काठमाडौं । चार पूर्व प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ। पूर्व प्रधानन्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध बुधबार सर्वोच्चमा मुद्दा दर्ता भएको हो ।
अधिवक्ता लोचन भट्टराईले चार पूर्व प्रधानन्यायाधीशको संयुक्त वक्तव्यले अदालतको मानहानी गरेको भन्दै रिट दर्ता गर्नुभएको छ ।
यसअघि मंगलबार प्रधानमन्त्री केपी ओलीविरुद्ध दुई र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अदालतको अवहेलनासम्बन्धि मुद्दा दर्ता भएका छन् ।
पूर्व प्रधानन्यायाधीश रहिसकेका व्यक्तिले प्रेस विज्ञप्ति जारी गरी दिएको अभिव्यक्तिले सर्वोच्च अदालतले गरेका निर्णय, फैसलाहरु सबै आफ्नो निहित स्वार्थ अनुकुल हुनु पर्ने, अनुकूल भएको खण्डमा स्वागत गर्ने र अनुकूल नभएको खण्डमा तुरुन्त नकारात्मक धारणा, खण्डन र आलोचना गर्ने र गर्न मिल्ने रहेछ भन्ने कुरालाई लक्षित र प्रमाणित गरेको आरोप रिटमा लगाइएको छ ।
उक्त रिटमाथि सर्वोच्चले बिहीबार पेसी तोकेको छ।
अदालतको अवहेलनामा दोषी ठहर भएमा एक वर्ष कैद सजाय वा रु १० हजार जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ।