भदौ २१, काठमाडौं । अर्थ मन्त्रालयले पछिल्लो पटक शेयर बजारमा देखिएको असरका सम्बन्धमा ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पूँजीबजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोनमा कुराकानी गरेको अर्थमन्त्रीको सचिवालयले बताएको छ ।
कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पूँजीबजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन गभर्नरलाई आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले विज्ञप्तिमार्फत बताएको छ । ‘उहाँले कहाँ के सुधार गर्नुपर्ने हो, त्यो गरेर पूँजीबजारको समस्या समाधान गर्न गभर्नरलाई भन्नु भएको छ’, सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
शेयर लगानीकर्ताहरुले गलत नीति बनाएको भन्दै गभर्नरको राजीनामा समेत मागेका छन् । आफ्नो सम्पत्ति धितोमा राखेर क्षमताअनुसार ऋण लिन पाउने सहज व्यवस्थालाई अप्ठेरो बनाउँदै शेयर धितो ऋणमा सीमा तोकिदिएको भन्दै लगानीकर्ताहरु रुष्ट बनेका छन् ।
राष्ट्र बैंकले एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँमात्रै शेयर धितोमा ऋण लिन सक्ने नियम बनाएको छ । यो नियमपछि साताको पहिलो कारोबार दिन आइतवार शेयर बजार घटेको थियो ।
यसैबीच पूँजीबजार संघर्ष समितिले सोमवार राष्ट्र बैंक परिसर बालुवाटारमा गएर मौद्रिक नीतिमा गरिएको व्यवस्थाको विरोध गरेको छ ।