भजनी (टीकापुर) । आकर्षक पर्यटकीय संरचनाले भरिभराउ कैलालीको टीकापुर क्षेत्र थप पर्यटकको पर्खाईमा छ । प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशको सिमाना कर्णाली पुल हुँदै पूर्व–पश्चिम राजमार्गअन्तर्गत लम्कीदेखि १४ किलोमिटर दक्षिणतर्फ टीकापुर पर्दछ । आन्तरिक तथा बाह्य पर्यटकका लागि यस क्षेत्रको प्रमुख आकर्षण बनेको टीकापुरले नेपाल भ्रमण वर्ष २०२० मा थप बाह्य पर्यटकलाई स्वागत गर्ने तयारी पनि गरिरहेको छ ।
टीकापुर क्षेत्रका प्रमुख पर्यटकीय संरचनामा टीकापुर पार्क, पदमप्रकाशेश्वर मन्दिर, पर्शुराम कुण्ड, बिपी कुञ्ज, डल्फिन क्षेत्र, ओजहुवा ताल, कर्णाली नदीलगायत छन् । जिल्लाका यी प्रमुख पर्यटकीय क्षेत्र टीकापुर नगरपालिकाभित्र पर्छन् ।