बागलुङ । बागलुङको जैमिनी नगरपालिका–७ जैदीको चौरगाउँमा सडक पुर्याउन चालू आर्थिक वर्षमा चार लाख विनियोजन गरिएको छ । उक्त सडक निर्माण हुँदा केही परिवारको घरसम्मै गाडी पुग्छ । मेसिन लगाउँदा कच्ची सडक निर्माणका लागि बजेट पर्याप्त हुन्छ । तर यो सडकले पुरिने सिँचाइ कुलोबारे भने कसैले सोचेको छैन ।
सडक निर्माण गर्दा चौरमा रहेको खेतमा पुर्याएको सिँचाइ कुलो भत्किन्छ । दुई सय वर्ष पुरानो यो कुलो केही वर्षअघि १५ लाखभन्दा बढी खर्चेर पक्की बनाइएको थियो । चार लाख खर्चेर सडक बनाउँदा १५ लाखमा बनेको संरचना भत्किने विषयमा सम्बद्ध निकायले चासो दिएको छैन ।
‘चार सय मुरी धान फल्ने खेत भन्ने चलन थियो, यहाँ सिँचाइ पहिलेदेखि नै रहेकाले धानको उत्पादन पर्याप्त हुन्छ,’ जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले भने, ‘एउटा संरचना बनाउँदा अर्काे बनेको संरचना बिग्रिने घटना धेरै छन् ।’ पौडेल चौरगाउँका स्थानीयवासी समेत हुन् । यो समस्या जिल्लाका अधिकांश विकासे काममा देखिन्छ । सबैभन्दा बढी सडक बनाउँदा सिँचाइ र खानेपानीका संरचनामा क्षति हुने गरेको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरको गिठेदेखि पात्लेखेत जाने सडक बनाउँदा बिग्रिएका जैमिनी नगरपालिका–१ कुश्मीशेराका चार खानेपानी आयोजना डेढ वर्ष हुँदासमेत पुनर्निर्माण हुन सकेका छैनन् । करोडौं रुपैयाँ खर्चेर बनाइएका खानेपानीका योजना ७५ लाखमा निर्माण भएको कच्ची सडकले तहसनहस बनाएको हो ।
जैमिनीको मुकाम कुश्मीशेरा बजारदेखि कालीगण्डकी कोरिडोर पुग्ने सडकको स्तरोन्नति गर्दा कुश्मीशेरा बजारको खानेपानीमा क्षति पुगेको छ । सैनिक टोल र नगरपालिकाको कार्यालय समेत रहेको क्षेत्रमा विस्तार गरिएको पानी सडक बनाउँदा क्षति पुगेपछि खानेपानीको अभाव छ । ‘एउटा काम गर्दा अर्काे काम बिगार्ने परिपाटी अन्त्य हुनुपर्छ, सडक बनाउँदा अरू बिग्रिने केही छ/छैन भनेर हेर्नुपर्छ,’ कुश्मीशेरा बजार व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका सैनिक टोलका पदमबहादुर श्रीशले भने, ‘बाटोले खानेपानीको योजना बिगार्छ, दुःख हामीलाई हुन्छ ।’
कुश्मीशेरा बजारदेखि कान्ले हुँदै दमेक पुग्ने सडक प्रदेश सरकारले स्तरोन्नति गरेको हो । त्यहाँ पनि खानेपानीको योजना भत्किएपछि उपभोक्ता समितिका अध्यक्ष नै खानेपानीको पाइप माग्न नगरपालिकामा पुगे । ‘योजनाबाटै मर्मत गर्न स्रोत छैन, इस्टिमेटभन्दा बाहिर काम गर्न मिल्दैन,’ उपभोक्ता समितिका अध्यक्ष छायाँदत्त चापागाईंले भने, ‘पाइप मागेर मर्मत गर्न उपभोक्ता नै कस्सिए, नभए पानी खान पाइँदैन ।’ पहिल्यै बनाइएका संरचना नयाँ बनाउँदा क्षति पुगे पछिल्लो योजनाबाट मर्मत गर्नुपर्छ । तर उपभोक्ता समितिमार्फत हुने अधिकांश काममा क्षति पुग्ने संरचनाको इस्टिमेट नहुने र इस्टिमेट अनुसारका काम मात्रै गर्दा मर्मतका लागि खर्चको अभाव हुने गरेको गुनासो आउने गर्छ । रासस