मंसिर ४, काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्स नेपाल(एमच्याम) को शुरुवात गरिएको छ ।
ह्यात रिजेन्सीमा भएको कार्यक्रममा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उप–सहायक विदेशमन्त्री केल्ली किडरलिङ र उप- सहायक विदेशमन्त्री केल्ली किडरलिङले नेपालमा पहिलो अमेरिकन चेम्बर अफ कमर्स शुरुआतको घोषणा गरेका हुन् ।
उक्त अवसरमा एमच्यामका अध्यक्ष अजित शाहले नेपालको युवा तथा जागरुक जनसंख्या आर्थिक बृद्धिको श्रोत भएको बताउँदै संसारभरका व्यवसायीहरूलाई नेपालमा व्यवसाय गर्नको लागि प्रोत्साहित गर्न चाहेको बताएका थिए ।
उनीहरुले नेपालमा रहेका अमेरिकन कम्पनीहरूको प्रतिनिधित्व गर्ने व्यापारिक अगुवाहरूसँग भेटघाट गर्दै अमेरिकन चेम्बर अफ कमर्स नेपालको स्थापना गरेका हुन् । अमेरिकन चेम्बर अफ कमर्स नेपालका लागि १३ जना प्रारम्भिक संस्थापक सदस्यहरूको घोषणा गरिएको छ ।
अजित शाह(लोटस होल्डिङ्स) को अध्यक्षतामा गठित एमच्याममा निर्मल श्रेष्ठ(मेटलाइफ), अतुल्य रिसाल, कैलाश बियानन्द(कम्प्लाएन्स क्वेस्ट), आकाश गोल्छा(फोर्ड वितरक), राज शाह(बडवाइजर वितरक), जयदिन श्रेष्ठ(हायात), मङ्गेश श्रेष्ठ(फ्रस्ट एन्ड सुलिभान), ओस्कर बतास(क्याटरपिल्लर वितरक), असीम सिंह(पठाओ राइड शेयरिङ), सञ्जय गोल्छा(डेल वितरक), साकार पुडासैनी(कारखाना) र सेमन्त दाहाल(कानूनी सल्लाहकार) सदस्य रहेका छन् ।
विश्वभर रहेका अमेरिकन चेम्बर अफ कमर्सका शाखाहरू संयुक्त राज्य अमेरिकाको चेम्बर अफ कमर्सका सदस्य हुने अमेरिकी दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । सो अवसरमा संस्थापक सदस्यहरूले आफ्ना विचार तथा आकांक्षाहरू एकआपसमा आदान–प्रदान गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।