नेपाल राष्ट्र बैंकले निकालेको प्रतिवेदनले विदेशी विनिमय सञ्चिति बढेको र शोधनान्तर स्थितिमा सुधार आएको भन्दै अर्थतन्त्र सुधारमा आएको बताएको छ । यसै तथ्यांकलाई लिएर सरकारका मन्त्री र अधिकारीहरूले अर्थतन्त्रमा सुधार आएको बताएका छन् । तर, अर्थतन्त्रमा सुधार आएको होइन । वैदेशिक रोजगारीमा जानेको संख्या बढेको बढ्यै छ । प्रतिदिन १२ सय युवा विदेश जाने गरेकामा यो बढेर अहिले ३ हजार नाघिसकेको बताइन्छ । तिनले पठाएको पैसा खर्च नभएर थुप्रिएकाले शोधनान्तर स्थिति बचतमा देखिएको हो ।
हुन पनि अहिले आयात घटेको छ । आयात घट्नु सकारात्मक हो भन्ने भनाइ पाइन्छ । तर, आयातले उपभोग मात्रै बढाउँदैन त्यसले अर्थतन्त्रको साइकल पनि चलाउँछ । व्यापार बढ्छ । व्यापार बढ्दा त्यसले केही मात्रामा रोजगारी बढाउँछ । एउटाले खर्च गरेको रकम अर्काको हातमा जान्छ । त्यसले पनि त्यो पैसा खर्च गर्छ । यसरी पैसा घुम्नु नै अर्थतन्त्र चलायमान हुनु हो । तर, अहिले विदेशबाट आएको पैसा थन्किएको छ । सरकारले जनताबाट ऋण उठाएको छ कर उठाएको छ । त्यो पैसा तलबभत्तामा खर्च हुन्छ र बाँकी रकम विकास निर्माणमा खर्च हुने हो । तर, विकास निर्माणको खर्च पनि राम्ररी हुन सकेको छैन । असार महीनामा मात्रै बैंकहरूमा अर्बौं निक्षेप थपिएको छ । त्यसैले अर्थतन्त्र सुधार गर्ने हो भने पैसा खर्च गर्नुपर्छ । चीनले अर्थतन्त्रलाई चलायमान बनाउन उपभोग बढाउने नीति लिएको छ । उसको आफ्नै उत्पादन भएकाले त्यसले अर्थतन्त्र विस्तारमा राम्रै योगदान दिएको छ । तर, नेपालमा उपभोग बढे पनि आयातित वस्तुको खपत हुने हो । यसले अर्थतन्त्रलाई समस्यामा पार्न सक्छ । त्यसैले उत्पादन बढाउने र रोजगारी सृजना गर्ने क्षेत्र के के हुन् तिनमा नेपाल केन्द्रित हुनैपर्छ । अन्यथा अर्थतन्त्रका आगामी दिन झनै समस्यापूर्ण हुन सक्छ ।
शैलेन्द्र महर्जन
कालिमाटी, काठमाडौं ।