काठमाडौं (अस) । साउदी सिभिल एभियसनबाट उडान अनुमति पाउन नपाउँदा हिमालय एयरलाइन्सले ९ देखि १२ फेब्रुअरी २०२२ सम्म दमाम र रियादका उडान बन्द गरेको थियो । साउदी सिभिल एभियसनले उडान अनुमति दिएपछि उल्लिखित क्षेत्रका लागि नियमित उडान १३ फेब्रुअरी २०२२ देखि सुरु गरिएको कम्पनीले बताएको छ ।
९ र १० तारिखका दिन विमानस्थल पुगेका यात्रुको टिकटको पूर्ण रकम फिर्ता र आवास व्यवस्था आवश्यकताका आधारमा उपलब्ध गराउन सहजीकरण गरिएको कम्पनीको भनाइ छ । यसबाहेक १० फेब्रुअरी २०२२ पछि यी क्षेत्रका लागि अग्रिम टिकट बुक गरेका यात्रुले पूर्ण रकम फिर्ता र टिकट रिसेड्युलिङ गर्न आफ्ना सम्बन्धित ट्राभल एजेन्सी वा हिमालय एयरलाइन्सको बिक्री कार्यालयमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।
कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘यात्रुको समस्या समाधानका लागि निरन्तर काम गर्दै आएका थियौं । साउदी सिभिल एभियसनसँग समस्या समाधान गर्ने प्रयास गरिरहेका थियौं ।’ नेपाल–चीन संयुक्त उद्यमका रूपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्स अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो ।