साइबर क्राइम र कानुनी व्यवस्था
१. साइबर क्राइम भनेको के हो ? साइबर क्राइम नियन्त्रणका लागि नेपालमा के–कस्तो व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।
कम्प्युटर, कम्प्युटर नेटवर्क तथा उपकरणको प्रयोग गरी गरिने गैरकानुनी कार्यलाई साइबर क्राइम भनिन्छ । यो विद्युतीय सञ्चारमाध्यमबाट गरिने विद्युतीय अपराध हो । यो खासगरी कम्प्युटर (ल्यापटप वा डेस्कटप) र मोबाइल (स्मार्ट फोन वा ट्याब्लेट) जस्ता उपकरणमा इन्टरनेट जडान गरी प्रयोग गरिन्छ । सूचना प्रविधिको विकाससँगै विकसित भएको यो अपराध सामाजिक सञ्जालको माध्यमबाट हाल बढी प्रयोगमा आएको पाइन्छ । फेसबुक, मेसेन्जर, टिकटक, युट्युबलगायतका सामाजिक सञ्जालमा कसैको इच्छाविपरीतको भिडियो, फोटो, मानिसको आवाज आदिको सक्कल वा नक्कलका रूपमा दुरुपयोग गरी व्यक्तिको मान, मर्यादा, प्रतिष्ठा, इज्जतमा असर पार्ने कार्य भइरहेको पाइन्छ ।