नेपाली कांग्रेस १४ औँ महाधिवेशनको सङ्घारमा छ । संयोगले कांग्रेसको जन्म भएकै वर्ष अर्थात् २००३ सालमा जन्मिएका शेरबहादुर देउवा वर्तमान काँग्रेसको सभापति छन् । २०७२ साल फागुनमा सम्पन्न कांग्रेसको १३ औँ महाधिवेशनबाट सभापति बनेका देउवालाई निर्धारित समयमा महाधिवेशन गरी कांग्रेसको वैधानिकता जोगाउने दायित्व पनि छ । महाधिवेशन सार्दै पछिल्लो पटक आगामी मङ्सिरमा पुर्याएको कांग्रेसले यस पटक नेतृत्व परिवर्तनको औपचारिकता मात्रै पूरा नगरी बाटो बिराउँदै गएको पार्टीलाई सही बाटोमा अवतरण गराउने अभिभारा पनि पूरा गर्नुपर्नेछ ।