साउन २९, बैतडी । बैतडी जिल्लाकै सबैभन्दा पुरानो विद्यालय दसरथ प्राथमिक विद्यालयको जिर्ण भवनलाई हटाएर नयाँ भवन निर्माण गरिएको छ । नयाँ भवन निर्माण गरेपछि सयौँ वर्ष पुरानो विद्यालयको मुहारनै फेरिएको छ ।
विद्यालयको भौतिक संरचना सुधार गर्नमा सयौँ वर्ष हुँदा पनि कसैको ध्यान जान सकेको थिएन । सम्बन्धित निकायले देख्ने ठाउँ बैतडी समदरमुकाम गढिको यो विद्यालय सुधारमा कसैले चासो देखाएको थिएनन् ।
सयौँ वर्ष पुग्दासम्म पनि साविकको जिल्ला विकास र शिक्षा कार्यालयको ध्यान पुगेको थिएन । देश संघियतामा गइसकेपछि पनि सयौँ वर्ष पुरानो यस विद्यालयको जिर्ण रहेको विद्यालयको भौतिक संरचनाको अवस्था जस्ताको त्यस्तै रहेको थियो ।
स्थानीय सरकारको पनि भौतिक संरचना लगायत अन्य प्रविधिक सुधारमा ध्यान नपुगेपछि प्रदेश सरकारलाई गुहार गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु राम भुलले बताए ।
अध्यक्ष भुलले भने ‘मैले साविकको जिल्ला विकासदेखि लिएर सबै नेताहरुलाई आग्रह गरे कसैले सहयोग गरेन बल्ल गत आर्थिक वर्षमा सुदूरपश्चिम सरकारले सहयोग गरेको हो’ । गत आर्थिक वर्षमा प्रदेश सरकाको समाजिक विकास मन्त्रालयले दुईकोठे भवनको लागि २८ लाख बजेट विनियोजन गरेको थियो ।
सयौँ वर्ष पहिले निर्माण गरेको विद्यालय पुरै भत्काएर नयाँ निर्माण गर्नुपर्ने थियो । बजेटमा दुई कोठे भएपनि विद्यालय व्यवस्थापन समितिले सोहि बजेटमा तीन कोठा निर्माण गरि विद्यालयको मुहारनै फेरिदिएको छ ।
सदरमुकाम केन्द्रमा रहेको यो पुरानो विद्यालयमा अहिले सबै दलित र जनजातीबालबालिका मात्र अध्ययनरत छन् । जसमा १९ प्रतिशत दलित बालबालिका रहेको विद्यालयका प्रधानाध्यापक सरद सिह ठगुन्नाले बताए ।
विद्यालयको भौतिक संरचना जिर्ण भएपनि शिक्षकहरुको पर्याप्त व्यवस्था रहेको छ । घर नजिक भनेर शिक्षक शिक्षिकाले काज समेत यसै विद्यालयमा मिलाएका छन् । अहिले विद्यालयमा दुई दरवन्दी चार काजका शिक्षक शिक्षिका र दुई बालविकासका शिक्षिका गरी आठ जना शिक्षक शिक्षिका रहेका छन् ।