत साताको तुलनामा यो साता होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १० दशमलव १९ प्रतिशतले बढेको हो । यो साता सोल्टी होटेल र तारागाउँ रिजेन्सी होटल्सले चालू आवको दोस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
कोभिडका कारण नोक्सानी व्यहोरेको सोल्टी होटलले नाफा गर्न सफल भएको छ भने तारागाउँ रिजेन्सी होटल्सले पनि नोक्सानी घटाएको छ । कोभिडको असर कम हुँर्द जादा विगतका वर्षहरूमा लगानीकर्तालाई सन्तुष्ट बनाउँदै आएका होटल्स तथा पर्यटन समूहका कम्पनीले आगामी वर्ष निरास नबनाउने अपेक्षा लगानीकर्तामा देखिएको छ ।
होटल्स तथा पर्यटन समूहपछि यो साता जीवन बीमा समूहको परिसूचक ८ दशमलव ४७ प्रतिशत बढेको छ भने निर्जीवन बीमा समूहको ६ दशमलव ८९ प्रतिशत बढेको छ ।
त्यस्तै विकास बैंक समूहको ३ दशमलव ३९ प्रतिशत, वित्त समूहको ३ दशमलव शून्य १ प्रतिशत, लघुवित्त समूहको २ दशमलव ७० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको २ दशमलव २५ प्रतिशत, लगानी समूहको २ दशमलव २४ प्रतिशत, बैंकिङको १ दशमलव ९६ प्रतिशत र म्युचुअल फण्ड समूहको १ दशमलव २३ प्रतिशत परिसूचक बढेको छ ।
यो साता व्यापारिक समूहको १ दशमलव ४४ प्रतिशत, जलविद्युत् समूहको १ दशमलव २७ प्रतिशत र ‘अन्य’ समूहको शून्य दशमलव ११ प्रतिशत परिसूचक घटेको छ । त्यस्तै यो साता लघुवित्त समूहअन्तर्गतका जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार शुुरू भएको छ ।
आर्थिक अभियान दैनिकको प्रिन्ट संस्करणबाट
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको विकट हिमाली क्षेत्र तेम्बाथानको माथिल्लो क्षेत्रमा दुई जलविद्युत् आयोजना एकसाथ निर्माण हुने भएको छ । मंगलवार एकैदिन भएको वातावरणीय प्रभाव मूल्यांकनको सार्वजनिक सुनुवाइमा आयोजनाले तत्काल पहुँचमार्ग विस्तार गरी काम अगाडि बढाउने जानकारी गराइएको छ ।
ब्रह्मायणी ३६ दशमलव ५२ तथा माथिल्लो ब्रह्मायणी १५ दशमलव १५ मेगावाट क्षमताको जलविद्युत् आयोजना भएको र यसका लागि पूर्वाधार तयारीका काम तत्काल सम्पन्न गरी आगामी आर्थिक वर्षको शुरुआतदेखि आयोजना निर्माण हुने ब्रह्मायणी जलविद्युत् आयोजना र माथिल्लो ब्रह्मायणीको निर्माण कम्पनी इन्टिग्रेटेड हाइड्रो फण्ड नेपाल प्रालिका प्रमुख भरत पराजुलीले जानकारी दिएका छन् ।
कम्पनीले आयोजना निर्माणस्थल जुगल गाउँपालिका–२ र ३ सम्म पुग्ने १६ किलोमिटरमध्ये १० किलोमिटर पहुँचमार्ग निर्माण सम्पन्न भएको र बाँकी ६ किलोमिटर सडक निर्माण सम्पन्न गरी आयोजनाको काम शुरू गर्ने भएको छ । ‘पहुँचमार्ग, आयोजनास्थलको आवासगृह र आयोजना निर्माणका अन्य पूर्वाधार निर्माण सम्पन्न गरी आयोजनाको काम शुरू हुनेछ,’ निर्माण कम्पनीका प्रमुख पराजुलीले भने, ‘दुवै आयोजना सम्पन्न गर्न १० अर्ब लगानी हुने प्रारम्भिक अनुमान गरिएको छ र तीन महिनाभित्र पहुँचमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।’
दुवै आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन सार्वजनिक सुनुवाइ कार्यक्रममा आयोजना निर्माणस्थल तथा प्रभावित क्षेत्र जुगल गाउँपालिका–३ तेम्बाथान र वडा नं २ दीपुका स्थानीयले स्थानीयका जायज माग र वातावरण सुरक्षामा ध्यान दिँदै थप काम अगाडि बढाउन सुझाव पेश गरेका छन् । ‘शीप, क्षमताअनुसारको स्थानीय सहभागिता, पर्यटन पदमार्गको सुरक्षा तथा स्तरोन्नति, चौंरीखर्क संरक्षण तथा सामाजिक दायित्व पूरा गरी आयोजना अगाडि बढ्नुपर्छ,’ जुगल गाउँपालिका–३ का वडा सदस्य नुर्बु शेर्पाले भने ।
आफ्नो विकट गाउँमा विकासको कुनै शुरुआत नभएकाले आयोजना निर्माणसँगै गाउँमा विद्युतीकरण, सडक र सामाजिक विकासका अन्य काममा आयोजनाले सहयोग गर्नुपर्ने आफूहरूको माग रहेको जुगल गाउँपालिका–३ तेम्बाथानका जाङ्बु शेर्पाको भनाइ छ ।
स्थानीयको जायज माग, पहुँचमार्ग निर्माण, सामाजिक उत्तरदायित्वसँगै प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी र सञ्चारमा पहुँचको काम आयोजनाले पूरा गर्ने आयोजनाले जनाएको छ । दुई हजार ६ सय ६५ मिटर उचाइमा निर्माण हुने जलविद्युत् आयोजनामा लगन खोला र न्याम्या मसाल खोलाको पानी प्रयोग हुनेछ । नेपाल विद्युत् प्राधिकरणले दुवै आयोजनाको विद्युत् खरीद सम्झौता (पीपीए) सम्पन्न भएको आयोजनाले बताएको छ । रासस
कोभिड-१९ को दोस्रो लहरले उद्यम, व्यवसायलाई नराम्ररी प्रभावित पारेको छ । अघिल्लो पटकको बन्दाबन्दीले निकै शिथिल पारेका पर्यटन, निर्माण, यातायात, उड्ययन, निर्माणाधीन जलविद्युत् आयोजनाहरू लगायत कतिपय अन्य क्षेत्रमा दोस्रो लहरले अझै गहिरो प्रभाव पारेको छ । महामारीले अर्थतन्त्रलाई चौतर्फी रूपमा बहुपक्षीय प्रभाव सिर्जना गरेको छ, कतिपय क्षेत्र…
कोभिड-१९ को दोस्रो लहरले उद्यम, व्यवसायलाई नराम्ररी प्रभावित पारेको छ । अघिल्लो पटकको बन्दाबन्दीले निकै शिथिल पारेका पर्यटन, निर्माण, यातायात, उड्ययन, निर्माणाधीन जलविद्युत् आयोजनाहरू लगायत कतिपय अन्य क्षेत्रमा दोस्रो लहरले अझै गहिरो प्रभाव पारेको छ । महामारीले अर्थतन्त्रलाई चौतर्फी रूपमा बहुपक्षीय प्रभाव सिर्जना गरेको छ, कतिपय क्षेत्र…
म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक कालोपत्र शुरू भएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत पहिलो र तेस्रो प्याकेजमा कालोपत्रको काम थालिएको हो । पहिलो प्याकेजअन्तर्गत जिल्लाको राहुघाटदेखि बेगखोलासम्मको ६ किलोमिटर र मुस्ताङको थासाङ गाउँपालिकाको खन्तीदेखि कैकुखोलासम्मको १६ दशमलव ५ किलोमिटर सडक कालोपत्र शुरू गरिएको छ ।
प्रवेश विन्दुमा पर्ने बेनी नगरपालिका–९ गलेश्वरमा करीब एक किलोमिटर र चौथो नम्बर प्याकेजमा पर्ने कोवाङदेखि जोमसोमसम्मको १८ किलोमिटर सडक पनि कालोपत्र गर्न लागिएको आयोजनाका इन्जिनीयर आशिष मानन्धरले बताए । ‘बेनी–घाँसा खण्डको दुई प्याकेजमा डिबिएसडी र घाँसा जोमसोम खण्डको दुई प्याकेजमा अस्फाल्ट प्रविधिको कालोपत्र हुँदै छ,’ उनले भने, ‘११ मिटर फराकिलो बनाइएको सडकको सातदेखि आठ मिटर चौडाइमा कालोपत्र हुन्छ ।’
१६ दशमलव पाँच किलोमिटर दूरीको दोस्रोअन्तर्गत म्याग्दी र मुस्ताङको सिमानामा रहेको काभ्रे, बादरजुङ र घोप्टेभिर तथा पहिरो प्रभावित रुप्से क्षेत्रबाहेकका स्थानमा सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । पहिलो प्याकेजको बेगखोला–जलथले खण्डमा भने ढिलाइ भएको छ । पहिलो प्याकेजको राहुघाट–बेगखोला खण्डको सहायक ठेकेदार ओमकारेश्वर कन्सट्रक्शनका प्रतिनिधि अमृत दाहालले प्राइम कोड हालेर कालोपत्रको काम शुरू गरेको बताए । ‘मौसमले साथ दियो भने गलेश्वरदेखि बेगखोलासम्मको ६ किलोमिटर सडक जेठभित्र कालोपत्र सक्ने तयारी गरेका छौं,’ उनले भने, ‘सडक विस्तार, नाली र पर्खाल निर्माण सकेर सब बेस बिछ्याउने र रोलरले पेलिएको खण्डमा कालोपत्र गर्न लागिएको हो ।’ कोरोना महामारीको जोखिम र निषेधाज्ञाकै बीच स्थानीय प्रशासन, बेनी–जोमसोम–कोरला सडक आयोजना र स्थानीय पालिकासँग समन्वय गरेर मजदूर, उपकरण र निर्माण सामग्री जुटाएर आयोजनालाई निरन्तरता दिइएको दाहालले बताए ।
२०७४ साउनदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ । करीब ६ अर्ब लागतको उक्त सडक आयोजनाको ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको ८८ र बेनी–जोमसोम खण्डको ६५ प्रतिशत भौतिक प्रगति छ । सात प्याकेजको जोमसोम–कोरला खण्डको चार प्याकेजको काम निर्माण सकिएको आयोजनाका सूचना अधिकारी आश्विनीकुमार यादवले जानकारी दिए ।
२०६४ सालमा नेपाली सेनाले ट्र्याक खोलेर २०६७ सालमा सडक विभागलाई हस्तान्तरण गरेको बेनी–जोमसोम सडक कच्ची र जीर्ण थियो । बेनी–जोमसोमको चार प्याकेज (भाग)मा छुट्टाछुट्टै निर्माण कम्पनीसँग २ अर्ब ५० करोडमा ठेक्का सम्झौता भएको थियो । बेनी–घाँसा खण्डका दुई प्याकेज र घाँसा जोमसोम खण्डको एउटा प्याकेजको कामको ठेक्का शर्मा÷युनाइटेड जेभीले लिएको थियो । २०७६ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि ढिलासुस्तीले काम प्रभावित भएको हो ।
यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको छ । सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महŒवपूर्ण योगदान पुग्ने मुस्ताङबाट निर्वाचित निवर्तमान प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए । कोरला नाका सञ्चालन गर्ने वातावरण बन्ने, आन्तरिक तथा बाह्य पर्यटक एवं तीर्थयात्रीको आगमन बढ्ने, स्थानीयवासीलाई सुविधा पुग्ने, कालीगण्डकी र आसपासका नदीमा जलविद्युत्को विकास हुने अपेक्षा गरिएको छ । रासस
कोरोनाको दोस्रो लहरले जनजीवन प्रभावित भएको भएपनि धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकलाई कुनै असर गरेको छैन । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज २७.४७ बिन्दुले उकालो लागेर दुई हजार ६७३.३१ मा पुगेको छ ।
कारोबार रकम समेत झण्डै रु छ अर्ब बराबर भएको छ ।नेप्सेका अनुसार कूल २२० कम्पनीको एक करोड आठ लाख १९ हजार ५३५ कित्ता शेयर रु पाँच अर्ब ८१ करोड छ लाख ७३ हजार ७१ मूल्यमा खरिद बिक्री भए ।
कारोवार भएका १३ वटै उपसमूहको शेयर उकालो लागेको छ । जीवन बीमा, व्यापार र निर्जीवन बीमा कम्पनीको शेयरमा सबैभन्दा बढी वृद्धि भएको छ । जीवन बीमा २६७.१८, व्यापार २२१.६७ र निर्जीवन बीमा १७६.४८ बिन्दुले उकालो लागेको छ । बैंकिङ ३.३८, होटल तथा पर्यटन २३.१९, विकास बैंक १५.२३, जलविद्युत् २१.०७, वित्त १७.४९, उत्पादन १३९.७, अन्य ५३.१३, लघुवित्त ६५.१२, सामूहिक लगानी कोष ०.०२ र लगानी १.४९ बिन्दुले उकालो लागेको छ ।
कोरोना भाइरसको संक्रमणको दोस्रो लहर भयावह बन्दै जाँदा विभिन्न क्षेत्रमा कडाइ गर्न थालिएको छ । उपत्यकासहित केही प्रमुख शहरमा बन्दाबन्दी लगाउने, यातायात बन्द गर्ने, सार्वजनिक सेवा बन्द गर्नेजस्ता कडाइको तयारी भइरहेको छ । विगतमा जस्तो देशै ठप्प नपार्ने सरकारी तयारी देखिन्छ । विगतको बन्दाबन्दीभन्दा यो तरीका केही उपयुक्त हो तर अर्थतन्त्रलाई जीवित राख्न सरकारले अहिले नै साहसिक निर्णय गर्नुपर्ने देखिन्छ ।
बन्दाबन्दी लागू गर्दा प्रत्यक्ष र तत्कालै प्रभावित हुने भनेको विपन्न वर्ग नै हो । उनीहरूलाई आय आर्जनमा सघाउने मात्र होइन, आवश्यक खाद्य सहयोग पनि पुर्याउनु जरुरी छ ।
बन्दाबन्दी र निषेधाज्ञाले थलिएको अर्थतन्त्रमा बिस्तारै सुधार आउन थालेको अवस्थामा बढ्दो कोरोना संक्रमण र त्यसलाई नियन्त्रण गर्न लगाइएका विभिन्न बन्देजका कारण अर्थतन्त्रका चरहरू फेरि प्रभावित हुन थालिसकेको छ । कर्जा प्रवाह, व्यापार आदि प्रभावित भइसकेको सम्बद्ध व्यवसायीहरूले बताउन थालेका छन् । यस्तोमा सरकारसमक्ष जनस्वास्थ्य जोगाउनुका अतिरिक्त अर्थतन्त्र र विपन्न वर्गका लागि पनि विशेष ध्यान दिनुपर्ने अवस्था टड्कारो देखिएको छ ।
कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई जोगाउन र गति दिन निजीक्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले सरकारलाई विभिन्न सुझाव दिएका छन् । कोरोना प्रभावित व्यवसायलाई दिइँदै आएको बैंकिङ सुविधा २ वर्ष थप्नुपर्ने, लघु घरेलु तथा साना उद्योग, पर्यटन, चलचित्त, हस्तकला, तयारी पोशाक, निजी विद्यालय, सञ्चार गृह, निर्माणाधीन जलविद्युत् आयोजनालगायत व्यवसायलाई सरकारले घोषणा गरेको बैंकिङ सुविधा थप्न नेपाल उद्योग वाणिज्य महासंघले सुझाव दिएको छ । त्यस्तै कर्जाको पुनर्तालिकीकरण र पुनःसंरचनाको अवधिसमेत १ वर्ष थप्न र सरकारले दिएको व्यावसायिक निरन्तरता कर्जा सरलीकरण गरी १ वर्ष थप्न पनि उसले सुझाव दिएको छ । यस्तो कर्जामा प्रक्रियागत झन्झट हुँदा धेरै व्यवसायी लाभान्वित हुन सकेका छैनन् ।
निजीक्षेत्रकै अर्को प्रतिनिधिमूलक संस्था चेम्बर अफ कमर्शले पनि आगामी बजेटमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा कोरोना प्रभावित अर्थतन्त्रका लागि दिएका सम्पूर्ण सहुलियतपूर्ण व्यवस्थाहरूलाई आगामी वर्षमा पनि निरन्तरता दिन सुझाव दिएको छ । कोरोनाका कारण अर्थतन्त्रमा गम्भीर असर परेको छ । यस्तो असर दीर्घकालीन हुने र तत्काल नदेखिने हुँदा त्यसैअनुसार नीति बनाइनुपर्छ । निजीक्षेत्रले दिएका सुझावहरूलाई सरकारले गम्भीर रूपमा लिएर सम्बोधन गर्नुपर्छ ।
कोरोनाका कारण प्रभावित अर्थतन्त्र यसको दोस्रो लहरबाट थप प्रभावित हुने निश्चित नै छ । यस्तोमा सरकारले उद्योगहरूलाई कसरी सञ्चालन गराउनेभन्दा भन्नेमा सरकारको ध्यान जानुपर्छ । बन्दाबन्दी र विभिन्न कडाइले उत्पादकत्व र आय आर्जनको सम्भावना घटाउँछ । यसको सम्भावनालाई दृष्टिगत गरी आयआर्जनका लागि सरकारले विशेष नीति लिनुपर्छ । बन्दाबन्दीका कारण आयआर्जन गुमाउनेहरूलाई कतिपय देशले सीधै रकम नै उपलब्ध गराएको पाइन्छ । नेपालले यसो गर्न नसक्ने भएकाले आयआर्जनका लागि अन्य उपाय खोज्नु आवश्यक हुन्छ ।
यसै पनि राज्यको आयस्रोत कम छ । त्यसमा पनि कोरोनाका कारण राजस्वमा समेत दबाब परेको छ । यस्तोमा प्रधानमन्त्री रोजगार कार्यक्रमजस्ता रोजगारीका कार्यक्रम विपन्न वर्गलाई आय आर्जन गर्न सघाउने गरी सञ्चालन गरिनुपर्छ । अहिले नेपालले कोरोना रोकथामकै नाममा वैदेशिक ऋण बढाउँदै लगेको छ तर त्यसको प्रभावकारी सञ्चालन भएको देखिँदैन । कोरोनाकै नाममा क्षमताभन्दा बढी ऋण लिन पनि हुँदैन ।
बन्दाबन्दी लागू गर्दा प्रत्यक्ष र तत्कालै प्रभावित हुने भनेको विपन्न वर्ग नै हो । उनीहरूलाई आय आर्जनमा सघाउने मात्र होइन, आवश्यक खाद्य सहयोग पनि पुर्याउनु जरुरी छ । अघिल्लो बन्दाबन्दीले १२ लाख जना गरीबीमा धकेलिएकोमा अब थप जनसंख्या गरीबीतर्फ धकेलिने देखिन्छ । त्यसैले आय आर्जनमा सहयोग गर्नु पनि आवश्यक छ । विपन्नको संख्या बढ्दै जाँदा तथा आयआर्जन प्रभावित हुँदै जाँदा त्यसको असर स्वास्थ्य तथा शिक्षामा समेत पर्ने देखिन्छ । स्वास्थ्य र शिक्षामा लगानी घट्दा त्यसले विकासका लागि आवश्यक दक्ष जनशक्तिमा समेत असर पार्छ । अतः अर्थतन्त्रमा पर्ने तत्काल र दूरगामी असरलाई सम्बोधन गर्न सरकारले भिन्न र साहसिक काम गर्नु आवश्यक छ ।