कमोडिटी एक्सचेञ्जका लागि बोर्डमा दुई निवेदन दर्ता

काठमाडौं । कमोडिटी एक्सचेञ्जको लाईसेन्सका लागि नेपाल धितोपत्र बोर्डमा दुई कम्पनीले आवेदन दर्ता गराएका छन् । आइतवार मल्टी डेरिभेटिभ एक्सचेन्ज (मेक्स) र मल्टी एसेट्स एन्ड डेरिभिटेभिज एक्सचेन्जले आवेदन दर्ता गराएको बोर्डले जानकारी दिएको हो । बोर्डले दुई कमोडिटी एक्सचेञ्जका लागि लाईसेन्स वितरण गर्ने तयारी स्वरुप चैत ३० गते १० दिनको अवधि तोकेर आवेदन माग गरेको थियो । बोर्डले नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर सहित कमोडिटी एक्सचेञ्जका लागि समेत लाईसेन्स वितरण गर्न लागेको हो । बोर्डले यस अघि रद्द गरेको कमोडिटी एक्सचेञ्जको लाईसेन्सका लागि पुनः आवेदन माग गरेको हो । यस अघि बोर्डले २०७६ साल वैशाखमा दुई ओटा कमोडिटी एक्सचेञ्ज सञ्चालनका लागि लाईसेन्स वितरण गर्ने गरी आवेदन माग गरेको थियो । सो अवधिमा ६ कम्पनीले कमोडिटी एक्सचेञ्ज सञ्चालनको अनुमति माग्दै बोर्डमा निवेदन दिएका थिए । ती कम्पनीको आवेदन त्यस बेला बोर्डले रद्द गरेको थियो ।  बोर्डले यस अघि आवेदन रद्द भएका ती कम्पनीहरूले समेत पुनः आवेदन दिन सक्ने गरी लाइसेन्स खुला गरेको थियो । वस्तु विनिमय बजार सम्बन्धी ऐन, नियमावली तथा निर्देशिका बमोजिम योग्यता पुगेका इच्छुक संस्थाले पूर्व स्वीकृतिका लागि बोर्डमा निवेदन दिनुपर्ने व्यवस्था थियो । यस अघि आवेदन दिएका कम्पनीहरूलाई निवेदन दस्तुर नलाग्ने र तोकिएको अवधिभित्र आवेदन पेश नगरे यसअघिको निवेदन स्वतः रद्द हुने बोर्डको भनाई छ । वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ मा भएको व्यवस्था अनुसार यो बजार सञ्चालनका लागि न्यूनतम चुक्तापूँजी रू. ५० करोडले नघट्ने गरी बोर्डले समय समयमा तोके बमोजिम हुने उल्लेख छ ।   

सम्बन्धित सामग्री

व्यवसाय सञ्चालन अनुमति पाएको १० वर्ष नभई आईपीओ निष्काशन गर्न नपाइने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले व्यवसाय सञ्चालनको अनुमति अवधि १० वर्षभन्दा कम भएका कम्पनीहरुलाई आईपीओ निष्कासन गर्न नदिने भएको छ । बोर्डले ‘धितोपत्र दर्ता तथा निष्कासन (सातौं संशोधन) नियमावली, २०८०’ जारी गर्दै त्यस्ता कम्पनीहरुले बोर्डमा धितोपत्र दर्ता तथा सार्वजनिक निष्कासनका लागि निवेदन दिने नसक्ने व्यवस्था गरेको हो । ‘आवधिक रुपमा अनुमतिपत्र नवीकरण गर्नुपर्ने व्यवसाय बाहेक […]

ट्रेड टावर लिमिटेडले माग्यो आईपिओ निष्काशन अनुमति

ट्रेड टावर लिमिटेडले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आज असार १४ गते बोर्डमा आवेदन दिएको हो ।टेड्र टावर लिमिटेडको धितोपत्र दर्ता र विवरणपत्र स्वीकृतका लागी नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिएको कम्पनीले जनाएको हो ।कम्पनीले ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ बराबरको ११ लाख ५८ हजार ९ सय ८० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।  कम्पनीले शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।कम्पनीले प्रभु क्यापिटललाई प्रत्याभुतिकर्ता नियुक्त गरेको छ । जस अनुसार कम्पनीले सर्वसाधारणमा निष्काशन गर्न लागेको प्राथमिक शेयरको आईपिओ बिक्रि नभएमा बिक्रि नभएको शेयर प्रभु क्यापिटलले खरिद गर्ने छ ।  २०६७ सालमा स्थापना भएको यस कम्पनीले होटेल, आतिथ्य सेवा, आवास र बित्त, निर्माण तथा अन्य लगानीको क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीले थापाथलीमा ट्रेड टावर र भैसेपाटीमा जनता आवास निर्माण सम्पन्न गरिसकेको छ । कम्पनीले गौशालामा अर्को ट्रेड टावर निर्माण गरिरहेको छ , जुन अबको ३० महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

तीन जलविद्युत् कम्पनीले दिए आईपीओ निष्कासनको लागि बोर्डमा निवेदन

जेठ ६, काठमाडौं । पछिल्लो समय तीन कम्पनीहरूले आईपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) मा निवेदन दिएका छन् ।  माया खोला हाइड्रोपावर कम्पनी, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र मकर जितुमाया सुरि हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनका लागि बोर्डसँग अनुमति मागेका हुन् ।  माया खोला हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी कुल ३४ लाख कित्ता आईपीओ विक्री गर्न अनुमति मागेको हो । वैशाख २८ गते आईपीओ निष्कासनको लागि निवेदन दिएको माया खोला हाइड्रोपावर कम्पनीको आईपीओ विक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।  त्यस्तै, मकर जीतुमाया सुरि हाइड्रोपावर कम्पनीले पनि आयोजना प्रभावित स्थानीय र सर्वसाधारणसहित कुल २२ लाख ८० हजार कित्ता आइपीओ विक्री गर्न बोर्डमा वैशाख ८ गते निवेदन दर्ता गराएको हो । मकर जीतुमाया सुरि हाइड्रोपावर कम्पनीको आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी पनि प्रभु क्यापिटलले नै पाएको छ ।  भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण गरी कुल १६ लाख ३१ हजार १६० कित्ता आईपीओ जारी गर्नेछ । कम्पनीले उक्त कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा चैत २ गते निवेदन दिएको हो ।  भुगोल इनर्जी डभेलपमेन्टको आईपीओ विक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।

२ ओटा कम्पनीले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दिए निवेदन

जेठ ४, काठमाडौं । दुई ओटा अलग अलग कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।  भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।  भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीले १६ लाख ३२ हजार १६० कित्ता आईपीओ निष्कासन गर्नका लागि २०७८ चैत २ गते निवेदन दिएको थियो । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।  त्यस्तै मकर जितुमाया सुरी हाइड्रोपावरले २२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि गत वैशाख ८ गते धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । शेयर निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।   यी दुई ओटै कम्पनीहरुले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।

दुई महीनादेखि बजारमा छैन आईपीओ : २८ ओटा कम्पनी स्वीकृतिको पर्खाइमा

पुस १७, काठमाडौं । प्राथमिक बजारमा पछिल्लो समय आईपीओ निष्कासन हुन सकेको छैन । विगत दुई महीनादेखि आईपीओ निष्कासन नभएको हो । प्राथमिक बजारमा सामलिङ पावर कम्पनी लिमिटेडको आईपीओ पछि पछिल्लो समय आईपीओ निष्कासन भएको छैन । सामलिङ पावरले कात्तिक ४ गते देखि ८ गतेसम्म सर्वसाधारणलाई आईपीओ विक्री गरेको थियो । उक्त कम्पनीले असार ३१ गते बोर्डबाट आईपीओ निष्कासनको लागि अनुमति पाएको थियो । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त नभएकाले कम्पनीहरुले आईपीओ निष्कासनका लागि स्वीकृति पाउन ढिलाई भइरहेको छ ।  धितोपत्र बोर्डको वेबसाइटलाई आधार मान्दा विभिन्न २८ ओटा कम्पनीहरु आईपीओ स्वीकृतिको पखाइमा रहेका छन् । १८ ओटा जलविद्युत् कम्पनी, दुई ओटा बीमा कम्पनी, छ ओटा लघुवित्त कम्पनी र दुई ओटा अन्य समूहका कम्पनीहरुले आईपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ती प्रक्रिया लम्बिदा आईपीओको स्वीकृति प्रक्रियासमेत लम्बिएको छ ।  सरकारले धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष भिष्मराज ढुङ्गानालाई बुक विल्डिङ्ग बिधिमार्फत आईपीओ जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेण्टको शेयर गैरकानूनी रुपमा खरीद गरेको आरोपमा गत असोज १९ गते बर्खास्त गरेको थियो । सो पछि बोर्डमा अध्यक्ष पद रिक्त भएकोले समयमै आईपीओका लागि स्वीकृति दिन नसकिएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए । बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी पुरा गरिरहेका गिरीले पाइपलाईनमा रहेका कम्पनीहरुको आईपीओ स्वीकृतिका लागि प्रक्रिया अघि बढीरहेको समेत बताएका  छन् ।  अध्यक्ष हुँदा दैनिक रुपमा हुने काम पछिल्लो समय सञ्चालक समितिको बैठक हुँदा मात्र हुने भएकाले प्रक्रियामा ढिलाई भएको उनको भनाइ छ । यसअघि कम्पनीहरुलाई आईपीओ निष्कासनको अनुमति दिंदा शर्त राखेर दिइने गरिएको थियो भने अब ती शर्त पुरा भएपछि मात्र दिने सञ्चालक समितिको निर्देशन बमोजिम काम भइरहेको समेत उनले जानकारी दिए ।  आईपीओको स्वीकृतिको पर्खाइमा डिस मिडिया नेटवर्कसमेत रहेको छ । उक्त कम्पनीद्वारा सञ्चालित डिसहोमले सर्वसाधरणका लागि रू. २३ करोड ८५ लाख ९२ हजार ९०० बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता आईपीओ विक्रीको अनुमति माग्दै असार ३० गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । हाल उक्त कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १ करोड रहेको छ । सन् २००९ मा स्थापना भएको उक्त कम्पनी बिसं २०७४ असार १८ गते पब्लिक कम्पनीको रुपमा रूपान्तरण भई आईपीओ निष्कासनको तयारीमा जुटेको हो । डिसहोम नेपालमा उच्च डिजिटल प्रविधिको टेलिभिजन च्यानलहरुको प्रशारण गर्ने कम्पनी हो ।उक्त कम्पनीको आईपीओ स्वीकृति प्रक्रिया समिक्षा र टिप्पणी पठाइसकिएको अवस्थामा रहेको छ । त्यस्तै, रिलायबल लाइफ इन्स्योरेन्सले प्रिमियमसहित आईपीओ जारी गर्न निवेदन दर्ता गराएको छ । कम्पनीले अंकित मूल्यमा रू. ११२ प्रिमियम थप गरी प्रतिकित्ता रू. २१२ मा ६० लाख कित्ता आईपीओ जारी गर्न गत साउन १२ गते निवेदन दर्ता गराएको हो । आइएमई लाइफ इन्स्योरेन्सले भने अंकित मूल्यमै ६० लाख कित्ता आईपीओ विक्रीको लागि गत जेठ ३१ गते बोर्डमा निवेदन दिएको हो । रिलायबल लाइफको आईपीओ स्वीकृति प्रक्रिया प्रारम्भिक चरणमा रहेको छ भने आइएमई लाइफको समिक्षा र टिप्पणी पठाइसकिएको अवस्थामा रहेको छ । धितोपत्र बोर्डमा आईपीओ विक्रीको स्वीकृति माग्नेमा धेरैजसो जलविद्युत कम्पनीहरु रहेका छन् ।

३ महिनामा धितोपत्र बोर्डमा ३८ उजुरी तथा गुनासो दर्ता, कति भए समाधान ?

३ महिनाको अवधिमा नेपाल धितोपत्र बोर्डमा ३८ उजुरी तथा गुनासो दर्ता भएका छन् । बोर्डका अनुसार आर्थिक वर्ष ७८/७९ को असोज मसान्तसम्मको अवधि अर्थात् ३ महिनामा यी उजुरी तथा गुनासो दर्ता भएका हुन् । यी मध्ये  बोर्डमा लिखित रुपमा १५ उजुरी गुनासो दर्ता भएका छन् । जस मध्ये  १० उजुरी/गुनासो उपर शाखामार्फत कारवाही सम्पन्न गरिएको, १ निवेदन बोधार्थ, जानकारी तथा सुझावको रुपमा प्राप्त भएको बोर्डले जनाएको छ । त्यस्तै ४ उजुरी/गुनासो समाधानको प्रकृयामा रहेको बोर्डले उल्लेख गरेको छ।साथै नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेलो सरकारको वेब पोर्टलमार्फत २३ वटा उजुरी/गुनासो आएको बोर्डले उल्लेख गरेको छ । २३ वटै उजुरी/गुनासो उपर कारवाही सम्पन्न गरि फस्यौट भइसकेको बोर्डले जनाएको छ। बोर्डको टोलफ्रि तथा हटलाइन टेलिफोन तथा इमेल मार्फत प्राप्त गुनासो तथा जिज्ञासाको तत्समयमा सम्वन्धित महाशाखा, शाखामा समेत जानकारी गराइ समाधान गरिएको बोर्डले जनाएको छ।

हकप्रद निष्कासका लागि नारायणी डेभलपमेन्ट बैंकले बोर्डमा दियो निवेदन

असार ६, काठमाडौं । नारायणी डेभलपमेण्ट बैंकले शतप्रतिशत हकप्रद शेयर विक्री गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेवोन) मा निवेदन दर्ता गराएको छ ।  बैंकले १ बराबर १ को अनुपातमा रू. १३ करोड १२ लाख ३३ हजार ८०० बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर विक्रीको लागि असार ४ गते बोर्डमा निवेदन दर्ता गराएको हो । यो हकप्रद विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले २०७७ माघ १६ गते सम्पन्न १९औं वार्षिक साधारण सभाबाट २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त निर्णय स्वीकृतिका लागि राष्ट्र बैंकका पेश गर्दा राष्ट्र बैंकले शतप्रतिशत मात्र हकप्रद जारी गर्न स्वीकृति प्रदान गरेको थियो ।  राष्ट्र बैंकले कम्पनीको हाल कायम चुक्तापूँजी रू. १३ करोड १२ लाख ३३ हजार ८०० को आधारमा १ बराबर १ को अनुपातमा हकप्रद विक्रीका लागि जेठ २० गते स्वीकृति प्रदान गरेको हो । राष्ट्र बैंकको निर्देशन बमोजिम नै बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासनको लागि बोर्डसँग अनुमति मागेको हो । यस अघि पनि बैंकले २०७७ साल माघ १३ गतेदेखि फागुन ३ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नारायणी डेभलपमेण्ट बैंक रू. ५२ लाख ५४ हजार खुद नोक्सानीमा रहेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नोक्सानी रकम बढेको हो । गत वर्र्ष यस अवधिसम्म कम्पनी रू. १० लाख ९९ हजार खुद नोक्सानीमा रहेको थियो ।  रू. ५७ लाख ९१ हजार सञ्चालन नोक्सानीमा रहेको कम्पनीको खुद ब्याज आम्दानी पनि रू. ७ लाख ८५ हजार ऋणात्मक रहेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १४ लाख ५० हजार खुद ब्याज आम्दानी गरेको थियो ।  कम्पनीको जगेडा कोष रकम रू. १२ करोड ६० लाख रहेको छ । यस अवधिसम्म कम्पनीको रिटर्न अर्निङ भने रू. २१ करोड २७ लाख ५८ हजार ऋणात्मक रहेको छ । गत वर्षभन्दा २६५ दशमलव ३६ प्रतिशत बढी रू. ९ करोड ४४ लाख ३७ हजार निक्षेप संकलन गरेको कम्पनीले गत वर्षभन्दा ७९४ दशमलव ७९ प्रतिशत बढी रू. २ करोड ६७ लाख ८१ हजार कर्जा प्रवाह गरेको छ ।  गत वर्ष शतप्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात भने यो वर्ष २५ दशमलव ९ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी पनि रू. ४ ऋणात्मक रहेको छ । यो अवधिसम्म प्रतिशेयर नेटवर्थ रू. ३६ दशमलव १५ छ ।

आईपीओ निष्कासनका लागि दुई कम्पनीले बोर्डमा दिए निवेदन

पछिल्लो समय दुई कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । मानुषी लघुवित्त वित्तीय संस्था र दोर्दी खोला जलविद्युत कम्पनीले पछिल्लो समय आईपीओ निष्कासन गर्नका बोर्डमा निवेदन दिएका हुन् ।  लघुवित्तले बैशाख १३ गते र दार्दी खोला जलविद्युत कम्पनीले बैशाख २१ गते आईपीओ निष्कासनको निवेदन दर्ता गराएको हो । लघुवित्तले ३ लाख ९३ हजार ७५० कित्ता र दोर्दी खोला जलविद्युत कम्पनीले २९ लाख ५१ हजार ९२९ कित्ता आईपीओ निष्कासनको तयारी गरेका हुन ।  लघुवित्तको आईपीओ विक्री प्रबन्धकमा नेपाल ए...