‘कालो सुन’ उपनामले चिनिएको अलैंचीको व्यावसायिक खेती भए पनि त्यसलाई प्रशोधन गरी मूल्य अभिवृद्धि गर्न नसक्दा उच्च मूल्यमा निर्यात हुन सकेको छैन । चालू आवमा अलैंचीको मूल्य निकै बढ्दा किसानहरू उत्साहित भएका छन् । तर यो मूल्य विगतको भन्दा अझै कम देखिन्छ । गत आवमा यसको मूल्य घटेको थियो । तर, अहिले बढेको मूल्यले अलैंचीको विगतको मूल्यलाई भेट्न सकेको छैन ।
कुनै बेला प्रतिमन १ लाख ४० हजार रुपैयाँसम्ममा विक्री भएको अलैंची गतवर्षसम्म घटेर २५ देखि २७ हजारमा खरीद विक्री भयो । चालू आवमा त्यसको झन्डै दोब्बर बढेर प्रतिमन ६० हजार पुगेको छ । यसरी हेर्दा अलैंची खेतीप्रति विगतमा जस्तो आकर्षण थियो त्यो अहिले घटेको छ । कतिपय किसानले त अलैंची खेती गर्न छाडेको समेत पाइन्छ । त्यसैले अलैंची निर्यातमा सुधार ल्याउन अलैंचीलाई प्रशोधन गरी उच्च मूल्यमा बेच्न सक्नुपर्छ या त खाडी मुलुकमा यसको निर्यात गर्न सक्नुपर्छ । नेपालले सीधै खाडी मुलुक पठाउन प्रारम्भिक प्रयास गरेको पाइन्छ । खाडी मुलुकको गुणस्तर चिह्न हलाल प्राप्त गरेकाले त्यसतर्फ निर्यातको बाटो खुले पनि त्यहाँका व्यवसायीसँग नेपालीले सम्पर्क गर्न नसक्दा निर्यात हुन सकेको छैन । अलैँची निर्यात गर्न त्यहाँ कार्यरत राजदूतले आर्थिक कूटनीतिमा ध्यान दिन सक्नुपथ्र्यो । तर, त्यसो नहुँदा नेपाली उत्पादन भारत गएर त्यहाँबाट खाडीमा निर्यात भइरहेको छ जसको उच्च लाभ नेपाली किसानले पाउन सकेका छैनन् ।
नेपालमा ४५ जिल्लामा १८ हजार ४ सय हेक्टर जमीनमा अलैंची खेती भइरहेको छ । अलैंची प्रशोधनदेखि नै गुणस्तरमा ध्यान दिन नसक्दा उचित मूल्य पाउन नसकेको देखिन्छ । नेपालमा एउटामात्रै अलैंची प्रशोधन उद्योग छ जसले अलैंचीको पाउडर, दाना बनाउँछ । अलैंचीको तेल निकै महँगो हुन्छ । अलैंचीबाट तेल निकालेर बेच्ने हो भने उच्च मूल्य आउँछ ।
नेपाली अलैंचीको बजार भारत हो । भारतमा अलैंची उत्पादन बढी भयो भने त्यहाँका व्यापारीले नेपाली उत्पादनलाई थोरै पैसा दिने गरेका छन् । यसपटक अलैंची उत्पादन घटेकाले गतवर्षको भन्दा दोब्बर बढी मूल्य पाएको छ । त्यसैले यस्तो अस्थिर बजार र अप्रशोधित कमोडिटीको निर्यातबाट किसान र व्यापारीले राम्रो लाभ पाउन सक्दैनन् । नेपालमा प्रशोधन उद्योग खोल्नुपर्छ । अलैंचीबाट बन्न सक्ने वस्तुहरू केके हुन् ती बनाएर बेच्दा मूल्य बढी पाइन्छ ।
अलैंची सुकाउने प्रविधिदेखि त्यसको तेल उत्पादनसम्मले फरक फरक मूल्य पाउँछ । अलैंची मात्र होइन, चिया, कफी जस्ता सबै खाले कृषि उपजको निर्यात गर्दा त्यसको उचित मूल्य प्राप्त गर्न केके गर्न सकिन्छ भन्ने किसानदेखि व्यापारीसम्मलाई तालीम दिनुपर्छ । अन्तरराष्ट्रिय बजारमा प्रशोधन गरी पठाउँदा बढी लाभ हुने भएकाले यस्तो प्रशोधन उद्योग खोल्न सरकारले प्रोत्साहन गर्ने नीति लिनुपर्छ । नीतिगत र प्रक्रियागत सहजीकरण गरेर निजीक्षेत्रलाई यसमा प्रोत्साहन गर्न सकिन्छ । त्यसैले अब नेपाली उत्पादनको निर्यात भारतीय बजारका साथै कहाँ कहाँ बढी मूल्य पाइन्छ, केकस्तो प्रशोधन गरेर पठाउँदा बढी मूल्य पाइन्छ भन्ने कुरामा सरकारले पनि अध्ययन गर्नुपर्छ र किसानहरूलाई यसमा सहयोग गर्नुपर्छ ।