विराटनगर । उद्यमशीलताका लागि सूचना र वित्तीय पहुँचमा कमी, व्यवसाय सञ्चालनका झन्झटिलो कानूनी प्रक्रिया र स्थानीय सरकारबाट सञ्चालित उद्यम विकास कार्यक्रम कम सहभागितामूलक हुँदा महिला उद्यमी पछि परेको सरोकारवालाहरूले बताएका छन् । नेपाल उद्योग वाणिज्य, महासंघ कोशी प्रदेशले आयोजना गरेको ‘कोशी प्रदेशको औद्योगिक कोरिडोर क्षेत्रमा महिला उद्यमीका लागि उपलब्ध अवसर र चुनौती’ विषयक कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश महिला उद्यम विकास समितिका सभापति सरु केसीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कोशी प्रदेशका पाँचओटा स्थानीय तहहरू विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, बुढीगंगा गाउँपालिका र कटहरी गाउँपालिकाका २५ महिला उद्यमीसहित ३५ जनाको सहभागिता थियो । कार्यक्रमका सहभागीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा न्यायोचित प्रवाह नभएकाले पनि लघु तथा घरेलु उद्यमीहरू मर्कामा परेको बताएका थिए ।
व्यावसायिक प्रवर्द्धनका लागि स्थापना भएका संघसंस्थामा वास्तविक महिला उद्यमीहरूको प्रतिनिधित्व नभएकाले महिला उद्यमशीलता विकासमा चुनौती भएको सरोकारवालाहरूको भनाइ थियो । कार्यक्रममा कम्युनिटी इन्गेजमेन्ट्स एण्ड आउटरिच प्रालिका डेपुटी टिम लिडर अनिरुद्र न्यौपानेले महिला उद्यमीका लागि उपलब्ध अवसर र चुनौतीका बारेमा प्रस्तुति दिएका थिए । कार्यक्रमका सभाध्यक्ष केसीले सोच, सूचना, सम्पर्क, समन्वय र सहकार्यबाट मात्र उद्यमशीलताको विकास हुने बताइन् । महिला उद्यमीलाई व्यवसाय प्रवर्द्धनका लागि सहयोग गर्न नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश सधैं तयार रहेको समेत उनले बताइन् । कार्यक्रममा सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशसहित स्थानीय तहका उद्यम विकास शाखाका प्रतिनिधिहरूले प्रदेश तथा स्थानीय सरकारले सञ्चालन गरेका उद्यम विकास सम्बन्धी कार्यक्रम र सेवा प्रवाहसम्बन्धी जानकारी गराएका थिए ।