तीन जलविद्युत् कम्पनीले दिए आईपीओ निष्कासनको लागि बोर्डमा निवेदन

जेठ ६, काठमाडौं । पछिल्लो समय तीन कम्पनीहरूले आईपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) मा निवेदन दिएका छन् ।  माया खोला हाइड्रोपावर कम्पनी, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र मकर जितुमाया सुरि हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनका लागि बोर्डसँग अनुमति मागेका हुन् ।  माया खोला हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी कुल ३४ लाख कित्ता आईपीओ विक्री गर्न अनुमति मागेको हो । वैशाख २८ गते आईपीओ निष्कासनको लागि निवेदन दिएको माया खोला हाइड्रोपावर कम्पनीको आईपीओ विक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।  त्यस्तै, मकर जीतुमाया सुरि हाइड्रोपावर कम्पनीले पनि आयोजना प्रभावित स्थानीय र सर्वसाधारणसहित कुल २२ लाख ८० हजार कित्ता आइपीओ विक्री गर्न बोर्डमा वैशाख ८ गते निवेदन दर्ता गराएको हो । मकर जीतुमाया सुरि हाइड्रोपावर कम्पनीको आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी पनि प्रभु क्यापिटलले नै पाएको छ ।  भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण गरी कुल १६ लाख ३१ हजार १६० कित्ता आईपीओ जारी गर्नेछ । कम्पनीले उक्त कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा चैत २ गते निवेदन दिएको हो ।  भुगोल इनर्जी डभेलपमेन्टको आईपीओ विक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ । 

सम्बन्धित सामग्री

कात्तिक १ पछि आईपीओ स्वीकृति ठप्प

काठमाडौं । शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाढीले दोस्रो बजारमा आपूर्ति बढेको गुनासो आएसँगै नेपाल धितोपत्र बोर्डले कात्तिक १ गतेपछि आईपीओ स्वीकृति दिएको छैन ।  कात्तिक १ गते बोर्डले हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई प्रिमियम मूल्यसहित प्रतिकित्ता २०६ रूपैयाँमा आईपीओ विक्री गर्न अनुमति दिएको थियो । त्यसपछि आईपीओ अनुमति ठप्प छ ।  नियमपूर्वक प्रक्रिया पूरा गरेका कम्पनीलाई आईपीओ अनुमति दिँदा पनि बोर्डको नेतृत्व र व्यवस्थापनको आलोचना हुन थालेपछि अध्यक्ष रमेशकुमार हमालले स्वीकृति प्रक्रियामा ढिलाइ गरेका हुन् । नियमपूर्वक काम गर्दा पनि अनेकौं मुद्दा मामिलाको सामना गर्नुपरेकाले कार्यसम्पादन नै सुस्त हुन पुगेको हमालले दाबी गरे ।  बोर्ड अध्यक्षले प्रक्रिया पूरा गरेको फाइल स्वीकृत गर्दा आलोचना भएपछि सञ्चालक समितिमार्फत फाइल स्वीकृत गराउने मनसाय अध्यक्ष हमालको थियो । उनले ‘बजारको दीर्घकालीन विकासका लागि’ आफूले अघि सारेको नीति प्रभावकारी हुने/नहुने विषयमा अहिले व्यवस्थापनसँग छलफल जारी रहेकाले सञ्चालक समितिमा उक्त प्रस्ताव पुगिनसकेको बताए ।  बोर्डमा सार्वजनिक निष्कासनको स्वीकृति प्रक्रियाका लागि विभाग गठन गरेर स्वच्छ र पारदर्शी रूपमा काम भइरहेकोमा अनावश्यक आलोचनाबाट काम गर्ने कर्मचारी त्रसित भएको हमालले बताए । उनले यस्ता गतिविधिले नेपालमा सही कामको मूल्यांकन नहुने कुराको पुष्टि गर्ने समेत बताए । केही लगानीकर्ताको मागबमोजिम बोर्डले आईपीओ स्वीकृति प्रक्रियामा ढिलाइ गरेपछि चाँडै नै यसको निकास खोज्नुपर्नेमा लगानीकर्ताले नै जोड दिएका छन् । शेयर लगानीकर्ता संघ (नेपाल) का कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलले दोस्रो बजारको सकारात्मक गति तय गर्न आईपीओ स्वीकृति प्रक्रिया रोक्नु उचित नहुने बताए । आलोचना भयो भन्दैमा नियामक निकायले आफ्नो नियम नै उल्लंघन गरेर आईपीओ स्वीकृतिमा ढिलाइ गर्न नहुने उनको तर्क छ ।  धितोपत्रको दोस्रो बजारप्रति लगानीकर्ताको जति चिन्ता छ त्योभन्दा बढी चिन्ता र जिम्मेवारी नियामक निकायले लिनुपर्ने भएकाले बजारको भविष्यलाई ध्यानमा राखी बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन स्वीकृति प्रक्रियालाई निरन्तरता दिनुपर्ने फुल्लेलले बताए ।  पछिल्लो समय बोर्डले सार्वजनिक निष्कासनलाई विशेष प्राथमिकताका साथ अघि बढाएको थियो । बोर्डको यो प्राथमिकताकै कारण वास्तविक क्षेत्रका कम्पनीदेखि जलविद्युत् क्षेत्रका धेरै कम्पनीले आईपीओमा चासो देखाएका छन् । राम्रा कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न दिनेदेखि बुक बिल्डिङ विधिबाट समेत शेयर बेच्न दिने बाटो बोर्डले खुला गरेको थियो । लामो समयदेखि अन्योल बनेको बुक बिल्डिङ विधिमार्फत शेयर बेच्ने प्रक्रिया सर्वोत्तम सिमेन्टले अघि बढाएको छ । सर्वोत्तमले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि यो विधिबाट आईपीओ विक्री गरिसकेको छ । योग्य संस्थागत लगानीकर्तामा विक्री भएको आईपीओको कटअफ मूल्य ४०१ रूपैयाँ निर्धारण भएको छ । अब यो मूल्यभन्दा १० प्रतिशत कममा कम्पनीले सर्वसाधारणलाई शेयर बेच्नेछ ।  अर्को एउटा कम्पनीले पनि बुक बिल्डिङ विधिबाट शेयर बेच्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले न्यूनतम ६०८ रूपैयाँदेखि अधिकतम ९१२ रूपैयाँमा बुक बिल्डिङ विधिबाट शेयर विक्रीका लागि २०७९ असार ३१ गते नै बोर्डमा निवेदन दिएको थियो । यो कम्पनीसँगै २२ कम्पनीले आईपीओ अनुमति माग्दै बोर्डमा निवेदन दिएका छन् । बोर्डमा निवेदन दिने २२ कम्पनीमा अन्य समूह अन्तर्गतका ७, होटल तथा पर्यटनतर्फका २, जलविद्युत् समूहका ११, उत्पादन तथा प्रशोधन समूहका २ कम्पनी छन् ।

थ्री स्टार हाइड्रोपावरले पायो धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति

काठमाडौं । थ्री स्टार हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न अनुमति पाएको छ ।  कम्पनीले आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा रू. १२ करोड ३१ लाख २५ हजार बराबरको १२ लाख ३१ हजार २५० कित्ता आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।  कम्पनीलाई आईपीओ निष्कासनका लागि बोर्डले चैत १७ गते अनुमति प्रदान गरेको जानकारी दिएको छ । हाल कम्पनीमा संस्थापक तर्फको ७५ प्रतिशत शेयर स्वामित्व कायम  छ । कम्पनीको चुक्तापूँजी रू. ३६ करोड ९३ लाख ७५ हजार रहेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा २५ प्रतिशत शेयर विक्री गर्न लागेको हो । सर्वसाधारणमा आईपीओ बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी रू. ४९ करोड २५ लाख कायम हुनेछ ।  गत साउन १७ गते कम्पनीले आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दर्ता गराएको थियो । यो आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको काम  हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीले खोटाङ जिल्लामा ६ दशमलव ६ मेगावाट क्षमताको सपसुप खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस आयोजनको निर्माण लागत रू. ५ अर्ब हुने अनुमान कम्पनीको छ ।

दुई महीनादेखि बजारमा छैन आईपीओ : २८ ओटा कम्पनी स्वीकृतिको पर्खाइमा

पुस १७, काठमाडौं । प्राथमिक बजारमा पछिल्लो समय आईपीओ निष्कासन हुन सकेको छैन । विगत दुई महीनादेखि आईपीओ निष्कासन नभएको हो । प्राथमिक बजारमा सामलिङ पावर कम्पनी लिमिटेडको आईपीओ पछि पछिल्लो समय आईपीओ निष्कासन भएको छैन । सामलिङ पावरले कात्तिक ४ गते देखि ८ गतेसम्म सर्वसाधारणलाई आईपीओ विक्री गरेको थियो । उक्त कम्पनीले असार ३१ गते बोर्डबाट आईपीओ निष्कासनको लागि अनुमति पाएको थियो । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त नभएकाले कम्पनीहरुले आईपीओ निष्कासनका लागि स्वीकृति पाउन ढिलाई भइरहेको छ ।  धितोपत्र बोर्डको वेबसाइटलाई आधार मान्दा विभिन्न २८ ओटा कम्पनीहरु आईपीओ स्वीकृतिको पखाइमा रहेका छन् । १८ ओटा जलविद्युत् कम्पनी, दुई ओटा बीमा कम्पनी, छ ओटा लघुवित्त कम्पनी र दुई ओटा अन्य समूहका कम्पनीहरुले आईपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ती प्रक्रिया लम्बिदा आईपीओको स्वीकृति प्रक्रियासमेत लम्बिएको छ ।  सरकारले धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष भिष्मराज ढुङ्गानालाई बुक विल्डिङ्ग बिधिमार्फत आईपीओ जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेण्टको शेयर गैरकानूनी रुपमा खरीद गरेको आरोपमा गत असोज १९ गते बर्खास्त गरेको थियो । सो पछि बोर्डमा अध्यक्ष पद रिक्त भएकोले समयमै आईपीओका लागि स्वीकृति दिन नसकिएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए । बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी पुरा गरिरहेका गिरीले पाइपलाईनमा रहेका कम्पनीहरुको आईपीओ स्वीकृतिका लागि प्रक्रिया अघि बढीरहेको समेत बताएका  छन् ।  अध्यक्ष हुँदा दैनिक रुपमा हुने काम पछिल्लो समय सञ्चालक समितिको बैठक हुँदा मात्र हुने भएकाले प्रक्रियामा ढिलाई भएको उनको भनाइ छ । यसअघि कम्पनीहरुलाई आईपीओ निष्कासनको अनुमति दिंदा शर्त राखेर दिइने गरिएको थियो भने अब ती शर्त पुरा भएपछि मात्र दिने सञ्चालक समितिको निर्देशन बमोजिम काम भइरहेको समेत उनले जानकारी दिए ।  आईपीओको स्वीकृतिको पर्खाइमा डिस मिडिया नेटवर्कसमेत रहेको छ । उक्त कम्पनीद्वारा सञ्चालित डिसहोमले सर्वसाधरणका लागि रू. २३ करोड ८५ लाख ९२ हजार ९०० बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता आईपीओ विक्रीको अनुमति माग्दै असार ३० गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । हाल उक्त कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १ करोड रहेको छ । सन् २००९ मा स्थापना भएको उक्त कम्पनी बिसं २०७४ असार १८ गते पब्लिक कम्पनीको रुपमा रूपान्तरण भई आईपीओ निष्कासनको तयारीमा जुटेको हो । डिसहोम नेपालमा उच्च डिजिटल प्रविधिको टेलिभिजन च्यानलहरुको प्रशारण गर्ने कम्पनी हो ।उक्त कम्पनीको आईपीओ स्वीकृति प्रक्रिया समिक्षा र टिप्पणी पठाइसकिएको अवस्थामा रहेको छ । त्यस्तै, रिलायबल लाइफ इन्स्योरेन्सले प्रिमियमसहित आईपीओ जारी गर्न निवेदन दर्ता गराएको छ । कम्पनीले अंकित मूल्यमा रू. ११२ प्रिमियम थप गरी प्रतिकित्ता रू. २१२ मा ६० लाख कित्ता आईपीओ जारी गर्न गत साउन १२ गते निवेदन दर्ता गराएको हो । आइएमई लाइफ इन्स्योरेन्सले भने अंकित मूल्यमै ६० लाख कित्ता आईपीओ विक्रीको लागि गत जेठ ३१ गते बोर्डमा निवेदन दिएको हो । रिलायबल लाइफको आईपीओ स्वीकृति प्रक्रिया प्रारम्भिक चरणमा रहेको छ भने आइएमई लाइफको समिक्षा र टिप्पणी पठाइसकिएको अवस्थामा रहेको छ । धितोपत्र बोर्डमा आईपीओ विक्रीको स्वीकृति माग्नेमा धेरैजसो जलविद्युत कम्पनीहरु रहेका छन् ।