लयमा फर्कन लागेको पर्यटन व्यवसायमा खराब मौसमले चुनौती

कोरोना कहरले थलिएको नेपालको पर्यटन व्यवसाय लयमा फर्कन लाग्दा मौसमले चुनौती दिएको छ । खराब मौसमका कारण खुम्बु र रामेछापमा दुई हजार चार सयभन्दा बढी पर्यटक अलपत्र परेका छन् । पर्यटकीय सिजनको सुरुवातमै चार दिनदेखि मौसममा आएको खराबीका कारण उडान हुन नसक्दा लुक्लामा चार सय पर्यटक अलपत्र बनेको लुक्लाका लाक्पाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । पर्यटक …

सम्बन्धित सामग्री

मधेशको पर्यटन क्षेत्र भगवान् भरोसामा चलिरहेको छ (अन्तरवार्ता)

होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त कोरोना महामारीयता होटल र पर्यटन व्यवसायमा परेको प्रतिकूल प्रभावबाट चिन्तित छन् । होटल व्यवसायी महासंघ नेपालका सचिवसमेत रहेका उनी पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि व्यवसायी र तहगत सरकारको संयुक्त प्रयासको खाँचो देख्छन् । यो व्यवसायको पछिल्लो अवस्था र सम्भावनाबारे पन्तसँग आर्थिक अभियानले गरेको कुराकानीको सार :  होटल तथा पर्यटन व्यवसायको पछिल्लो अवस्था कस्तो छ ? अहिले होटल तथा पर्यटन क्षेत्र थला परेर कोमामा पुगेको छ । कोभिडको पहिलो, दोस्रो र तेस्रो लहर पार गरेपछि यो क्षेत्रमा ठूलो आशा पलाएको थियो । आशा यस अर्थमा कि, कोरोनाकालको लामो लकडाउन अवधिमा विश्व नै एक किसिमले थुनिएर बसेको थियो । र, कोभिडको समाप्तिसँगै मानिसहरू बाह्य होस् वा आन्तरिक दुवै किसिमले घुम्न निस्किन्छन् र होटल तथा पर्यटन क्षेत्रको तुरुन्तै पुनरुत्थान हुन्छ भन्ने व्यवसायीहरूको आकलन थियो । त्यसको ठीक उल्टो भयो ।  केही समय पुरानै लयमा फर्किंदै गरेको यो क्षेत्र त्यसपछि आएको आर्थिक मन्दीले नराम्रोसँग थलियो । मधेश क्षेत्रको पर्यटकीय अवस्था चाहिँ कस्तो पाउनुहुन्छ ? छिमेकी देश भारतको करीब साढे १४ करोड जनसंख्या भएको विहार राज्यसँग जोडिएको मधेश प्रदेशमा पर्यटन व्यवसाय उन्नत हुनुपर्ने हो । यो वास्तवमा मधेशको सपना पनि थियो । यसरी सोच्दा मधेशमा पर्यटनको अपार सम्भावना थियो र छ पनि । अन्त टाढा कतै जान नसके पनि मधेशको सबैभन्दा नजिक, एक प्रकारले आफ्नै आँगनमा रहेको विहारको त्यो जनसंख्याको केही हिस्सामा मात्र पुग्न सके पनि मधेशको पर्यटनका लागि अथाह बजार हुन्थ्यो । तर, त्यस्ता पहल कहीँकतै कुनै स्तरबाट हुन सकेको छैन । यहाँको होटल तथा पर्यटन क्षेत्र भगवान् भरोसा चलिरहेको छ । होटल तथा पर्यटन व्यवसायी संघको एकल प्रयासले मात्र मधेशको पर्यटन विकास र प्रवर्द्धन सम्भव छैन पर्यटकहरू सीमाबाट भित्रिने, तर यहाँ नअडिने किन भएको हो ? मधेशले न आफ्नै बुताले मधेश घुम्न पर्यटन बोलाउन सक्यो, न काठमाडौं, सौराहा र पोखराजस्ता नाम चलेका पर्यटकीय स्थानमा जान सीमानाका हुँदै भित्रिएका पर्यटकलाई यहाँ एक दिन पनि अड्याउन सक्यो । हामीले यसका लागि आवश्यक पर्यटकीय पूर्वाधार बनाउन सकेनौं । थोरै लगानी, छोटो समय र थोरै प्रयासबाटै धेरै प्रतिफल दिन सक्ने परियोजना धेरै हुँदा पनि त्यसलाई पहिचान गरी छुट्टै पर्यटन नीति बनाएर अगाडि बढ्न सकेनांै । फलस्वरूप यहाँ त्यस्ता पर्यटकीय स्थल बन्न सकेनन् । भएका केही थोरै पर्यटकीय स्थलको प्रवर्द्धन हुन सकेन । सम्भावना भएका केही पर्यटकीय गन्तव्यको प्रचारप्रसार हुन सकेन । यी सब कारणले मधेशमा पर्यटकलाई एक दिन पनि रोक्न सक्ने वातावरण बन्न सकेन । मधेशमा पर्यटक आकर्षणका लागि पर्यटकीय प्याकेज बनाउन पनि हामी पछाडि पर्‍यौं । स्तरीय होटलको अभाव पनि पर्यटक यहाँ बस्न नरुचाउनुको कारण हो ? होइन, मधेशमा पर्यटकको खर्च गर्ने आर्थिक सामथ्र्य अनुसारका पाँचतारे होटलदेखि सामान्य स्तरका होटल धेरै छन् । बरु, पर्यटकीय प्याकेजमा हामी पछाडि परेका हौं । पर्यटकलाई एक–दुई दिन यहाँ रोकेर राख्ने प्याकेज हामीसँग नभएको हो । यस्ता सम्भाव्य ठाउँ नभएका पनि होइनन् । तर, त्यसको उचित संयोजन र प्रचारप्रसारको अभाव छ ।  यस्ता समस्याको समाधान कसरी हुन्छ त ? मधेशको पर्यटन प्रवर्द्धनमा तहगत सरकारको आआफ्नै किसिमको भूमिका छ । जुन तीनै तहका सरकारले इमानदारीका साथ लागेमा असम्भव छैन । साँच्चै पर्यटन प्रवर्द्धनमा लाग्ने हो भने सर्वप्रथम संघीय पर्यटन मन्त्रालय र प्रदेशको पर्यटन मन्त्रालयको संयुक्त टोली बनाई सम्भावित पर्यटकीय स्थलको पहिचान गर्नुपर्दछ । पहिचान गरिएका पर्यटकीय स्थलको विकासका लागि कम्तीमा पनि पञ्चवर्षीय योजना बनाउनुपर्छ । सम्बन्धित स्थानीय तहलाई समेत त्यसमा जोडेर तीनै तहका सरकारले आआफ्नो क्षमताअनुसारको बजेट विनियोजन गर्नुपर्दछ । संयुक्त रूपमा अगाडि बढे ५ वर्षमै धेरै काम गर्न सकिन्छ । यसरी विकास गरिएका पर्यटकीय स्थलको प्रवर्द्धन र प्रचारप्रसार भारतको विहारमै मात्र राम्ररी गर्न सके पनि हाम्रै पालामा मधेशको पर्यटनमा कायापलट सम्भव छ । होटल तथा पर्यटन व्यवसायी संघले पर्यटन प्रवर्द्धनका लागि के कस्ता योजना बनाएको छ ? होटल तथा पर्यटन व्यवसायी संघको एकल प्रयासले मात्र मधेशको पर्यटन विकास र प्रवर्द्धन सम्भव छैन । खासमा हामीले त हाम्रो पर्यटन क्षेत्रको अनुभव र यसको विकासमा देखेको सम्भावना र बाटोका बारेमा तहगत सरकारलाई औंल्याइदिने हो । हाम्रो भोगाइ र अनुभव समेटेर यसो गर्दा ठीक हुन्छ भनेर सुझाव दिने हो, आग्रह गर्ने हो । नीति र त्यसअनुसारका योजना बनाएर कार्यान्वयनमा लैजाने काम सरकारको हो । सरकारको काममा सहकार्यका लागि हामी सधैं तयार छौं ।

पर्यटन व्यवसायका विविध आयाम

नेपाल पर्यटन उद्योगको प्रचुर सम्भावना रहेको देश हो । भौगोलिक रूपमा सानो भएर पनि प्राकृतिक विविधताका कारण विश्वमा नै अग्र स्थानमा रहेको छ । नेपालमा पर्यटक आकर्षित हुनुका कारणहरू अनेक रहेका छन् । त्यस्तै नेपालमा पर्यटनका विविध आयात र क्षेत्र रहेका छन् । ती सबै आयामलाई उपयोग गर्न सके यसबाट समृद्धिको बाटो खुल्न सक्छ ।   ग्रामीण पर्यटन : आजभोलि ग्रामीण पर्यटनको महत्त्व ज्यादा बढेको देखिन्छ । शहरी वातावरणबाट अलिक मात्र उन्मुक्ति प्राप्त गर्ने ध्येयले स्वदेशी पर्यटक पनि आन्तरिक पर्यटकका रूपमा गाउँ घुम्न जान्छन् । यसले रोजगारी तथा आन्तरिक उत्पादनले बजारीकरणको अवसरसमेत प्राप्त गराउँछ । पर्यटकहरू स्वभावैले जिज्ञासु हुन्छन् । उनीहरू नवीन स्थान तथा वनस्पति र जीवजन्तु आदिका बारेमा जान्न चाहेका हुन्छन् । यस्ता पर्यटकका लागि ग्रामीण पर्यटन उत्तम मानिन्छ । विश्वभर फैलिएको कोरोना महामारीको संक्रमणका कारण सुस्ताएको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्किरहेको छ । पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटक अवलोकन भ्रमण गर्न होस् या बिदा मनाउन नै किन नहोस्, गाउँमा पुग्ने गरेका छन् । यसले नेपालको आन्तरिक बजारमा मात्र नभई विश्व बजारमा पनि प्रचार भएर पर्यटन व्यवसायमा थप टेवा पुग्छ । ग्रामीण पर्यटनले स्थानीय र रैथाने उत्पादनको स्वादको मजा मात्र नलिई उक्त उत्पादनको बजारीकरणसमेत हुन्छ । कोदो, फापर, करू, जौ, सिस्नुको पीठो, मार्सी चामल, सिमीको दाल, सिन्की, लप्सी, कागुनोजस्ता दर्जनौं उत्पादनले चर्चा पाउने र त्यसको बजारीकरणमा समेत प्रभावकारी रहने भएकोले गाउँ पर्यटनको महत्त्व ज्यादा रहेको छ । होमस्टे : होमस्टेले पर्यटकलाई भिन्न खालको अनुभूति गराउन सफल भएको छ । यसले स्थान विशेषको प्रचार गराउन सहयोग गर्छ । त्यस स्थानका श्रमिकले रोजगारी पाउँछन् । पर्यटकले नयाँपनको अनुभूति गर्दै स्थानीय परिकारको स्वाद लिएर आनन्दित बन्दै फर्कन्छन् । यसैले हाम्रो देशको आर्थिक र पर्यटन विकासमा होमस्टे अवधारणा वरदान नै सावित हुन सक्छ । यस्ता होमस्टे सञ्चालन गर्ने सबै व्यवसायलाई थप सहज बनाउन स्थानीय सरकारले कर र अन्य कार्यमा सहजीकरण गरी प्रेरित गर्न सक्नुपर्छ । हस्तकला र पर्यटन : पर्यटन व्यवसायबाट हस्तकलाको विकासमा सहयोग पुग्छ । हस्तकला र पर्यटन एकअर्काका परिपूरक हुन्छन् । पहाडी क्षेत्रका विशेष हस्तकलाहरूमा चकटी, सानासाना कलात्मक मूर्तिहरू, टोपी, फेटा, पटुका, पन्जा, मुडाजस्ता सामग्रीको व्यापार प्रवर्द्धन गर्न सकिन्छ । यसले पर्यटनको विकासका साथमा हस्तकलाको पनि प्रवर्द्धन हुन्छ । यसले रोजगारी समेत सृजना गर्छ । त्यसैगरी मधेश प्रदेशमा ढक्की, माटाका आकर्षक भाँडाहरू, विभिन्न देवीदेवताका मूर्ति, मिथिला चित्रकला आदिले पनि बजार पाउन सक्छन् ।   साहसिक पर्यटन : आन्तरिक पर्यटकको प्रमुख रोजाइमा बञ्जी जम्पिङ परेको छ । नेपालमा यस्ता साहसिक गतिविधिहरू सञ्चालन गरेर पर्यटन प्रवर्द्धन गर्न सकिन्छ । उत्तरी भेगबाट बग्ने तीव्र गतिका नदीमा र्‍याफ्टिङको सम्भावना ज्यादा रहेकाले यसमा थप लगानी र प्रचार आवश्यक छ । यसैगरी प्याराग्लाइडिङ, हिमाल आरोहणजस्ता साहसिक पर्यटनको विकासमा जोड दिनुपर्छ जसले हाम्रो देशको चौतर्फी विकासमा समेत सहयोग दिन्छ । सांस्कृतिक पर्यटन : नेपालमा १२५ जातजातिका मानिसहरूको आआफ्नै मौलिक परम्परा, रहनसहन, रीतिरिवाज तथा मूल्य मान्यता रहेका छन् । यी नै सांस्कृतिक विविधता अवलोकन गर्न पनि धेरै पर्यटक नेपालमा आउँछन् । यो हाम्रो विशेष पहिचान पनि भएकाले यसको संरक्षणमा समेत हामीले ध्यान दिन जरुरी हुन्छ । सम्पदा पर्यटन : नेपाल धार्मिक तथा ऐतिहासिक स्थलका लागि प्रसिद्ध रहेको छ । विश्व सम्पदा सूचिका सूचीकृत भएका दशओटा सम्पदा नेपालमै छन् । पशुपति क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, बौद्धनाथ महाचैत्य, लुम्बिनी, हनुमान ढोका दरबार क्षेत्र, स्वयम्भूनाथ स्तूप, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र र चाँगुनारायण मन्दिर विश्व सम्पदामा परेका छन् । यिनै सम्पदाहरूका कारण पनि नेपाल अवलोकन भ्रमणका लागि पर्यटक आउने गरेका छन् । यसले पनि आर्थिक विकास तथा पर्यटन व्यवसायमा बल दिएको अवस्था छ । हावापानीमा विविधता : हाम्रो देश नेपाल हावापानीका हिसाबले पनि विविधतायुक्त रहेको छ । यहाँको दक्षिणी भागमा उष्ण, मध्यभागमा समशीतोष्ण तथा उत्तरी भागमा ठण्डा प्रकारको हावापानी पाइन्छ । सबै खाले हावापानी रुचाउने पर्यटकलाई नेपाल भ्रमण उच्च रोजाइको देश बनेको छ । यसले नेपालको सबै क्षेत्रमा पर्यटन व्यवसायको विकासको सम्भावनासमेत बराबर रहेको देखिन्छ । वन्यजन्तु अवलोकन पर्यटन : नेपाल हावापानी र भौगोलिक विविधताले गर्दा वनस्पति र वन्यजन्तुको विविधितामा पनि अग्र स्थानमा रहेको छ । देशको विभिन्न भागलाई निकुञ्ज, आरक्षण र संरक्षण क्षेत्रका रूपमा विकास गरिएको छ । विभिन्न लोपोन्मुख प्रजातिका जनावर तथा चराचुरुङ्गीहरू प्रशस्त मात्रामा पाइने भएकाले यहाँ अध्ययन र अवलोकन गर्न पर्यटकहरू आउने गरेका छन् । यस्ता पर्यटक खर्चालु समेत हुने भएकाले पर्यटनले बढी लाभ लिन सक्छ । नेपाल प्राकृतिक सुन्दरताको हिसाबले अत्यन्तै आकर्षक देश हो । यहाँको हिमाली शृंखलाहरू, मनोरम पहाडी स्थलहरू, विभिन्न प्रकारका भू–सतह, गुफा, ताल, झर्ना तथा नदीहरूले विदेशी पर्यटकहरूको मन लोभ्याउने गरेको वास्तविकता हामीसामु छिपेको छैन । अझ हामीले अन्य धेरै स्थानको पहिचान गर्न सकेमा यस क्षेत्रको विकासमा थप बल मिल्ने निश्चित छ । पर्यटकले चाहेअनुसारका सेवा र सुविधा प्रदान गर्न सकेमा मनग्य लाभ पर्यटन व्यवसायबाट लिन सकिन्छ । लेखक विश्वशान्ति कलेजका समाजशास्त्रका अध्यापक हुन् ।

बैंकको व्याजले व्यवसाय धान्न समस्या

काठमाडौँ,१३ असोज । वित्तीय चर्को ब्याजले व्यवसाय धान्न नसक्ने जनाउँदै एक अङ्कमा झारेर ऋण प्रवाह गर्न पर्यटन व्यवसायीले माग गरेका छन् । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले आयोजना गरेको विजयादशमी तथा दीपावलीको शुभकामना आदान–प्रदान कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भूकम्प र कोरानाको मारले व्यवसायमा सङ्कट आएको पर्यटन व्यवसाय लयमा फर्किन अझै समय लाग्ने […]

बैंकको चर्को व्याजले व्यवसाय धान्न सक्दैनौँ: पर्यटन व्यवसायी

पोखरा । वित्तीय चर्को ब्याजले व्यवसाय धान्न नसक्ने जनाउँदै एक अङ्कमा झारेर ऋण प्रवाह गर्न पर्यटन व्यवसायीले माग गरेका छन् । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले आयोजना गरेको विजयादशमी तथा दीपावलीको शुभकामना आदान–प्रदान कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भूकम्प र कोरानाको मारले व्यवसायमा सङ्कट आएको पर्यटन व्यवसाय लयमा फर्किन अझै समय लाग्ने भन्दै […]

पर्यटन पुनरुत्थान समितिको जिम्मेवारी

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दर वृद्धि भएसँगै फाट्टफुट्ट देखिएका पर्यटक फेरि हराउन थालेका छन् । अलिअलि भएका बुकिङ पनि रद्द भएका छन् । विगत २ वर्षदेखि पर्यटन व्यवसाय करीब करीब ठप्प छ । कोरोनाले सबैजसो पेशा व्यवसाय प्रभावित भए पनि लामो समयसम्म प्रभाव पारिरहेको क्षेत्रचाहिँ पर्यटन नै हो । कोरोनाकै कारण कतिपय व्यवसायी व्यवसायबाट पलायन भइसकेका छन् भने कतिपयचाहिँ सुधारको अपेक्षामा जसोतसो पेशालाई निरन्तरता दिने काममा लागिरहेका छन् । पर्यटन व्यवसायलाई सरकारले केही राहत दिए पनि त्यो धेरै व्यवसायीका लागि सहज भएन । अहिले गठबन्धनको सरकार बनेपछि पर्यटन पुनरूत्थानका लागि राम गिरीको संयोजकत्वमा पर्यटन क्षेत्र पुनरुत्थान प्राविधिक समिति गठन गरेको छ । पर्यटनमन्त्री प्रेम आलेको अध्यक्षतामा गठित पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिलाई कोभिड–१९ का कारण थला परेको पर्यटन उद्योगको पुनरुत्थान, पर्यटन उद्योगका नयाँ सम्भावनाहरूको खोजी, पहिचान तथा प्रवर्द्धन एवं पर्यटन क्षेत्रमा लगानीको वातावरणका लागि काम गर्न समितिलाई कार्यादेश दिइएको छ । समितिमा अर्थ मन्त्रालयका उपसचिवस्तरका प्रतिनिधि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाका उपसचिव, पर्यटन विभागका उपसचिवस्तरका प्रतिनिधि, नेपाल पर्यटन बोर्डका पूर्व सीईओ दीपकराज जोशी, नेपाल पर्यटन बोर्डको निर्देशक स्तरका प्रतिनिधि, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिहरू छन् । यसैगरी नेपाल एयरलाइन्सका क्याप्टेनहरू, उद्धव घिमिरे र सुरज भण्डारी, लुम्बिनी संग्रहालयका अध्यक्ष सुनिमा उदास, नेपाल पाटा च्याप्टरका सीईओ सुरेशसिंह बुडेल र सदस्य सचिवमा मन्त्रालयको पर्यटन प्रवर्द्धन शाखाका उपसचिव पनि पर्यटन क्षेत्र पुनरूत्थान प्राविधिक समितिमा छन् । पर्यटनको पुनरुत्थान अहिलेको जल्दाबल्दो समस्या हो । यसका लागि सरकारले अध्ययन अघि बढाउनु राम्रो काम हो । तर, समितिमा चर्चामा आएका र नेपालको समग्र पर्यटन बुझेका व्यक्तिहरू पर्न सकेका छैनन् । त्यस्ता व्यक्तिलाई पनि समेटिएका भए यस्तो समितिको औचित्य बढी देखिन्थ्यो । साथै पर्यटन व्यवसायका वास्तविक समस्या र तिनको समाधानका ठोस उपायबारे सरकारले सही सुझाव प्राप्त गथ्र्यो । अझ पर्यटन व्यवसायीसँग एकपटक अनौपचारिक छलफल गरेर यस्तो समिति बनाएको भए त्यो बढी प्रभावकारी हुने थियो । जस्तो समिति बने पनि सरकार पर्यटन व्यवसायले भोग्नु परेका समस्यामा संवेदनशील छ भन्नेचाहिँ यसले देखाएको छ । पर्यटन उद्योगका नयाँ सम्भावनाहरूको खोजी, पहिचान तथा प्रवर्द्धन एवं पर्यटन क्षेत्रमा लगानीको वातावरणका लागि काम गर्ने जिम्मा समितिले पाएको छ । आशा गरौं, समितिले पक्कै पनि केही ठोस र व्यावहारिक सुझाव देला । यस्तो सुझावको कार्यान्वयन भयो भने पक्कै पर्यटन क्षेत्रले केही लाभ लिनेछ । तर, यस्ता सुझावहरू कार्यान्वयनमा नगएका विगतमा तीता अनुभवहरू छन् । हुँदैन नभन्ने तर कामचाहिँ नगरिदिने प्रवृत्ति सरकारी संयन्त्रमा सधैं देखिँदै आएको छ । आजसम्म पर्यटन क्षेत्रमा क्रियाशील संघसंस्थाहरूले विभिन्न समस्या सरकारी अधिकारीहरूसमक्ष नराखेका होइनन् । आश्वासन पनि नपाएका होइनन् तर काम भने खासै हुन सकेको देखिँदैन । यो समिति पनि यस्तो नबनोस् भन्नेमा समितिमा बस्ने सदस्यहरू र सरकार आफै पनि प्रतिबद्ध हुन जरुरी छ । कोरोनाका नयाँ नयाँ भेरियन्ट आइरहने देखिएका हुँदा अब कोभिडसँगसँगै पर्यटनलाई अगाडि बढाउनुको विकल्प नभएकाले स्वास्थ्य मापदण्डको पालना गरी पर्यटन बजार तंग्रिने गरी सरकारले नीति तर्जुमा गर्नुपर्ने देखिन्छ । कोरोना महामारीपछि पर्यटन क्षेत्रमा लगाइएको असहजता हटाउँदै खुला गरिनुपर्छ । नेपालका प्रायःजसो सबै मुख्य गन्तव्यमा कोभिडविरुद्धको खोप लगाउने दर उच्च रहेको र अग्रपंक्तिमा सेवा दिने सबै पर्यटनकर्मीले उक्त खोपको मात्रा पूरा गरिसकेकोे सन्दर्भमा पर्यटन क्षेत्रलाई चलायमान बन्ने क्रममा रहेको छ । पूर्ण डोज खोप लगाएका पर्यटकलाई क्वारेन्टाइनमा बस्नु नपर्ने, पर्यटकलाई अनअराइभल भिसा उपलब्ध गराउने निर्णय पछिल्लो समय सरकारले गरेका सकारात्मक पहल हुन् । सुरक्षित गन्तव्य र गतिविधिहरू पहिचान गरी प्रचारप्रसार गर्न आवश्यक छ । लामो समय पर्यटन क्षेत्र चलायमान नहुँदा यो क्षेत्रको रोजगारी, लगानी, यसमा रहेका पूर्वाधार जोखिममा परेको छ । पूर्ण खोपको मात्रा लगाएको सुनिश्चित गरेर पर्यटन बजारमा सुरक्षित पर्यटन क्षेत्र भनेर सकारात्मक सन्देश प्रवाह गर्न सकेको खण्डमा पर्यटक आगमन बढ्न सक्छ । अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) कोभिडले सन् २०२१ मा गरेको अध्ययनअनुसार २ लाख ३० हजारको रोजगारी जोखिममा परेको, २० हजार टुर र ट्रेकिङ गाइडहरू बेरोजगार भएको र २ हजार ६ सय ट्रेकिङ एजेन्सीमा असर पर्दा करीब ५३ करोड अर्थात् ४ सय ६० मिलियन डलर बराबरको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) गुमेको छ । त्यसैले पर्यटन बजारलाई चलायमान बनाउन विशेष अभियान आवश्यक छ । आन्तरिक पर्यटन तत्कालका लागि राहत हो । विदेशी पर्यटक नआएसम्म पर्यटन पुरानै लयमा फर्कन सक्दैन । अझ अहिले पर्यटन व्यवसायमा नेपालको प्रतिस्पर्धा अन्य मुलुकसँग बढेर गएको छ । भारत, चीन, माल्दिभ्सलगायत देशसँग प्रतिस्पर्धा छ । त्यसैले पर्यटक आगमनलाई जति सकिन्छ छिटो सहज बनाइनुपर्छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नै एन्टिजेन, पीसीआर परीक्षण गर्ने व्यवस्था गरेर संक्रमण नदेखिएका पर्यटकलाई सहजै नेपालमा घुम्न दिने व्यवस्था गर्न आवश्यक छ । नेपालको प्रमुख पर्यटकीय प्रडक्ट प्रकृति नै हो । यहाँ पर्यटकको ठूलो भीडभाड नहुने गरी गतिविधि हुने गरेको छ । यस्तोमा संक्रमणकै अवस्थामा पनि पर्यटक आगमन हुन सक्छ । यूरोप अमेरिकातिरको प्रवृत्ति हेर्दा संक्रमणको बेवास्ता गर्दै पर्यटक घुम्न निस्किएको पाइन्छ । भ्याक्सिनको प्रमाणपत्र र कोरोना नेगेटिभको रिपोर्ट हेरेर उनीहरूले सबै पर्यटक गतिविधि खुला राखेका छन् । हामीले पनि त्यस्तै गर्नुपर्छ । नेपालको प्रचार राम्रो छ । तर, त्यो प्रचारलाई पर्यटनको बजारीकरणसँग जोड्न सकिएको छैन । प्रचार हुनु र बजारीकरणमा फरक छ । नयाँ रणनीतिका साथ बजारीकरण गर्नु आवश्यक छ । सरकारले झन्झटरहित यात्रा गराउन सकेको खण्डमा अझ राम्रो हुँदै जानेछ । अबसबै देशले पर्यटकको प्रचारप्रचारमा काम गरिरहेका छन्, हामीले पनि हाम्रो स्रोत बजारमा प्रचारप्रचारमा लाग्नु नै अबको रणनीति हुनुपर्छ । लेखक नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वमहासचिव हुन् ।

लयमा फर्कंदै कालिञ्चोकको पर्यटन व्यवसाय

दोलखा । दोलखाको कालिञ्चोकमा पर्यटन व्यवसाय पुरानै लयमा फर्कन थालेको छ । हिउँ पर्ने याम शुरू भएकाले पनि कालिञ्चोक घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढेको छ । कोरोना महामारी कम भएको तथा हिउँ पर्ने सिजन शुरू भएकाले होटल बुकिङ बढेको होटल सुनपातीका प्रबन्धक विमल ओझाले बताए । विशेषगरी शुक्रवार होटलको ‘अकुपेन्सी’ क्षमता अनुरूप नै हुने गरेको उनको भनाइ छ । यस्तै कालिञ्चोक कुरीका अर्का होटल व्यवसायी चन्द्र लामाले पछिल्ला दिनमा पर्यटक आउने क्रम बढेको बताए । अन्य दिन ३० देखि ४० प्रतिशत कोठा बुक हुने गरेकोमा शुक्रवार भने ८० प्रतिशतभन्दा पुग्ने गरेको कालिञ्चोकका होटल व्यवसायी बताउँछन् । कोभिडका कारण एक वर्षभन्दा बढी समयदेखि पर्यटक आगमन ठप्पप्रायः रहेको कालिञ्चोकमा अहिले पुनः पर्यटकीय चहलपहल हुन थालेको छ । साथै केबलकार चढेर कालिञ्चोक मन्दिर दर्शन गर्नेहरू समेत बढिरहेकोे कालिञ्चोक केबलकारका निमित्त प्रमुख सन्देश शिवाकोटीको भनाइ छ । कोभिडकै कारण करीब डेढ वर्षदेखि केबलकार बन्द थियो । विशेषगरी हिउँ पर्ने सिजनमा कालिञ्चोकमा आन्तरिक पर्यटकको भीड लाग्ने गर्दछ । काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट हिउँ खेल्न जानेहरूका लागि नजिकको आकर्षक गन्तव्यको रूपमा कालिञ्चोक परिचित छ । दृश्यावलोकन गर्न, हिउँ खेल्न तथा कालिञ्चोक भगवतीको दर्शन गर्न वर्षेनि हजारौं मानिस कालिञ्चोक आउने गरेका छन् । ३ हजार ८४१ मिटर उचाइमा रहेको कालिञ्चोकबाट रोल्वालिङ तथा जुगल हिमश्रृंखला तथा सूर्यास्तको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । कालिञ्चोकमा साना ठूला गरी ५० होटल छन् । महामारीले व्यवसाय नै ठप्प भएको समयमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेकाले सदरमुकाम चरिकोटका होटल व्यवसायी समेत उत्साहित छन् । कोरोना महामारी बढेका बेला दोलखाको होटल व्यवसायमा दैनिक २५ लाख रुपैयाँ घाटा भएको अनुमान गरिएको छ । आन्तरिक पर्यटकको रोजाइमा परेको कालिञ्चोकमा पर्यटक आउँदा सदरमुकाम चरिकोटका होटलको पनि व्यवसाय बढ्ने गरेको चरिकोटस्थित होटल लक्ष्मीका सञ्चालक राजेश उप्रेतीले बताए । ‘पर्यटक भरिभराउ हुने भएकाले हिउँ पर्ने सिजनमा यहाँको होटल व्यवसायमा पनि राम्रै कारोबार हुन्छ,’ उनले भने । सिजनमा होटल बुक नगरी आउँदा आन्तरिक पर्यटक अलपत्र पर्न सक्ने भएकाले पहिले नै होटल बुक गरेर मात्र आउन उनको सुझाव छ ।

सित्तैको प्रचार र नेपालको पर्यटन

नेपाल कोरोनाबाट थलिएको विश्व पर्यटनले बिस्तारै गति समात्दै छ । बाह्य पर्यटक आगमन उल्लेख्य नभए पनि आन्तरिक पर्यटककै भरमा धेरै देशको पर्यटनले पुनरुत्थानको बाटो लिइरहेको छ । नेपालमा कहिलेबाट बाह्य पर्यटक आउलान्, आन्तरिक पर्यटकलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा ठोस र प्रभावकारी रणनीति तय भएको छैन । न सरकार, न पर्यटन बोर्ड न त व्यवसायीले नै यसमा राम्रो तयारी गरेको देखिन्छ । अहिले लोन्ली प्लानेटले नेपाललाई घुम्नैपर्ने देशको सूचीमा राखेपछि पर्यटन व्यवसायी खुशी भएका छन् । लोन्ली प्लानेटले हरेक वर्ष विश्वका उत्कृष्ट गन्तव्यहरूको सूची सार्वजनिक गर्ने गरेको छ । अरू वर्षहरूमा जसरी नै नेपालको नाम पनि यसमा समावेश गरिएको छ । तर, यसपटक सगरमाथा र अन्नपूर्ण सर्किटबाहेक मुस्ताङको विशेष चर्चा गरेको छ ।  पर्वतारोहीहरूका लागि मुस्ताङ पनि उत्तिकै आकर्षक स्थल रहेको उल्लेख छ । त्यहाँको मरुभूमि समान अलौकिक दृश्यको मजा लिनुका साथै स्थानीय होमस्टेहरूमा नेपालका विशेष परिकारको स्वाद पनि लिन पाइने उल्लेख गरिएको छ । जस्तै याकको बटरसँग कफी, कोठे शैलीको मःमः लगायत विभिन्न स्वादिष्ट परिकारबारे पनि उल्लेख गरिएको छ । विश्वका अन्य आकर्षक गन्तव्यहरूमा इजिप्टको पिरामिड्स अफ गिजा, मलावी, ओमान, एङविला, स्लोभेनिया, बेलिज, मोरिसियस, नर्वे र कुक आइलन्ड्स रहेको छ । यसरी विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा नेपाल पर्नु ठूलो महŒवको कुरा हो । विभिन्न संस्थाले पर्यटकलाई नयाँनयाँ गन्तव्यहरूको सूची जारी गरेर त्यहाँको विशेषतालाई उजागर गरिदिने गरेका छन् । फोब्र्सको सूची होस् बा लोन्ली प्लानेट वा ट्रिप एडभाइजर नै किन नहोस् । तिनले नेपालको नाम छुटाउने गरेको छैनन् । नेपालका विभिन्न पर्यटकीय गन्तव्य र विशेषताहरूको चर्चा तिनीहरूले गर्ने गरेका छन् । नेपालले करोडौं रुपैयाँ खर्च गरेर पनि गर्न नसक्ने विज्ञापन यिनीहरूले गरिदिएका छन् । अहिले विश्वभरि नै पर्यटन बजारमा मन्दी आएका बेला लन्ली प्लानेटको सूची महत्त्वपूर्ण मान्नुपर्छ । पर्यटन बिस्तारै लयमा आउन खोजेको आभास भइरहँदा यस्ता निःशुल्क रूपमा भएका विज्ञापनले ठूलो अर्थ राख्छ । तर, प्रचार हुनुमात्रै पर्याप्त होइन भन्नेमा हाम्रो ध्यान जानु पनि उत्तिकै महत्त्वपूर्ण छ । यस्ता पर्यटकीय चर्चामा नेपालको नाम आउँदा हामी मख्ख पर्छौं । तर, त्यस्तो प्रचारबाट पाएको अवसरको उपयोगमा भने हामी मजाले चुकेका छौं । विश्वभरि नै नेपालको भौगोलिक र प्राकृतिक अद्वितीयताको चर्चा राम्रै भएको पाइन्छ । त्यहाँका मानिसहरूको ड्रिम डेस्टिनेशन अर्थात् सपनाको गन्तव्य नेपाल बनेको पनि पाइन्छ । तर, उनीहरू नेपाल घुम्न चाहेर पनि घुम्न पाइरहेका छैनन् । यो सरासर हामी नेपालीको कमजोरी हो । यसमा सरकार, पर्यटन बोर्ड र हामी व्यवसायीहरू कुनै न कुनै रूपमा दोषी छौं । तिनलाई नेपाल सुरक्षित छ, घुम्नका लागि सहज सुविधा छ र तिनले नेपाल भ्रमणका कुनै अवरोध वा समस्या भोग्नु पर्दैन भन्ने विश्वास पर्यटकलाई दिलाउन सकेका छैनौं । पर्यटकले हेर्ने विविध कुरामध्ये सुरक्षा पनि एक हो । ट्रेकिङ आदिमा आउने पर्यटक दुई चार जनाको समूहमा हिँड्न रुचाउँछन् । एक्लै हिँड्न रुचाउने पर्यटक पनि हुन्छन् । तिनबाट उचित शुल्क लिएर यस्तो अवसर दिलाउनुपर्छ । उनीहरूलाई यी खालका क्रियाकलापमा समस्या छैन, आपत्ति आइपर्दैन भन्ने जानकारी राम्ररी दिन सकेमात्रै पनि गुणस्तरीय पर्यटक नेपाल भित्र्याउन नसकिने होइन । नेपालमा पछिल्लो समयमा स्तरीय होटलहरू खुल्ने क्रम निकै बढेको छ । ठूला व्यापारिक घराना र गैरआवसाीय नेपालीहरूले यसमा ठूलो लगानी गरेका छन् । पर्यटकीय बसहरू चल्न थालेका छन् । आन्तरिक हवाई उडानको पनि राम्रै व्यवस्था छ । अर्थात् पर्यटकीय सेवाहरू पस्कन हामी तयार भएर बसेका छौं । १ वर्षमा २० लाख पर्यटक नेपाल आए भने पनि तिनलाई सेवा दिन सक्ने हैसियत पर्यटन व्यवसायीको रहेको छ । पर्यटक नेपाल आउन तयार छन्, नेपालभित्र पर्यटकलाई सेवा दिन व्यवसायीहरू तयार छन् तर पर्यटक नेपाल आउन सकेका छैनन् । किन उनीहरू नेपाल आउन नसकेका हुन् त ? तिनलाई नेपाल ल्याउन कस्तो रणनीति आवश्यक पर्छ त भन्नेमा नै हाम्रो पर्याप्त तयारी रहेको देखिँदैन । पर्यटनहरू नेपाल आउन नसक्नुको एउटा प्रमुख कारण हवाई सेवा गन्तव्य मुलुकहरूमा नहुनु हो । नेपाल वायु सेवा निगमले जापानमा उडान शुरू गर्नेबित्तिकै कोरोना शुरू भयो । जर्मनी, बेलायत र फ्रान्सजस्ता गन्तव्यमा नेवानिको उडान कहिलेदेखि हुन्छ अत्तापत्तो छैन । यी देशमा नेवानिको सेवा सञ्चालन भएका वर्षहरूमा त्यहाँबाट गुणस्तरीय पर्यटक आएको इतिहास छ । नेवानिसँग विमान भएर पनि उसले उडान विस्तार गर्न नसक्नुको परिणाम पर्यटन व्यवसायले भोगिरहेको छ । विगतमा नेवानिसँग विमान थिएन तर अहिले विमान भएर पनि उसले पर्यटक ल्याउन सकेको छैन । नेवानिको सस्तो उडान यूरोपेली मुलुकमा गर्न सक्ने हो भने लोन्ली प्लानेट वा अन्य पर्यटन उडभाइजरहरूले गरेको प्रशंसा र प्रचारको फल नेपाली पर्यटन क्षेत्रले पाउन सक्छ । निजीक्षेत्रको हिमालयन एयरलाइन्सले पनि पर्यटकीय बजारमा उडान गर्न सकेको छैन । नेपालीहरू जाने क्षेत्रमा मात्र उसले उडानमा रुचि राखेको छ । अर्काले प्रचार गरिदिए पनि त्यसको लाभ लिन नसक्नुको कारण विदेशी पर्यटक एजेन्टसँग राम्रो सम्बन्ध राख्न नसक्नु हो । नेपालीहरूबीचको अस्वस्थ प्रतिस्पर्धाका कारण गन्तव्य मुलुकहरूका एजेन्टले नेपालजस्तै भूभाग भएको भारत वा अन्यत्र जान पर्यटकरूलाई प्रेरित गरेको पाइन्छ । पर्यटन एजेन्सीहरूसँग राम्रो सम्बन्ध कायम गर्न सके यो प्रचारको फाइदा लिन सकिन्छ । पर्यटन बोर्डको भूमिका पनि सन्तोषजनक देखिएको छैन । परिणाममुखी नयाँ सोचको काम गर्नुभन्दा दैनिक प्रशासनिक काममा सीमित रहनु नै बोर्डको काम देखिएको छ । यसरी नेपालको पर्यटन व्यवसायमा समन्वयको अभाव भएकाले तथा सही नीति राज्यले लिन नसकेकाले पर्यटनको सम्भाव्यता दोहन गर्न नसकिएको हो । पन्त नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वमहासचिव हुन् ।

दशैंले चलायमान पर्यटन

बिहीवारदेखि यो वर्षको दशैं पर्व शुरू भएको छ । आफन्त, इष्टमित्र, घरपरिवारसँग बसेर रमाइलो गर्ने अवसर जुराइदिने यस पर्वले मुलुकको अर्थतन्त्रमा पनि उल्लेख्य टेवा पुर्‍याउँछ । अर्थतन्त्रका विभिन्न आयामसँग जोडिने यो पर्वले पर्यटन क्षेत्रमा पनि उत्तिकै महŒव राख्छ । वर्षभरमा सर्वाधिक बिदा हुने समय पनि दशैं नै हो । यसबेला परिवार, साथीसंगी विभिन्न गन्तव्यमा जान रुचाउँछन् । घमाइलो र रमाइलो सिजन अर्थात् पर्यटकीय सिजनको रूपमा लिइने अक्टोबर महीनामा दशैं पर्दा यसको महत्त्व अझ बढी हुनेगर्छ । मानिसहरू घुम्न निस्कने र विदेशी पर्यटक पनि नेपाल आउने उपयुक्त समय पनि यही भएकाले दशैंले पर्यटन क्षेत्रलाई समेत चलायमान बनाउँछ । सन् २०१९ देखि निरन्तर ओरालो लागेको मुलुकको पर्यटन सन् २०२१ मा उकालो लाग्ने आशाको किरण देखिएको छ । सन् २०२० को शुरूदेखि नै कोरोना भाइरस (कोभिड–१९) का कारण सबैभन्दा बढी थलिएको पर्यटन क्षेत्र अहिले विस्तारै लयमा फर्किने क्रममा छ । कोरोना संक्रमण दर घट्दो क्रममा रहेको, कोभिडविरुद्धको खोप र सरकारले हालै अनअराइभल भिसा खुला गर्नु तथा तुरुन्तै परेको दशैंका कारण पनि पर्यटन क्षेत्रमा आशाको किरण देखिन थालेको हो । मुलुकका प्रसिद्ध पर्यटकीय गन्तव्यका पर्यटन व्यवसायीले दशैंका कारण व्यवसायमा उत्साह देखा पर्न थालेको बताएका छन् । अहिले न्यूनतम १० प्रतिशतसम्म रहेको अकुपेन्सी दशैंसम्ममा औसतमा ४० प्रतिशतसम्म पुग्ने व्यवसायीहरूको अनुमान छ । आन्तरिक र भारतीय पर्यटकबाट पनि राम्रो बुकिङ भइरहेको उनीहरूको भनाइ छ । होटेल एशोसिएशन नेपाल (हान) चितवन च्याप्टरका अध्यक्ष दीपक भट्टराई दशैं पर्वका कारण निकै उत्साहित छन् । ‘अहिले आन्तरिक पर्यटक बढ्ने क्रम जारी छ,’ उनले भने, ‘आन्तरिक पर्यटकको बुकिङ पनि आएको छ र भारतीय पर्यटक पनि आउन शुरू गरेका छन् । साथै तेस्रो मुलुकबाट पनि छिटफुट रूपमा पर्यटक आएका छन् ।’ अहिले चितवन र सौराहाका होटेल ३० प्रतिशतसम्म बुकिङ भइसकेको उनी बताउँछन् । होटेल बुकिङ गर्नेहरूमा भारतीय बढी रहेका छन् । उनीहरूले बढीमा ३ दिनसम्मका लागि बुकिङ गरेको पाइन्छ । दशैंका लागि बुकिङ गर्नेहरूको क्रम बढेकाले पर्यटन क्षेत्रले लय समात्न लागेको हो कि भन्ने देखिएको छ । अहिले आन्तरिक पर्यटक आगमन करीब १५ प्रतिशतसम्म रहेको र दशैंसम्ममा ४५ प्रतिशतसम्म अकुपेन्सी पुग्ने सम्भावना रहेको भट्टराई बताउँछन् । यस्तै धारणा हान च्याप्टर पोखराका अध्यक्ष विकल तुलाचनको छ । दशैंको नजिकतिर आन्तरिक पर्यटन बढ्ने सम्भावना रहेको उनी बताउँछन् । कोभिडको समयमा १० प्रतिशतमा रहेको अकुपेन्सी दशैं नजिकिँदै गर्दा ३५ प्रतिशतसम्म पुग्ने आकलन गरिएको उनको भनाइ छ । सरकारले भर्खरै बाह्य पर्यटकका लागि नेपाल आवागमन सहज बनाएकाले तत्काल दोस्रो तथा तेस्रो मुलुकका पर्यटक आउने सम्भावना कम छ । त्यसकारण पनि अहिले व्यवसायीहरू आन्तरिक पर्यटकमा नै भर परेका छन् । आन्तरिक पर्यटकबाट नै दशैंमा पर्यटन क्षेत्रमा चलहपहल हुने आशामा व्यवसायी छन् । चाडपर्वको समयमा आन्तरिक पर्यटकको घुम्ने बानी, बुकिङको अवस्था र चासोले पनि व्यवसायीहरू उत्साहित देखिएका हुन् । यो सब कोभिडविरुद्धको खोप र आवतजावतमा खुकुलो नीतिका कारण नै सम्भव भएको छ । पोखराका होटेलको अकुपेन्सी अहिले न्यून नै रहेको तुलाचन बताउँछन् । चाडपर्वको समय भएकाले दशैंतिहारसम्ममा अकुपेन्सी बढ्ने अपेक्षा रहेको उनको भनाइ छ । पर्यटकीय याम भए पनि विदेशी पर्यटक आउने सम्भावना कम छ । सरकारले ढिलो गरी विदेशी पर्यटक आगमन नीति खुला गरेकाले नेपाल आउने पर्यटक पनि आउनबाट वञ्चित भएको उनको भनाइ छ । यस्तै काठमाडौं उपत्यकाबाट नजिकको गन्तव्य मानिने नगरकोट, धुलिखेलमा पनि दशैंले उत्साह थपेको छ । धुलिखेलका होटेल व्यवसायी प्रेमकण्ठ श्रेष्ठले दशैंका लागि ३० प्रतिशतसम्म बुकिङ भइसकेको बताए । अबको सोमवारसम्म लगभग होटेलहरू भरिने सम्भावना रहेको उनको भनाइ छ । २/३ महीना अघिदेखि नै पर्यटनमा राम्रो संकेत देखापरेको बताउने श्रेष्ठ ‘धेरै मानिसले खोप लगाइसकेको र व्यवसायीहरूले पनि खोप लगाएकाले पर्यटनमा सकारात्मक किरण देखिएको छ,’ भन्छन् । यद्यपि विदेशी पर्यटकभन्दा आन्तरिक पर्यटक नै बढी आइरहेको र बुकिङ पनि उनीहरूबाटै बढी भइरहेको उनी बताउँछन् । यसैगरी एयरलाइन्स कम्पनीहरूले पनि दशैं अफ नै भनेर घोषणा नगरे पनि विभिन्न सस्तो प्याकेज ल्याएका छन् । दशैंका लागि हालसम्म ७० प्रतिशत बुकिङ भइसकेको बताउने एयरलाइन्स कम्पनीहरूले प्रसिद्ध गन्तव्यका लागि सस्तो प्याकेज ल्याएका हुन् । त्यसमध्ये बुद्ध एयर एउटा हो । आन्तरिक गन्तव्य पोखराका लागि बुद्धले रू. ८ हजारको २ रात ३ दिनको प्याकेज ल्याएको छ । दशैं अफर नै नभने पनि असोज २५ गते मनाउने गरेको आफ्नो २४औं वार्षिकोत्सवको अवसर पारेर सस्तो प्याकेज ल्याएको छ । यसअन्तर्गत रू. ७ हजार ९९९ मा काठमाडौं–पोेखरा उडानमा २ रात ३ दिनसम्म पोखरामा बसेर घुम्न पाइन्छ । यस्तै बुद्ध होलिडेले भैरहवा–पोखरा रू. ८ हजार ९९९, नेपालगञ्जबाट पोखराका लागि रू. १० हजार ९९९ र सिमरा–पोखराका लागि रू.९ हजार ९९९ को प्याकेज ल्याएको छ । यसले पनि पर्यटकीय गन्तव्य पोखरामा आन्तरिक पर्यटकहरू पुग्ने विश्वास गर्न सकिन्छ । बुद्ध एयरका अनुसार अधिकांशको रोजाइ पोखरा नै पर्ने गरेको छ । नेपालमा घुम्न लागि सुगम र रमणीय गन्तव्यको रूपमा काठमाडौं उपत्यका, पोखरा, चितवन, नगरकोट, लुम्बिनी, धुलिखेल जस्ता पर्यकीय गन्तव्य त छँदै छन्, त्यसबाहेक पर्वतारोहण र ट्रेकिङ पदयात्राका लागि मनास्लु, मुस्ताङ, हुम्ला, तत्लो डोल्पा, कञ्चजंगा, माथिल्लो डोल्पा प्रसिद्ध गन्तव्य मानिन्छन् । नेपाल पर्यटन तथ्यांक २०२० अनुसार नेपालमा सर्वाधिक पर्यटक आएको वर्षका रूपमा सन् २०१९ लाई लिइन्छ । यस वर्ष ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल घुम्न आएका थिए । पर्यटक नेपाल आउने प्रमुख देशमा भारत, चीन, अमेरिका, बेलायत, श्रीलंका, म्यान्मा र थाइल्यान्ड हुन् । खासगरी सन् २०१९ मा बिदा मनाउन ७ लाख ७८ हजार १७३ जना पर्यटक आउँदा सन् २०२० मा भने यो संख्या १ लाख ३९ हजार २०२ मा झरेको थियो । सन् २०१९ मा धार्मिक पर्यटक १ लाख ९७ हजार ७८६ आएका थिए भने सन् २०२० मा २८ हजार ५३० आएका थिए । यस्तै ट्रेकिङ तथा पर्वतारोहणका लागि सन् २०१९ मा १ लाख ७१ हजार ९३७ पर्यटक आएकोमा सन् २०२० मा यो संख्या ३५ हजार ८९३ रहेको थियो । नेपालको पर्यटन पुरानै अवस्थामा फर्कन अझै केही वर्ष कुर्नुपर्ने देखिन्छ । सन् २०२१ को सेप्टेम्बरसम्म जम्मा ७६ हजार ८६४ विदेशी पर्यटक नेपालमा आएका छन् । यो संख्या हेर्दा सन् २०२१ मा पनि नेपालमा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने सम्भावना देखिँदैन । आन्तरिक पर्यटक र चाडपर्वको अवसरले नेपाली पर्यटन क्षेत्र भरथेग भई विस्तारै लयमा फर्कनसक्ने अवस्था भने विद्यमान छ ।

पर्यटन व्यवसायलाई सहयोग

नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले प्रमुख पर्यटकीय गन्तव्य बढी भएको गण्डकी प्रदेशका पर्यटन व्यवसायीले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत उपलब्ध गराएको सुविधा उपयोग गर्न नसेकेको देखाएको छ । कोरोना महामारी तथा त्यसको नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी र निषेधाज्ञाबाट सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटनका व्यवसायीले मौद्रिक नीतिमार्फत धेरै नै सहयोगको अपेक्षा गरेका थिए । उनीहरूका सबै मागलाई सम्बोधन गर्न नसकिए पनि उपलब्ध गराइएको सुविधाहरूसमेत ४० प्रतिशतले उपयोग गर्न नसकेको देखिएको छ जसको संकेत राम्रो छैन । विश्व पर्यटनमै समस्या आएकाले अन्य देशले आन्तरिक पर्यटनमा बढी जोड दिएको पाइन्छ । नेपालमा पनि के गर्न सकिन्छ सबै पक्ष मिलेर समाधान खोज्नु आवश्यक मात्र होइन अनिवार्य भइसकेको छ । मौद्रिक नीतिले उपलब्ध गराएका सुविधाहरूमध्ये ३० दशमलव ४ प्रतिशत व्यवसायीले पुनर्कर्जा र २४ दशमलव ७ प्रतिशतले कर्जा भुक्तानीको म्याद थप सुविधा प्रयोग गरेको पाइन्छ । त्यस्तै ८ दशमलव २ प्रतिशत उद्योगले चालू पूँजी कर्जा, ६ दशमलव ३ प्रतिशतले ग्रेस अवधि थप र १ दशमलव ९ प्रतिशतले कर्जाको पुनर्तालिकीकरण सुविधा प्रयोग प्रयोग गरेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । यसरी राष्ट्र बैंकले उपलब्ध गराएको सहुलियत धेरै पर्यटन व्यवसायीले उपयोग नगर्नुमा विभिन्न कारण रहेका छन् । मौद्रिक नीतिले उपलब्ध गराएका सुविधा लिन राखिएका शर्त कडा भएका कारण यस्तो सुविधाको उपयोग कम भएको हुन सक्छ । राष्ट्र बैंकले जति नै सकारात्मक रूपमा लिए पनि पर्यटन व्यवसायमा परेको प्रभावका अनुपातमा सहुलियत उपयोग भने निकै कम हो । त्यसैले शर्तहरू उपयुक्त र सहज नभएका हुन् कि भन्ने देखिन्छ । त्यसो हो भने मौद्रिक नीतिका सहुलियत उनीहरूले पाउने वातावरण बनाउन राष्ट्र बैंकले थप निर्देशन जारी गर्नु आवश्यक हुन्छ । कतिपय पर्यटन व्यवसायीले सहुलियत कर्जा तथा अन्य राहत पहुँचवालाहरूले मात्रै पाएको गुनासो गरेको कुरा यहाँ स्मरणीय छ । पर्यटन व्यवसायलाई सहयोग पुग्ने गरी ल्याइएको सहुलियत उपयोग कम भएको देखिनुको अर्को कारण व्यवसायीहरू पलायन भएको पनि हुन सक्छ । राष्ट्र बैंकको अध्ययनले पलायन भएका व्यवसायीबारे अध्ययन गरेको छैन । तर, ठूलै परिमाणमा व्यवसायीहरू पलायन भएको पर्यटनसम्बद्ध व्यवसायीहरूको भनाइ पाइन्छ । त्यसो त पर्यटन व्यवसायका साना मझौला उद्योगहरू पारिवारिक रूपमा सञ्चालन भएका तथा त्यसमा कार्यरत कामदारहरूको सेवासुविधाको निश्चितता नभएको अवस्थामा धेरै कामदारहरूलाई बिदा गरेको पाइन्छ । यही कारण पर्यटन क्षेत्रमा कार्यरत लाखौंले रोजगारी गुमाए पनि तिनको सही तथ्यांक उपलब्ध हुन नसकेको देखिन्छ । जे भए पनि सरकारी सुविधाको उपयोग कम हुनु समस्या नै हो । पर्यटन व्यवसाय पूर्ण लयमा आउन अझै केही वर्ष लाग्ने विश्लेषण विश्वभरि नै भइरहेको सन्दर्भमा व्यवसायीहरूले कर्जा सुविधा उपयोग गर्न नचाहेको हुन सक्छ । कतिपय व्यवसायीले जायजेथा बेचेर पनि व्यवसायको हिसाबकिताब मिलान गरेको र व्यवसाय अस्थायी किसिमले बन्द गरेको पाइन्छ । त्यसैले सरकारले पर्यटन व्यवसायलाई हेर्नुपर्‍यो, बन्द नै भएका हुन् भने तिनलाई सञ्चालनमा ल्याउन सहयोग गर्नुपर्‍यो । नेपालको अर्थतन्त्रको प्रमुख क्षेत्रमध्ये एक पर्यटन भएकाले यसलाई जोगाउन आवश्यक छ । त्यसका लागि सरकार, व्यवसायी, पर्यटन बोर्ड लगायतले मिलेर नयाँ उपाय खोज्नु पर्‍यो । विश्व पर्यटनमै समस्या आएकाले अन्य देशले आन्तरिक पर्यटनमा बढी जोड दिएको पाइन्छ । नेपालमा पनि के गर्न सकिन्छ सबै पक्ष मिलेर समाधान खोज्नु आवश्यक मात्र होइन अनिवार्य भइसकेको छ । निष्क्रिय भएर बसेका पर्यटन व्यवसायीहरूलाई कर्जा भिडाउनुको अर्थ पनि छैन । व्यवसाय सञ्चालनको आशा पलायो भने उनीहरू आफै कर्जा वा अन्य सहयोग उपयोग गर्न आफै अगाडि आउँछन् । त्यसैले पर्यटन उद्योग चल्ने वातावरण बनाइदिनुपर्छ । आन्तरिक पर्यटनका लागि तलबी बिदा दिने कार्यक्रम ल्याए पनि त्यो अगाडि बढेको छैन । भ्याक्सिन लगाएका विदेशीलाई ४८ घण्टे पीसीआर परीक्षणका आधारमा विनारोकतोक आउन दिए फरक नपर्ने देखिन्छ । पर्यटक ल्याउन पर्यटन बोर्ड, सरकार र व्यवसायी मिलेर रणनीति र कार्ययोजना बनाउन ढिला गर्नु हुँदैन ।

कोरोनाको कारण सुस्तायो हिमाली जिल्ला मनाङको पर्यटन व्यवसाय

जेठ २२, मनाङ । गण्डकी प्रदेशकै पर्यटन प्रवर्द्धनको मुख्य आधार मानिएको हिमाली जिल्ला मनाङको पर्यटन क्षेत्र कोरोनाका कारण सुस्ताएको छ । वसन्त ऋतुको आगमनसँगै पर्यटकीय गुल्जार हुने यहाँ कोरोना कहरले पुनः सुनसान बनेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले गत वर्षको फागुनदेखि धराशायी बनेको यहाँको पर्यटन क्षेत्र कोरोना कहर मत्थर हुँदै जाँदा बिस्तारै लयमा आउने क्रममा थियो । नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहरको महामारी शुरु भएसँगै गत वैशाख १० गतेदेखि पुनः यहाँको पर्यटन क्षेत्र सुस्ताएको हो ।  देशभरका मुख्य शहरमा कोरोना संक्रमित बढेसँगै वैशाखदेखि लकडाउन शुरु भयो । देशभर कोरोना महामारी बढेसँगै कोरोना रोकथाम तथा नियन्त्रण गर्ने भन्दै जिल्ला प्रशासन कार्यालयले विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्ग थोरङ्ला भञ्ज्याङ, तिलिचो ताल जस्ता महत्वपूर्ण गन्तव्य आन्तारिक तथा बाह्य पर्यटकका लागि बन्द गर्ने निर्णय गरियो । यस्तै समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिएपछि प्रशासनले वैशाख महीनादेखि यहाँका शहर गुमनाम छन् । वर्षेनि ६० हजार विदेशी पर्यटक र करीब तीन लाखको संख्यामा आन्तरिक पर्यटक भित्रिने जिल्लामा नयाँ भेरियन्टको कोरोना प्रभावले सुनसान भएको होटेल व्यवसायी संघका अध्यक्ष विनोद गुरुङले बताए । वर्षेनि हिउँदयामको जाडो मौसमपछि गुल्जार हुने मनाङ कोरोना कहरका कारण प्रतिकुल असर पुर्‍याएको उनले बताए । कोरोनाको पहिलो लहरपछि आशा जगाएको यस पर्यटन क्षेत्रमा दोस्रो लहरले पर्यटकीय क्षेत्रलाई ठूलो क्षति पुगेको उनको भनाइ छ । अन्नपूर्ण संरक्षण क्षेत्रको वार्षिक तथ्यांकअनुसार जिल्लामा बर्षेनि मार्चदेखि जुलाईसम्म प्रत्येक महीना सात हजारदेखि १४ हजारसम्म विदेशी पर्यटक आउने गर्थे । चैतदेखि हजारौँ आन्तरिक पर्यटक विश्वको सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल जानका लागि यहाँ आउने गर्छन् । यस वर्ष कोरोना कहरका कारण बन्द हुँदा पर्यटकीय गन्तव्य सुनसान छन् । कोरोनाको दोस्रो भेरियन्ट अघि देशका ठूला शहरदेखि मोटरसाइकल र चारपांग्रे सवारी साधान लमजुङ सदरमुकाम बेँसीशहरदेखि लाम लाग्ने गर्दथे ।  कोरोना महामारीको पहिलो लहरले थलिएको मनाङको पर्यटन व्यवसायमा केही आशा जगाए पनि कोरोनाको दोस्रो लहरले पुनः यहाँका पर्यटन व्यवसायीमा थप पीडा थपिदिएको चामे गाउँपालिकास्थित हिमालयन होटेल सञ्चालक सीता गुरुङ बताउँछन् । बर्खायामको वसन्त ऋतुसँगै अनुकूल खुल्ला मौसममा पनि कोरोना कहरले प्रताडित बनाएको यहाँको पर्यटनमा व्यवसायीसमेत कोरोना त्रासमा छन् । यहाँको प्रमुख पर्यटकीय गन्तव्य तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ, मनासलु क्षेत्र, चामेको तातोपानी कुण्ड, सिङ्गर ताल, गङ्गापूर्ण ताल, काङ्ला पासलगायत हिमाल आरोहणमा आउने बाह्य तथा आन्तरिक पर्यटक मनाङ भित्रिएका छैनन् ।  अहिले जिल्लामा झण्डै एक हजारभन्दा बढी होटेल तथा रेष्टुरेन्ट पूर्णरुपमा बन्द अवस्थामा छन् । कोरोनाले सिर्जना गरेको लकडाउनले यो जिल्ला सुनसान बनेको पर्यटन व्यवसायीको भनाइ छ । कोरोनाका कारण पहिलो पटक जिल्लामा ज्यान गएपछि यहाँका मानिस त्रसित बनेका छन् । रासस