काठमाडौं (अस) । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियामा उडान अनुमति पाएको छ । साउदी अरेबियाको नागरिक उड्डयन प्राधिकरणले निगमलाई आइतवार उडान अनुमति दिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘साउदी अरेबियाको रियादस्थित कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थितिमा निगमलाई उडान अनुमति प्राप्त भएको छ,’ निगम प्रवक्ता अर्चना खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यससँगै निगमले साउदी अरेबियाका रियाद, दमाम तथा जेद्दामा उडान गर्न सक्ने भएको छ ।