अति आवश्यक ढुवानीमा निगमको सक्रियता

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले राज्य र नागरिकका लागि तत्काल आवश्यक सामग्रीको ढुवानीमा उच्च क्रियाशीलता देखाएको छ ।      कोभिड–१९ को अहिलेको महामारीमा विगतभन्दा यो वर्ष निगमले मेडिकल चार्टर्ड उडान तुलनात्मक रूपमा धेरै गरेको छ । अहिले दैनिक रूपमै निगमले विभिन्न मुलुकबाट अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल ल्याइरहेको छ । आवश्यक स्वास्थ्य पूर्वाधार अभावमा भविष्यमा महामारीको स्वरूपको पूर्वानुमानसमेत गर्न नसक्ने स्थिति छ । यही परिस्थितिको आकलन गर्दै नेपालका कोरोनाबाट प्रभावित नागरिकको संख्या एवं विद्यमान पूर्वाधारलाई दृष्टिगत गर्दै चीनले उपलब्ध गराएको खाली अक्सिजन सिलिन्डर, अक्सिजन कन्सर्नट्रेटरलगायत स्वास्थ्य सामग्री, भारत र चीनले उपलब्ध गराएका कोरोनाविरुद्धको खोपजस्त राज्यका लागि अति आवश्यक स्वास्थ्य सामग्रीको उपलब्धता आफैंमा प्रसंशनीय रहेको छ ।      निगमले चीनको बेइजिङबाट हाल पाँच उडान गरी जम्मा दुई हजार तीन सय ३५ खाली अक्सिजन सिलिन्डर, अक्सिजन कन्सर्नट्रेटरलगायत स्वास्थ्य सामग्री मे १९ तारिखसम्म काठमाडौं ल्याउँदै छ भने हालै ओमनबाट अक्सिजन सिलिन्डर तथा औषधीजन्य सामग्रीसहित एक नेपालीको समेत उद्धार गरी ल्याएको छ ।      निगमका निर्देशक एवं प्रवक्ता करिश्मा श्रेष्ठसँग आगामी चार्टर्ड उडानको सम्बन्धमा जिज्ञासा राख्दा उनले भनिन्, ‘निगमले पर्यटन मन्त्रालयको प्रत्यक्ष निर्देशन र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँगको सहकार्यसहित उडान भर्ने सम्बन्धित मुलुकको उडान अनुमतिमा काम गर्दै आएको छ । सोही क्रममा सिंगापुरबाट मे २२ मा स्वास्थ्य सामग्री ल्याउने तयारीमा जुटेको छ ।’ उनका अनुसार सिंगापुरस्थित टेमसेक फाउन्डेसनको सहयोगमा प्राप्त स्वास्थ्य सामग्री ल्याउन निगमले अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र तालुक पर्यटन मन्त्रालयको निर्देशनमा मे २२ मा निगमको जहाजबाट बिहान उडान गर्ने र सोही दिन साँझ काठमाडौं स्वास्थ्य सामग्री ल्याउने गृहकार्य गरिरहेको छ । निगमले भारतका नागरिकका लागि मात्र भारतीय दूतावासको सिफारिसका आधारमा मे १८ देखि २२ सम्म साउदी अरेबियामा सात वटा उडान गर्नेछ । भारतीय नागरिक अन्तर्राष्ट्रिय हवाई सेवाको प्रतिबन्ध लगाउनुअघि साउदी जान नेपालमा आएका थिए । कोभिड महामारी नियन्त्रणका लागि सरकारले वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध लगाए पनि ती भारतीय अलपत्र परेका थिए । नेपालमा अड्किएका भारतीयलाई गन्तव्यमा पु¥याउन क्यानले १० उडान अनुमति दिएको छ । यसमा निगमको सात र तीन उडान हिमालय एयरलाइन्सले गर्नेछ ।      सरकारले परराष्ट्र मन्त्रालयको निर्देशन एवं भारतीय दूतावासको समन्वयमा साउदी अरेबिया जाने अति आवश्यक भारतीय नागरिकको हकमा निगमद्वारा उपलब्ध गराएको टिकटको आधारमा पाँच वटा उडान साउदीको रियाद र दुई वटा दमामका लागि निर्धारण गरेको छ । उच्च सक्रियताकै कारण साउदीमा हुने १० उडानमध्ये सात उडानको जिम्मेवारी निगमले पाएको पर्यटन मन्त्रालय सम्बद्ध स्रोतले जनाएको छ ।      निगमका सह–प्रवक्ता सुलेख मिश्रले निगमले मुनाफासहितको सुरक्षित सेवा र दैवीप्रकोपको हकमा ऐनअनुसार सेवा प्रदान गर्दै आएको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलसहितका टिम सक्रिय रहेको पछिल्लो परिणाम विदेशी कूटनीतिक नियोगले समेत व्यावसायिक सम्मान दिएको प्रवक्ता श्रेष्ठको भनाइ छ । उनका अनुसार निगमले चीनको सेनजेनमा यही मे १९ मा मेडिकल चार्टर्ड उडान गरी सोही दिन फर्किने तयारीमा जुटेको छ । निगमसँग दुई न्यारो बडी र दुई वाइड बडी गरी जम्मा चार जहाज अन्तर्राष्ट्रिय उडानका लागि भए पनि व्यावसायिक र आवश्यकताको तुलनामा जहाजको संख्या कम रहेको छ । रासस

सम्बन्धित सामग्री

नेवानिको सक्रियता

नेपाल वायु सेवा निगमले मलेशिया उडानको थालनी गर्दै छ भने अस्ट्रेलियाको सिडनी उडानका लागि स्लट प्राप्त गरेको छ । यसले निगम उडान क्षेत्र विस्तारका लागि सक्रिय भएको देखाउँछ । यतिमात्र होइन उसले आन्तरिक उडानका लागि विमान थप्ने योजनासमेत अगाडि बढाएको छ जुन निकै सकारात्मक छ ।  निगमले बा≈य उडानका लागि वाइडबडी विमान खरीद गरेपछि यसले व्यवसाय गर्न नसक्दा निकै आलोचना खेपिरहेको छ । यसमा एकातिर निगमको रणनीति कमजोर देखिएको छ भने अर्कातिर कोरोनाको असर र सरकारी कमजोरी पनि कारण देखिएको छ । नेपालको उड्डयन क्षेत्र यूरोपेली संघको कालो सूचीमा परेकाले निगमले यूरोप उडान गर्न पाएको छैन । विगतमा यूरोप उडानबाट निगमले राम्रो आम्दानी गरेको थियो भने पर्यटन व्यवसायलाई पनि ठूलो सहयोग गरेको थियो । तर, अहिले विगतको दाँजोमा आन्तरिक र बा≈य उडान दुवैमा आफ्नो अंश निकै गुमाएको छ । कुनै बखत विमान नभएर समस्यामा परेको निगम अहिले व्यावसायिक योजनाका साथ काम गर्न नसक्दा समस्यामा परेको देखिन्छ । तर, निगममा बिस्तारै केही सुधार आउन थालेको देखिएको छ ।  अहिले निगमले अनलाइन टिकटको व्यवस्था गरेको छ भने वाइडबडी खरीद गर्दा लिएको ऋणको किस्ता पनि तिर्न थालेको छ । तैपनि निगमले अन्तरराष्ट्रिय उडानमा पर्याप्त व्यवसाय गर्न सकेको छैन । चिनियाँ वायुसेवा कम्पनीहरूले चीनबाट नेपालमा प्रशस्त उडान गरे पनि निगमले त्यहाँ आफ्नो सेवा दिन सकेको छैन । यदि चीनमा उडान शुरू गर्न सके प्रतिस्पर्धाका कारण भाडा घट्न गई चिनियाँ पर्यटकको आगमन निकै बढ्ने देखिन्छ । यसका लागि निगमको सामथ्र्यले मात्र हुँदैन, सरकारले पनि कूटनीतिक पहल गर्नुपर्छ । सिड्नीसँगै मेलबर्न पनि उडान गर्न सके निगमले राम्रै व्यवसाय पाउने देखिन्छ । यूरोपमा तत्काल वायु सेवा सञ्चालन गर्न नसके पनि अन्य मुलुकमा निगमले आँखा लगाउनु आवश्यक छ ।  राजनीतिक हस्तक्षेप र निगम व्यवस्थापनको अक्षमता तथा भ्रष्टाचारका कारण थलिएको निगमलाई माथि उकास्ने धेरै पक्षमा सुधार आवश्यक छ । यसका लागि निगमको नेतृत्व सही व्यक्तिलाई दिनुपर्छ । प्रतिस्पर्धाबाट नेतृत्व छान्ने र उसलाई पूरा अवधि काम गर्न दिने हो भने यसमा सुधार ल्याउन सकिन्छ ।

वायुसेवा निगममा सुधारको अपेक्षा

भारतको एयर इन्डियाले ५ सयओटा एयरबस किन्ने भएको छ । सरकारले एयर इन्डिया टाटा ग्रूपलाई बेचेपछि उसले उडान विस्तारका लागि यस्तो सम्झौता गरेको हो । भारतमा १ सयभन्दा बढी विमानस्थल थपिएपछि अहिले त्यहाँ विमान थप्न प्रतिस्पर्धा जस्तै चलेको छ । तर, नेपालमा भने विमानस्थल थपिए पनि नयाँ विमान थपेर उडान विस्तारको काम त्यति तीव्रताका साथ हुन सकेको छैन । यसो हुनुमा हवाइ दूरी छोटो हुनु र उच्च मध्यमवर्गको उदय निकै कम हुनु हो । नेपालको सरकारी नेपाल वायु सेवा निगमले आन्तरिक उडान र अन्तरराष्ट्रिय दुवै उडानमा खासै प्रगति गर्न सकेको छैन । यसो हुनुमा निगमको व्यवस्थापन कमजोर हुनु र राजनीतिक हस्तक्षेप बढी हुनुलाई कारण मानिन्छ । अहिले पर्यटनमन्त्री सुदन किरातीले निगमको कार्यशैली सुधार गर्न र उडानको विवरण दैनिक आफूलाई बुझाउन निर्देशन दिएकाले यसमा केही सुधार हुने अपेक्षा गरिएको छ । पर्यटन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमलाई १ महीनाभित्र अनलाइनमार्फत सहज रूपमा सर्वसाधारणले टिकट पाउने व्यवस्था गर्न निर्देशन दिएअनुरूप अहिले निगमको टिकट अनलाइनबाट खरीद गर्न सकिने भएको छ । सरकारी स्वामित्व रहेको र साधनस्रोतको हिसाबमा निजी कम्पनीभन्दा पछि नरहेको निगमले यतिका वर्षमा सहज अनलाइन टिकट खरीद गर्न सक्ने व्यवस्था किन गर्न सकेन ? रहस्यको विषय बनेको छ । तर, मन्त्री किरातीले निगमका प्रत्येक क्रियाकलाप, उडान बारे नियमित बिफ्रिङ लिन थालेपछि निगममा सुधार हुने अपेक्षा बढेको छ । एकातिर ग्राहकले टिकट किन्न नपाउने र अर्कातिर निगमका विमान रित्तै उड्ने गरेको गुनासो व्यापक रहेको छ । यो समस्याको समाधानका लागि नै अनलाइन टिकट विक्रीको व्यवस्था भएको हो । सर्वसाधारण प्रयोगकर्ताले निगमको टिकट काट्ने सेवाप्रति गुनासो त्यसको व्यावहारिक प्रयोग गर्दा भोग्नुपर्ने अन्योल र अप्ठ्यारोप्रति लक्षित देखिन्छ । हुन त मन्त्री किरातीले निर्देशन दिनुअघिदेखि नै अनलाइनको व्यवस्था भएको निगमका कर्मचारीको भनाइ छ तर विभिन्न कारणले यो अनलाइनबाट टिकट खरीद गर्न भने नमिलेको बताइन्छ । अहिले मन्त्री किरातीले कडा शब्दमा सार्वजनिक रूपमै निर्देशन दिएको हुँदा निगम सुध्रिन बाध्य हुने देखिन्छ । अन्तरराष्ट्रिय उडानमा पनि अनलाइन टिकटिङको व्यवस्था छ । त्यसलाई अझै सुधार्ने, स्पष्ट देखिने गरी सबैले देखिने बनाउन आवश्यक छ । तर, अनलाइन टिकटिङले नेवानिको हवाईजहाजबाट यात्रा गर्न टिकट काट्ने कुरामा तात्त्विक भिन्नता ल्याउला र निगमका सुधार ल्याउला त ? भन्ने पनि प्रश्न उठेको छ । विभिन्न आन्तरिक गन्तव्यमा सेवा दिन निगमसँग जम्मा दुईओटा ट्वीनअटर विमान उपलब्ध छन् । र, ती पनि सीमित गन्तव्यमा मात्रै चल्छन् । धेरैजसो दुर्गममा उडान भर्ने ती दुई ट्वीनअटर विमानको यात्रु क्षमता ११ देखि १२ जनासम्म रहेको बताइन्छ । निगमसँग रहेको अर्को एउटा ट्वीनअटर विमान चल्न नसक्ने अवस्थामा थन्किएको छ । यस्तोमा निगमले आन्तरिक उडानकै लागि पनि साना विमान किन्न आवश्यक भइसकेको छ । भैरहवा, पोखरा, विराटनगर र नेपालगञ्जका लागि मध्यम खालका विमान ल्याएर निगमले राम्रो सेवा दिन सक्छ र बजार पनि लिन सक्छ । यसले भाडामा प्रतिस्पर्धा ल्याएर यात्रुलाई लाभ दिन सक्छ । यसतर्फ सरकार र निगमको ध्यान जानु आवश्यक छ । दुईओटा ट्वीनअटर र दुईओटा एटीआरजस्ता ट्रङ्क रूटमा सञ्चालन गर्न सकिने विमान थप्नुपर्ने देखिन्छ । तर, उपयुक्त व्यावसायिक योजनाविना र बजारको अध्ययनविना जहाज खरीद गर्न दिइयो भने अहिले वाइडबडी जस्तो पूर्ण क्षमतामा व्यवसाय गर्न नसक्ने अवस्था पनि आउँछ । अहिले निगमसँग दुईओटा वाइड बडी र दुईओटा न्यारो बडी गरी चारओटा विमान छन् । यी विमानबाट भारतका तीन केही शहर, हङकङ, क्वालालम्पुर, बैंकक, दुबई, दोहा, रियाद र टोकियोमा उडानमा भइरहेको छ । निगमको व्यवस्थापन चुस्त भएमा उसले राम्रै मुनाफा आर्जन गर्न सक्ने देखिन्छ । तर, आन्तरिक उडानमा भने निजीक्षेत्र निकै अगाडि रहेको छ । आन्तरिक उडानका लागि उसलाई थप विमान जरुरी नै देखिन्छ । अहिले आन्तरिक यात्रुको संख्या निकै बढेको छ । तर, निगमसँग उडानका लागि पर्याप्त विमान नै छैनन् । निजी वायु सेवा कम्पनीको दाँजोमा निगममा कर्मचारीको संख्या बढिरहेको बताइन्छ । वायुसेवाका धेरैजसो काम अनलाइन हुने र टिकटिङका लागि एजेन्टहरू हुने भएकाले सकेसम्म कम कर्मचारी हुनु राम्रो हो । यसतर्फ पनि व्यवस्थापनको ध्यान जानु जरुरी छ । नेपालको पर्यटनलाई गति दिन वायु सेवा प्रभावकारी हुनुपर्छ । विदेशबाट यसले जति सस्तोमा पर्यटक ल्याउँछ त्यति नै धेरै पर्यटक नेपाल आउँछन् । विमान भाडा नै महँगो हुँदा धेरै पर्यटक चाहेर पनि नेपाल आउन सकेका छैनन् । कोरोनाबाट प्रभावित पर्यटनमा अहिले निकै सुधार भएको छ । पर्यटक आगमन संख्या उत्साहपूर्ण छ । तर, यसरी आउने पर्यटकबाट विदेशी वायु सेवाले पर्याप्त व्यवसाय पाएका छन् र यसबाट हुने आम्दानी विदेशिएको छ । यसको अंश नेपालको वायुसेवा कम्पनीले लिनुपर्छ । नेपालले धेरै देशसँग हवाई सम्झौता गरेको छ । सम्झौता भएका मुलुकमा निगमको सेवा पुर्‍याउन सकिन्छ । अहिले यूरोपमा निगमको सेवा पुर्‍याउन सक्ने हो भने गुणस्तरीय पर्यटनका लागि निकै ठूलो सहयोग पुग्छ । विगतमा जर्मनी, बेलायत आदि मुलुकमा निगमको सेवा उपलब्ध थियो । ती देशबाट आउने पर्यटकको अंश ठूलो थियो । तर, अहिले त्यो अंश थोरै छ । निगमको सुधारका लागि अहिले चालिएका कदम सकारात्मक देखिएका छन् । तर, पर्याप्त विमान र उचित व्यवस्थापन नहुने हो भने त्यसले त्यति प्रतिफल दिन सक्दैन । पर्यटनमन्त्रीले निगम सुधारमा बढी सक्रियता देखाएकाले यसले केही न केही परिणाम पक्कै देला भन्न सकिन्छ  । लेखक पर्यटन व्यवसायी हुन् ।