कोसोभोसँग साझेदारीको प्रस्ताव

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले दक्षिण पूर्व युरोपेली मुलुक कोसोभोसँग व्यापारिक साझेदारीको प्रस्ताव गरेको छ । मंगलवार बंगलादेशका लागि कोसोभोका राजदूत गुनेर उरेयासँग भेटवार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले व्यापार एवं लगानीका लागि प्रस्ताव गरेका हुन् । कोसोभोसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना नभए पनि व्यापार र लगानीको सम्भावना भएका क्षेत्रमा सहकार्यका लागि राजदूत उरेयासँग अध्यक्ष मल्लले आग्रह गरेका छन् । ‘दुवै देशको चेम्बर अफ कमर्सबीच सहकार्य गरेर व्यापार एवं संयुक्त लगानीको सम्भावना भएका क्षेत्रमा सहकार्यका लागि प्रस्ताव गर्दछु,’ अध्यक्ष मल्लले भने । नेपालको जलविद्युत्, पर्यटन एवं सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न अध्यक्ष मल्लले राजदूत उरेयासँग आग्रह समेत गरे । नेपालमा लगानीको प्रतिफल सुनिश्चित गर्नका लागि चेम्बरले पहल गर्ने अध्यक्ष मल्लको भनाइ छ । भेटवार्तामा राजदूत उरेयाले हिमालयको देश नेपालबाट आफू निकै प्रभावित भएको बताए ।