गोरखा । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै गोरखामा मदिराजन्य पदार्थ विक्री वितरणमा पूर्णरूपमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले आगामी २५ गतेदेखि मदिरा विक्री वितरणमा रोक लगाउने भएको हो । त्यसका लागि सर्वपक्षीय बैठक बोलाएर छलफल समेत गरिएको कार्यालयले जानकारी दिएको छ । निर्वाचनका बेला शान्ति सुरक्षामा हुन सक्ने असरलाई दृष्टिगत गर्दै आगामी जेठ ७ गतेसम्म जिल्लाभर मदिराको विक्री वितरण तथा प्रयोगमा रोक लगाउने निर्णय गसिकेको छ ।
जिल्लाभर नै होटल, रेष्टुराँलगायत अन्य पेशा व्यवसाय बिहान ७ बजेदेखि राति साढे ९ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए । निर्वाचनका लागि प्रचारका क्रममा दलहरूबीच शान्ति सुरक्षामा खलल हुने खालका गतिविधि हुन नदिन एकै स्थान, समय र बाटो पर्ने गरी कार्यक्रम आयोजना नगर्ने, चुनाव प्रचारप्रसारका लागि कार्यक्रम गर्दा स्थानीय प्रशासनलाई जानकारी गराएर मात्र सञ्चालन गर्ने सहमति पनि सर्वपक्षीय बैठकमा भएको उनले बताए । रासस