काठमाडौं । सोमवार आर्थिक पत्रकार समाज नेपाल (सेजन)ले लघुवित्तमा देखिएका समस्या र समाधानका उपाय पहिल्याउन सरोकारवालाहरूसहित राउन्डटेबल छलफल आयोजना गरेको थियो । कार्यक्रममा राष्ट्र बैंक, लघुवित्त संघ र पीडित ऋणीहरू एकै ठाउँमा भेला भएका थिए ।
कार्यक्रममा सिराहाकी एक ऋणी पुनम कुमारी महतोले लघुवित्तले शुरुमा गाउँमा जाने लोभ लालच देखाउने, समूहमा राख्ने र ऋण पनि दिने तर, पछि भने सेवा शुल्क भन्दै लाखमा १०,२० हजर रुपैयाँसम्म काट्ने गरेको बताइन् ।
त्यही रकमले व्यापार गर्ने गरेको तर किस्ता तिर्न नसक्दा चर्को फाइन लिने गरेको उनले बताइन । फाइन बाट बच्न फेरि साहुबाट ऋण लिनुपर्ने बाध्यता रहेको र त्यस्तो ऋण लिँदा साहुले १ हजार रुपैयाँको दैनिक ब्याज नै १५० रुपैयाँ लिने गरेको उनले बताइन । 'हामि यसै ठिक थियौं, फाइनान्सको ऋण लिएर उद्यमी बन्न खोज्दा उल्टै साहुको समेत ऋणी बन्न परेको छ ।' उनले दुखेसो गरिन् । उनले किस्ता तिर्न नसक्दा लघुवित्तको कर्मचारीले महिलालाई अभद्र व्यबहार गर्ने गरेको पनि बताइन् ।
'बिचबाटोमै सारी खोलेर कुट्छ, ज्युमा थुक्छ, मर भन्छ । मेरो घरमा बस भन्छ । त्यस्तो पनि कर्मचारी हुन्छ ? के राखको हो ? हाम्रो ईज्जत छैन ?,' उनले आक्रोसित हुँदै भनिन्, 'हाकिम पिट्नुपर्ने भएको छ, कि उ मर्छ, कि म मर्छु, प्रतिकारमा उत्रिन्छौ ।'
अर्की पीडित श्याम कुमारी चौधरीले बाबा बिरामी हुँदा २० हजार रुपैयाँ ऋण लगेको तर लघुवित्तले १ लाख २० हजार रुपैयाँ मागेको बताइन् । 'नेशनल लघुवित्तसँग किस्ता तिरेकै छु । राति राति घरमै जान्छ । २ दिनको समय पनि दिँदैन,' उनले भनिन् ।
अर्की पीडित सुनिता विश्वकर्माले पनि त्यस्तै पीडा सुनाईन् । 'पाडा पाल्न ५० हजार रुपैयाँ ऋण लिएको तर जति तिर्दा पनि १ लाख रुपैयाँ बाँकी नै रहन्छ । सबै विक्री गरिसकें । ब्याजको स्याज र स्याजको पनि स्याज लिन्छ,' उनले भनिन्, '१ लाखको १२ हजार मासिक ब्याज लिन्छ, वार्षिक १३ किस्ता लिन्छन् । सेवा शुल्क र बीमा भन्दै १० हजर रुपैयाँ पहिल्यै काट्छन् ।’
त्यस्तै अर्की पीडित डिल्लीकुमारी कार्कीले मिटर ब्याजमा फसेर लघुवित्तमा आएको तर यता झनै फसेको बताइन् । मिटर ब्याजी र लघुवित्तले दिएको पीडाका कारण घर बिग्रेको र उनको ११ वर्षे छोरीले आत्महत्या गरेको पनि उनले सुनाइन् ।
अर्की पीडित सुनमाया तामाङले आँफूले लिएको ऋण तिर्दा पनि सुख नपाएको र साथीभाइकोसमेत ऋण तिराएको बताइन । समूहमा बसेको एकजनाको बदमासीले सबैलाई डुबाएको तथा लघुवित्तले झन पीडा थपेको उनले बताइन् ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले एक व्यक्तिले एक भन्दा बढी लघुवित्तबाट ऋण लिन नपाउने गरी निर्देशिका आउन लागेको बताएका थिए । उनले ऋण मिनाहा नहुने भन्दै समस्यालाई खेस्रा खेस्रा केलाएर अल्प, मध्य र दीर्घकालिन समाधान खोज्नुपर्ने बताएका थिए ।