भदौ ६, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य प्रतिकित्ता रू. ३ हजार ९०६ दशमलव १० पुगेको छ ।
कम्पनीको धितोपत्र दोस्रो बजारमा शेयर सूचीकृत भई हालसम्म १६ दिन कारोबार भएको छ । साउन १३ गते दोस्रो बजारमा शेयर सूचीकृत भएको कम्पनीको साउन १४ गतेदेखि शेयर कारोबार शुरु भएको हो ।
कम्पनीले संस्थापक तर्फको ४१ लाख ६ हजार ७०० कित्ता र सवर््साधारण तर्फको १९ लाख ७७ हजार ३०० कित्तासमेत गरी कुल ६० लाख ८४ हजार कित्ता शेयर दोस्रो बजारमा सूचीकृत गराएको छ ।
जेबीएलबी स्टक संकेतबाट कारोबार भइरहेको उक्त कम्पनीको पहिलो शेयर कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रतिकित्ता रू. ३०५ दशमलव २७ देखि रू. ९१५ दशमलव ८१ सम्मको मूल्य रेञ्ज तोकेको थियो ।
पहिलो कारोबार दिन प्रतिकित्ता रू. ९१४ मा खुला भएको कम्पनीको शेयरमूल्य अधिकतम न्यूनतम रू. ८९० देखि रू. ९८९ दशमलव १० सम्म पुगेर अन्तिम मूल्य रू. ९८९ दशमलव १० कायम भएको थियो । पहिलो दिन १० पटकको व्यापारमा कम्पनीको १०० कित्ता शेयर कारोबार भएको थियो ।
प्रतिकित्ता रू. १०० मा आईपीओ खरीद गरेका लगानीकर्ताहरुलाई १६ दिनको कारोबार अवधिसम्म प्रतिकित्ता रू. ३ हजार ८०६ रूपैयाँ नाफा भइसकेको छ । कम्पनीको शेयर खरीद चाप उच्च हुँदा मूल्यमा सकारात्मक असर परेको हो ।
कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी असार २३ गते बाँडफाँट गरेको थियो ।